समावेशी ग्रामीण विकासका लागि कोरियाले १ अर्बभन्दा बढी सहयोग गर्ने

समावेशी ग्रामीण विकास परियोजनाका निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा कोइकाका देशीय निर्देशक मोह्युन कोङ र मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरे।

काठमाडौँ– कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक  अर्ब ७ करोड) प्रदान गर्ने भएको  छ । 

कोइका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मंगलबार समावेशी ग्रामीण विकास परियोजना (आईआरडीपी) का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा कोइकाका देशीय निर्देशक मोह्युन कोङ र मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरे। कोइकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार परियोजनाको कार्यक्षेत्र बर्दियाका आठ स्थानीय तह हुनेछन् ।

परियोजनाको मुख्य उद्देश्य बर्दियाका स्थानीयको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृंखलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढवा दिई दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धन गर्नु हो।

त्यस अवसरमा देशीय निर्देशक मोह्युनले  परियोजना नेपालको ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने अवसर हुने बताउँदै नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयन भएको जानकारी दिए। कोइकाको समावेशी ग्रामीण विकास परियोजना सन् २०१६–२०२२ सम्म नवलपरासीमा सफलतापूर्वक कार्यान्वयन भएको थियो। नेपालका अन्य भागमा पनि त्यस्ता परियोजनाको आवश्यकता महसुस भएकाले दोस्रो चरणको कृषि र ग्रामीण विकास परियोजना कार्यान्वयनमा ल्याइएको हो।

कार्यक्रममा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको स्मरणसमेत गरिएको थियो  ।

कोरिया सरकारले सन् १९९१ देखि कोइकामार्फत नेपाल सरकारलाई स्वास्थ्य, कृषि, शिक्षा (प्राविधिक), व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।