कांग्रेसको केन्द्रीय कार्यालयमा शेखर पक्षीय नेताहरूको धर्ना

कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय नेताहरूले समानुपातिक बन्दसूचीमा रहेका नाम सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने माग राख्दै धर्ना दिएका छन्।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षीय समूहले ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।



पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति भन्दै कोइराला पक्षधर नेता-कार्यकर्ताले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन्। धर्नामा सहभागी नेताहरूले आसन्न प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि समानुपातिकको बन्दसूचीमा संस्थापन पक्षले एकलौटी गरेकाले धर्नामार्फत खबरदारी गर्नुपरेको बताएका छन्। 



कांग्रेसका नेता जगदीश नरसिंह केसीले पार्टीभित्र सबैलाई न्याय र समान अवसर हुनुपर्ने आफूहरूको मनशाय रहेको बताए। उनले शेखर कोइराला पक्षका नेताहरूको नाम समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित नहुनेगरी बन्दसूचीमा राखिएको बताए।



उनले समानुपातिक बन्दसूचीमा रहेका नामहरू सच्याउनुपर्ने र प्रत्यक्षमा टिकट दिँदा पनि संस्थापनइतर समूहलाई समान अवसर दिनुपर्ने आफूहरूको माग रहेको उल्लेख गरे।



उनले भने "टिकट दिँदा जनप्रिय मान्छे, चुनाव जित्न सक्ने मान्छे चाहिन्छ भन्ने हाम्रो मान्यता हो। समानुपातिक सूची नसच्याउने संस्थापन पक्षको एक भए हाम्रो दुई हुनुपर्‍यो । उहाँहरूको तीन भए हाम्रो चार हुनुपर्‍यो। यसरी सच्याउनुपर्छ भन्ने हाम्रो पार्टीलाई आग्रह हो। अनुरोध हो।"



कांग्रेसका नेता अजयबाबु शिवाकोटीले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची हेर्दा संस्थापनइतर समूहलाई बाहिर राख्ने प्रयास गरेको देखिएको बताए। उनले बन्दसूचीको नाम नसच्याइएमा पार्टी सक्किने बाटोमा जाने बताए। 



"निर्णय प्रक्रियाबाट एउटा पक्षलाई बाहिर राख्ने प्रयास जस्तो देखियो, समानुपातिकको बन्दसूचीको लिस्टबाट। यसमा आम कार्यकर्ताको दबाब सच्याउनुपर्छ भन्ने छ। सच्याइएन भने यसले पार्टीलाई सकाउने बाटोमा लान्छ," उनले भने।



कांग्रेस नेता भूपेन्द्रजंग शाहीले कांग्रेस कसैको व्यक्तिगत पार्टी नभएको टिप्पणी गरे। उनले पार्टीको अधिवेशनमा अरूलाई भोट दिएको आधारमा नेताहरूको राजनीतिक हत्या गर्न खोजिएको भन्दै यस्तो कामले पार्टीलाई कमजोर बनाउने बताए।



उनले पार्टीभित्र हरेक कार्यकर्ताको मूल्यांकन गर्ने मापदण्ड बनाउनु जरुरी रहेको बताए। "समान अवसर र न्यायको खाँचो छ। यो कसैको व्यक्तिगत पार्टी होइन। यो पार्टीमा लाग्ने हरेकको उत्तिकै अधिकार छ र हरेक कार्यकर्ताको मूल्यांकन हुन जरुरी छ," उनले भने।