पहिरोले पासाङल्हामु राजमार्गको मूलखर्कखण्ड अवरुद्ध

शुक्रबार रातिको वर्षाका कारण पहिरोसँगै खसेको ढुंगा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन्।

फाइल तस्वीर।

रसुवा– पासाङल्हामु मार्गअन्तर्गत रसुवाको ग्राङ र ठाडेबीच मूलखर्कमा सडक अवरुद्ध हुँदा यात्रुवाहक बससहित सबै सवारीसाधन रोकिएका छन्।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार शुक्रबार रातिको वर्षाका कारण पहिरोसँगै खसेको ढुंगा सडक सतहमा अडिएकाले पूर्ण रूपमा सवारीसाधन रोकिएका हुन्।

ढुंगा अत्यन्तै ठूलो भएकाले फुटालेर मार्ग खुलाउन ब्रेकर मेसिनको खोजी भइरहेकाले तत्काल सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रजिअ खनालले जानकारी दिए। अत्यधिक वर्षपछि आएको पहिरोसँगैको ढुंगाले सडक अवरुद्ध बनेको उनले बताए। 

ढुंगा फुटाइ सडक सञ्चालन गराउने प्रयास भइरहेको प्रजिअ खनालले बताए। सडक अवरुद्ध भएकाले दर्जनौँ सवारीसाधन र यात्री मूलखर्कमा रोकिएका छन्।