तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एक सय एक दिनका लागि ठेक्काको म्याद थप भएको इन्जिनियर पौडेलले बताए।
गण्डकी– पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ।
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। उक्त खण्डमा २०७८ भदौदेखि काम शुरू भएको थियो।
तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एक सय एक दिनका लागि ठेक्काको म्याद थप भएको इन्जिनियर पौडेलले बताए। चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनलले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो।
“पूर्वी खण्डभन्दा ६ महिनापछि पश्चिम खण्डको काम सुरु भएको हो,” उनले भने, “पश्चिमतर्फ बढी शहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा सडक विस्तारमा ढिलाइ भएको हो।”
इन्जिनियर पौडेलका अनुसार पश्चिम खण्डको ३८.८८ किमी दूरीमध्ये हालसम्म २१ किलोमिटर दुई लेन सडक कालोपत्र भइसकेको छ। त्यसमध्ये चार किमीमा चार लेन सडक कालोपत्र गरिएको छ।
सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम पनि भइरहेको इन्जिनियर पौडेलले बताए।
साना–ठूला गरी पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ। सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि करिब सकिएको उनले बताए।
“बाँकी रहेका घरटहराको पनि मुआब्जा प्राप्तिका लागि प्रक्रिया अगाडि बढिसकेको छ, मुआब्जा नपाएका कारण काममा अवरोध हुने अवस्था छैन,” इन्जिनियर पौडेलले भने, “अझै केही ठाउँमा विद्युत् पोल र खानेपानीका पूर्वाधार हटाउन बाँकी छ।”
वर्षायाम सकिन लागेकाले अब कामले गति लिने आयोजना कार्यालयले जनाएको छ।
निर्माण कम्पनीले यो वर्षभित्र आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ। पश्चिमतर्फ तनहुँको थर्पु र तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ।
पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर पौडेलले जानकारी दिए। पश्चिम खण्डमा १२ वटा पक्की पुल र सयको हाराहारीमा कल्भर्ट बनिरहेका छन्।
सोही खण्डअन्तर्गत पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल अहिले निर्माणाधीन अवस्थामा छ। ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ। भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा आकर्षक पुल बन्न लागेको हो।
कुल ८१ किमी दूरीको पोखरा–मुग्लिन सडक एशियाली विकास बैंकको अनुदान सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ।
आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन) मा हालसम्म भौतिक प्रगति ६६ प्रतिशत पुगेको पूर्वी खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
उक्त खण्डमा पर्ने १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ। मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए।
कोभिड महामारीलगायत कारणले शुरूको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय पूर्वी खण्डको कामले गति लिएको उनको भनाइ छ।
कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम धमाधम भइरहेको इन्जिनियर पाण्डेले बताए। ४१.४५ किमीको पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम शुरू गरेको थियो।
पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ। निर्माण कम्पनीले रु छ अर्ब २१ करोड ३१ लाखमा उक्त खण्डको ठेक्का लिएको हो।
निर्माणमा ढिलाइ हुँदा प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारणले सास्ती खेप्न बाध्य छन्। घाम लाग्दा सडक धुलाम्मे र वर्षात्मा हिलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाइ निम्तने गरेको छ।
सडक निर्माण सुस्त भएपछि पोखराका पर्यटन व्यवसायीलगायतले पटक–पटक सरकार र सम्बन्धित निकायमा काम छिटो सक्न दबाब दिँदै आएका छन्। पोखरा–मुग्लिन सडक स्तरीय नहुँदा पोखरा र आसपासको पर्यटन क्षेत्र मारमा परेको पोखराका पर्यटन व्यवसायीको गुनासो छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
