पहिरोले काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध

पहिरो खस्दा काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। 

नौबिसे–नागढुंगा सडकखण्डको सुरुङमार्गमा खसेको लेदोसहितको पहिरोमा फसेको स्कार्पियो। तस्वीर : शंकर श्रेष्ठ/रासस

काठमाडौँ– पहिरो खस्दा त्रिभुवन राजपथअन्तर्गत काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। 

सोमबार दिउँसो काठमाडौँ–मुग्लिङ सडकखण्डअन्तर्गत सुरुङ मार्ग आसपासमा लेदोसहितको पहिरो खसेको हो।

पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

“पहिरो आउँदा सडक दुईतर्फी अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम भएकाले बाटो सुचारु गर्न केही घण्टा लाग्न सक्छ,” उनले भने।

सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ।