अफगानिस्तानमा १ लाखभन्दा धेरै लागुऔषध प्रयोगकर्ता अस्पताल भर्ना

अफगानिस्तान काउन्टर नार्कोटिक प्रहरीले तीन वर्षमा देशभर १ हजार ४५० लागुऔषध प्रयोगशाला तथा ३७ हजार अफिम फार्म नष्ट गरेको छ।

अफगानिस्तानको काबुलमा लागुऔषध पुर्स्थापना केन्द्र सञ्चालनमा छन्। तस्वीर: एएफपी

अफगानिस्तानमा एक लाखभन्दा धेरै मानिस लागु‌औषध प्रयोगका कारण अस्पताल भर्ना भएका छन्। त्यहाँको काउन्टर नार्कोटिक्स विभागका उपप्रमुख मुल्लाह अब्दुल हक हमकरका अनुसार १ लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा भर्ना भएका छन्।

काउन्टर-नार्कोटिक प्रहरीले गत तीन वर्षमा ७८ हजार अपरेसनहरू सञ्चालन गरेको र त्यसमा २० हजार लागुऔषध प्रयोगकर्ता पक्राउ परेका हमकरले बताए। अधिकारीका अनुसार अफगानिस्तान काउन्टर नार्कोटिक प्रहरीले यस अवधिमा देशभर १ हजार ४५० लागुऔषध प्रयोगशाला तथा अफिम खेती गरिएका ३७ हजार फार्म नष्ट गरेको छ।

अफगानिस्तानको कार्यवाहक सरकारले लागुऔषधको खतरा हटाउन अफिम खेती, लागुपदार्थको प्रशोधन र लागुऔषध ओसारपसारमा प्रतिबन्ध लगाएको छ।