परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातको मकैखेती गर्न थालेका छन्।
मोरङ– कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष एक लाख ६२ हजार ७५३.९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ। प्रदेशमा गत वर्ष नौ लाख ७२ हजार ७३ मेट्रिकटन मकै उत्पादन भएकामा यस वर्ष ११ लाख ३४ हजार ८२६.९५ मेट्रिकटन उत्पादन भएको हो।
गत आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको दुई लाख ८४ हजार ३४० हेक्टरमा मकैखेती गरिएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ७५ हजार ९५१ हेक्टरमा मकैखेती गरिएको निर्देशनालयले जनाएको छ। क्षेत्रफल घट्दा पनि उत्पादनमा भने वृद्धि भएको देखिन्छ। अघिल्लो आर्थिक वर्षमा प्रतिहेक्टर ३.४२ मेट्रिकटन मकै उत्पादन भएकोमा पछिल्लो वर्ष प्रतिहेक्टर ४.११ मेट्रिकटन मकै उत्पादन भएको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए।
उनका अनुसार प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा कम खोटाङमा प्रतिहेक्टर १.८३ मेट्रिकटन र सबैभन्दा धेरै झापामा प्रतिहेक्टर ७.८७ मेट्रिकटन मकै उत्पादन भएको छ।
मकैको उत्पादन बढेसँगै किसान खुशी छन्। मोरङ बेलबारी १० भाउन्नेकी हीरा अधिकारीले केराखेती मासेर व्यावसायिक मकैखेती गर्दै आएको बताए। उनले मौसममा डेढ बिघा जमिनमा मकैखेती गरे तापनि बेमौसममा आठदेखि १० कट्टा जमिनमा ६ वर्षदेखि मकैखेती गर्दै आएका छन्। “गत वर्ष सात कट्टा जमिनमा लगाएको मकै ९० हजारमा बिक्री भयो,” उनले भने।
किसान अधिकारी जस्तै बेलबारी–८ राधानगरका महेन्द्र तामाङले १४ कट्टा जमिनमा मकै लगाउने गरेका छन्। किसानको घरदैलोमै आएर व्यापारीले आकर्षक मूल्यमा मकै खरिद गर्न थालेपछि उनी खुशी छन्। खाद्यान्न बालीका रूपमा लिइने मकै बाली पछिल्लो समय तराईका जिल्लामा बाह्रै महिना उत्पादन गर्न थालेसँगै नगदे बालीका रूपमा परिणत हुँदै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन्।
सुकेको मकैभन्दा हरियो मकै बेच्न सक्दा राम्रो आम्दानी हुने गरेको उनी बताउँछन्। मकैको माग अत्यधिक रहेको र यसलाई फिड बनाएर बेच्न सक्दा अझ राम्रो आम्दानी हुने प्रमुख डाँगी बताउँछन्। परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि तराईक्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रूपमा हाइब्रिड जातका मकैखेती गर्न थालेका छन्।
तराईमा विशेष गरी हाइब्रिडअन्तर्गत पर्ने पाइजियर एक्स टी, रामपुर र पहाडमा विशेष गरी उन्नत जातमा रामपुर कम्पोजिट, मनकामना, गणेश साथै स्थानीय जातका मकै रोप्ने चलन रहेको निर्देशनालयका योजना शाखा अधिकृत काजीमान प्रधानले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
