भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले छाडे देश

जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो। त्यसपछि उनी लुकेर बसेका थिए।

तस्वीर: रोयटर्स

भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छाडेका छन्। हालै भएको राष्ट्रपति चुनावमा उम्मेदवारसमेत रहेका उनले स्पेनमा राजनीतिक शरण मागेको भेनेजुएला सरकारले बताएको छ।

जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो। त्यसपछि उनी लुकेर बसेका थिए। सुनुवाइका लागि अदालतमा उपस्थित हुन तीन पटकसम्म पत्राचार गरिए पनि भएका थिएनन्। 

जुलाई २८ मा भएको निर्वाचनमा मादुरो विजयी भएको घोषणापछि भेनेजुएला राजनीतिक संकटमा परेको छ। संयुक्त राज्य अमेरिका, युरोपेली संघ र धेरै ल्याटिन अमेरिकी देश र संघसंस्थाले मादुरोलाई विजेताको रूपमा मान्यता दिन अस्वीकार गरेका छन्।

चुनावपछि गोन्जालेज राष्ट्रपतिको विजेता भएको भन्दै विपक्षी दलले दाबी गरेको थिए। त्यसपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।