वर्षौंअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो।
बागलुङ– ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो समय किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन्। विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो।
सडकको बायाँपट्टि ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरिथरि जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ। वर्षौंअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो।
ढोरपाटन नगरपालिका–९ का होमलाल भुसालसहितको समूहले थालेको व्यावसायिक स्याउखेती अहिले यहाँका अन्य किसानको अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको छ। मस गाउँसहित ढोरपाटनको नवी, भूजी, स्यालपाखे, काङ, निसेलढोरको कुँडेलगायत ठाउँमा करिब डेढ दशकदेखि स्याउखेती थालिएकामा अहिले किसानहरू उत्पादनमा केन्द्रित हुन थालेका हुन्।
अहिले गाउँका अन्य किसानले पनि नयाँ प्रविधिको प्रयोग गरी स्याउखेती गर्न थालेका छन्। पछिल्लो समय रैथाने खेती गर्ने किसानले पनि व्यावसायिक खेतीप्रति चासो दिन थालेका हुन्।
ढोरपाटन–९ का होमलाल भुसालसहित चिरन घर्ती, कमानसिंह बुढा, झिरमती घर्ती, रुद्र घर्ती र चकेन्द्र घर्तीले शुरू गरेको स्याउखेतीलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि लगानी गरेको छ। उनीहरूले एक वर्षअघि एक हजार ३०० बिरुवा इटालीबाट ल्याएर लगाएका थिए। कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदानमा बिरुवा पाउने भएपछि दुई वर्ष अघिदेखि स्याउखेती गर्न जग्गा भाँडामा लिएर समाउने काम गरेको होमलालले बताए।
उनले बिरुवा लगाएको एक वर्षमा करिब एक लाख ५० हजार रुपैयाँको स्याउ उत्पादन भएको भन्दै अब केही दिनमा टिपेर बजार पठाउने जानकारी दिए। “पोहोर असारमा लगाएको बिरुवाले अहिले फल दिएपछि हामी धेरै खुशी भएका छौँ, हामीले थालेको स्याउखेतीमा ज्ञान केन्द्रले पनि सहयोग गरेकाले सहज भएको छ। इटालीबाट बिरुवा आएको हो, यस वर्ष यति परिणाममा फल्ला भन्ने लागेको थिएन, अर्को साल धेरै फल्ने अपेक्षा गरेका छौँ,” भुसालले भने।
किसान चिरनकुमार घर्तीले गाउँमा खाली रहेको जग्गालाई सदुपयोग गरी व्यावसायिक स्याउखेती थालेको बताए। हालसम्म व्यक्तिगत रूपमा २० लाख रुपैयाँ र कृषि ज्ञान केन्द्रको अनुदानसहित २७ लाख रुपैयाँ लगानी भएको उनले जानकारी दिए।
एक हजार तीन सय बिरुवा लगाएकामा करिब एक हजारले फल दिएको भन्दै अझै १० हजार बिरुवा लगाउने योजना रहेको घर्तीले जानकारी दिए। सामूहिक रूपमा करिब एक सय रोपनी जग्गा भाँडामा लिएर उत्तरगंगा अर्ग्यानिक एग्रो प्रालि दर्ता गरेर खेती सुरु गरेको उनले उल्लेख गरे।
“रोजगारीका लागि विदेश जाँदा पनि दुःख गर्नुपर्छ, स्वदेशमा स्वरोजगारका अवसर सिर्जना गरी मेहनत गर्दा प्रशस्त आम्दानी गर्न सकिन्छ। अहिले एक सय रोपनीमा १० हजार स्याउ फलाउने गरी काम गरिरहेका छौँ,” उनले भने, “६ जनाको समूहबाट काम थालेका छौँ, अब प्राविधिक ज्ञान सिक्न बाँकी छ।”
कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मस गाउँमा इटालियन स्याउ उत्पादन हुने राम्रो हावापानी भएकाले किसानलाई प्रोत्साहन गरी व्यावसायिक बनाउन थालिएको बताए। कृषि निर्देशनालयले इटालीबाट ल्याएको गोल्डेन, गाला, फुजी र रेड जातको स्याउका बिरुवा सहयोग गरेको भन्दै केन्द्रले स्याउलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, मल, सिँचाइलगायतमा सहयोग गरेको उनले जानकारी दिए।
केन्द्रले यहाँ चाहिने आवश्यक प्राविधिक सहयोगसमेत निरन्तर गर्दै जाने प्रमुख सिलवालले बताए। परीक्षणका लागि लगाइएको स्याउ राम्रो फलेपछि थप बिरुवा सहयोग गर्दै जाने उनले उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
