माओरी आदिवासीको आधुनिक सोच, २७ वर्षीया नगा वाई बनिन् रानी

न्युजिल्यान्डको उत्तरी टापुमा माओरी मूलनिवासी समुदायले आफ्नो परम्पराविपरीत राजाको सट्टा रानी चुनेका हुन्।

तस्वीर: एएफपी

न्युजिल्यान्डको माओरी समुदायले यस पटक २७ वर्षीया ‘नगा वाई होनो’लाई रानी चुनेका छन्। उनलाई भव्य समारोहबीच गत बिहीबार ताज पहिराइएको हो। गत अगस्ट ३० मा उनका बुवा अर्थात् राजा किइंगी तुहेतियाको मुटुको शल्यक्रियाका क्रममा निधन भएको थियो।

न्युजिल्यान्डको उत्तरी टापुमा माओरी मूलनिवासीले आफ्नो परम्परा विपरीत राजाको सट्टा रानी चुनेका हुन्। यस समुदायले नयाँ सोच भएकी रानीको जरुरत भएको, उनलाई एआई र जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण विषयमा उपयुक्त मार्गदर्शन गर्नसक्ने विश्वास गरेका छन्।

राजा तुहेतियाकी कान्छी तथा एक्लो छोरी नगालाई यस समुदायले उनको उत्तराधिकारी चुनेको हो। हुन त नगाका दुई जना दाइहरू पनि छन्, जसले समुदायको अन्य जिम्मेवारी सम्हाल्छन्। यस पटक त्यहाँका जनतालाई उज्ज्वल भविष्यतर्फ लैजान सक्ने नेतृत्वको आवश्यक थियो। त्यसैले पढेलेखेकी नगा वाईलाई नै रानी चुनिएको हो।

माओरीका सांस्कृतिक सल्लाहकार कराइताना ताइरुले भने, "हामीलाई एआई, आनुवंशिक परिमार्जन, जलवायु परिवर्तनका साथै अन्य धेरै सामाजिक परिवर्तनको समयमा मार्गदर्शन गर्न युवा नेतृत्वको आवश्यकता छ।"

नयाँ रानी नगाले वाइकाटो विश्वविद्यालयमा माओरी भाषा तथा कानूनको पढाइ गरेकी छन्। उनले बालबालिकालाई कापा हाका प्रदर्शन कला पनि सिकाएकी छन्। सन् २०१६ मा राजाको राज्याभिषेक वार्षिकोत्सवमा उनले आफ्नो चिउँडोमा मोको ट्याटु बनाएकी थिइन्। यसलाई माओरो परम्परामा महत्त्वपूर्ण मानिन्छ।

न्युजिल्यान्डमा यस समुदायको जम्मा जनसंख्या त्यहाँको जनसंख्याको १७ प्रतिशत रहेको छ। जसको अनुमानित जनसंख्या ९ लाख छ। केही विशेष योजनाबाहेक यो समुदाय सरकारी योजनाबाट वञ्चित रहेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार अन्य न्युजिल्यान्डवासीको तुलनामा माओरी समुदायमा बेरोजगारी तथा गरिबी धेरै छ। उनीहरूमा हृदयाघात तथा मधुमेहजस्ता रोगको जोखिम पनि धेरै छ। साथै, बाँकी जनसंख्याको तुलनामा माओरी समुदायका मानिसको औषत उमेर सात वर्ष कम छ।

राजाको निधनमा हजारौँको संख्यामा माओरी समुदायका मानिसहरू उपस्थित थिए, त्यहीबेला नयाँ रानी चुनेको खुशियाली पनि मनाए। राजाको शवको छेवैमा नयाँ चुनिएकी रानी पातहरूको माला, लबेदा र ह्वेलको हड्डीबाट निर्मित माला लगाएर बसेकी थिइन्।

न्युजिल्यान्डमा राजा तथा रानीको कुनै कानूनी दर्जा भने छैन। तर त्यहाँको पहिचान तथा राजनीतिमा माओरीको प्रभाव महत्त्वपूर्ण मानिन्छ। 

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले एक बयानमा रानी नगा वाईलाई स्वागत गर्दै 'आफ्नो बुवाको नेतृत्वलाई अझै धेरै अगाडि लिएर जाने' विश्वास व्यक्त गरे।

यो राजतन्त्र किंगितांगा आन्दोलनपछि चलनमा आएको हो, जसको आठौँ पिँढी हुन् नगा वाई। किंगितांगालाई माओरी राजा आन्दोलन पनि भनिन्छ। सन् १८५८ मा ताइनुई र अन्य नेताहरूद्वारा स्थापित राजतन्त्र हो। यसको उद्देश्य बेलायती आप्रवासीहरूलाई आफ्नो क्षेत्रको अतिक्रमणविरुद्ध माओरी जनजातिहरूलाई एकजुट गर्नु थियो।

यस राजतन्त्रलाई न्युजिल्यान्डको सरकारद्वारा कुनै कानूनी मान्यता त दिइएको छैन। तर अन्य धेरै जनजातिहरूले पनि माओरी राजालाई सर्वोच्च प्रमुख मान्छन्।