राजविराजको मुख्य सडकमा खाल्डैखुल्डा

मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारीचालकले गुनासो गरेका छन्। 

सप्तरी– राजविराजस्थित रूपनी मोडनजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ।

मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारीचालकले गुनासो गरेका छन्। 

माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताए।

रूपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभई अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ। 

“उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर  मर्मतका लागि नगरपालिका र सडक विभागले चासो दिएको छैन,” यादवले भने। 

यही बाटो भएर राजविराज काठमाडौँलगायत स्थानमा लामो तथा छोटो दूरीका बस सञ्चालन हुन्छन्।

बस व्यवसायी विजय दास सडकको दूरावस्थाका कारण दैनिक साना–ठूला दुर्घटना हुने गरेका बताउँछन्।

उक्त खण्ड तत्काल मर्मत तथा पुनर्निर्माण गरी आवागमन सहज बनाउन उनको आग्रह छ। 

राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत प्रविनले जीर्ण सडक मर्मतका लागि सहजीकरण गर्ने बताए।