रामोसको ह्याट्रिक, पोर्चुगल र मोरक्कोकाे भेट क्वार्टरफाइनलमा

लुसेल रंगशालामा मंगलबार सम्पन्न अन्तिम प्रि-क्वार्टरफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ गोलले हराउँदै अन्तिम आठमा मोरक्कोसँगको भेट पक्का गरेको छ। 

तस्वीर : फिफा

काठमाडाैँ– कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पोर्चुगल र मोरक्को भिड्ने भएका छन्।

लुसेल रंगशालामा मंगलबार सम्पन्न अन्तिम प्रि-क्वार्टरफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६-१ गोलले हराउँदै मोरक्कोसँगको भेट पक्का गरेको हो।  यसअघि मोरक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको थियाे।

यो जितसँगै पोर्चुगल १६ वर्षपछि पहिलोपटक अन्तिम आठ मा पुगेको छ। पछिल्लो पटक सन् २००६ मा पोर्चुगलको टोलीले क्वार्टरफाइनल खेलेको थियो। यो जित पोर्चुगलका लागि पनि विशेष छ। किनभने यस ६ गोलमा उसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कुनै भूमिका छैन।

रोनाल्डोबिना पोर्चुगलले यति ठूलो जित हात पारेको छ। रोनाल्डोलाई खेलको सुरुवाती ११ मा पनि राखिएको थिएन। उनलाई ७३औं मिनेटमा प्रतिस्थापनका रूपमा ल्याइएको थियो। खेलमा पोर्चुगलका लागि गोन्जालो रामोसले तीन गोल गरे। उनी पहिलो पटक शुरूआती ११ मा परेका थिए। उनलाई रोनाल्डोको स्थानमा मैदान पठाइएको थियो ।

उनीबाहेक पेपे, राफेर गुरेरो र राफेल लियाओले गोल गरे। १७औँ मिनेटमा रामोसले गोल गर्दै अग्रता दिलाएका थिए। जोआओ फेलिक्सको पासमा उनले उत्कृष्ट गोल गरेका थिए। ३३औँ मिनेटमा पोर्चुगलका ३९ वर्षीय डिफेन्डर पेपेले हेडरमार्फत् उत्कृष्ट गोल गरेका थिए। ब्रुनो फर्नान्डिसको कर्नर किकमा उनले बललाई गोलपोस्टमा पठाए।

पेपे विश्वकप इतिहासमा नकआउट खेलमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बने। खेलको ५१औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गरेका थिए। उनले डियोगो डालोटको उत्कृष्ट पासलाई खेर जान दिएनन् र गोलपोस्टमा हेडर गरेर टोलीको अग्रता बढाए। ५५औँ मिनेटमा गुरेरोले गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाएका थिए।

त्यसको तीन मिनेटपछि स्वीट्जरल्यान्डका लागि म्यानुएल अकान्जीले पहिलो गोल गरे। ६७औँ मिनेटमा रामोसले फेरि गोल गरे। जारी विश्वकपमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन्। खेलमा पोर्चुगलले गोलको वर्षा गरेको थियो। इन्जुरी समयमा राफेल लियाओले गोल गरे। उनको गोलले पोर्चुगलको टोलीले ६-१ को जित निकाल्न सफल भयो।

पछिल्लो पटक पोर्चुगलको टोली सन् २००६ मा सेमिफाइनल पुगेको थियो। रोनाल्डोको यो पहिलो विश्वकप थियो। उनी सायद आफ्नो अन्तिम विश्वकप खेल्दैछन् र उनको टोली फेरि एकपटक क्वार्टरफाइनलमा पुगेको छ।