गृहले अर्थ मन्त्रालयमा पठायो सशस्त्र प्रहरीसम्बन्धी विधेयक

सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर राय–परामर्शका लागि शुक्रबार अर्थमा पठाएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालले बताए। 

काठमाडौँ– गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अर्थ मन्त्रालय पठाएको छ। 

सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर राय–परामर्शका लागि शुक्रबार अर्थमा पठाएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालले बताए। 

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा सोमबार विधेयकको मस्यौदामाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले भदौ २१ गते नै अर्थमा पठाउने बताएका थिए। अर्थबाट राय–परामर्श आइसकेपछि विधेयकलाई गृहले कानून मन्त्रालय पठाउने छ। 

कानूनबाट विधेयक गृहमा आएपछि मन्त्रिपरिषद्‌मा पठाइने सहसचिव रिजालले बताए। “मन्त्रिपरिषद्‌मा पठाइसकेपछि हामी लोकसेवा आयोगको परामर्श लिन्छौँ। त्यसपछि विधेयक संसद्‌मा जान्छ,” उनले भने। नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी बल नेपालको ऐन र निर्वाचन ऐन १०० दिनभित्र संसद् पुर्‍याउने गृहमन्त्री लेखकको लक्ष्य अनुसार नै काम भइरहेको सहसचिव रिजालले बताए। 

विधेयकमा सशस्त्र प्रहरी बल नेपालले गर्ने काम सीमा सुरक्षा नै हो भनेर विशिष्टिकृत गरिएको छ। सीमामा हुने अपराध नियन्त्रण, सीमाको सुरक्षा, विपद्‍मा उद्धार, दंगा नियन्त्रण, सशस्त्र विद्रोह र आतंकवादी गतिविधिविरुद्ध काम गर्ने कुराको विशिष्टिकृत भएको उनको भनाइ छ। 

सहसचिव रिजालका अनुसार बिल्लादार जवान, आधारभूत तहका प्रहरीलाई १६ वर्ष र जुनियर अधिकृतलाई १८ वर्षको पेन्सन अवधि कायम गर्ने, विभिन्न दर्जाको पूर्वानुमान योग्य, बढुवा र सरुवाको व्यवस्था ऐनमा नै गर्न लागिएको छ।