विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

हारका बाबजुद अर्जेन्टिना १८ अंकसहित तालिकाको शीर्षस्थानमा छ। कोलम्बिया १६ अंकसहित दोस्रो स्थानमा छ। 

काठमाडौँ– विश्व च्याम्पियन अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा पराजित भएको छ। बुधबार बिहान भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेको हो। 

कोलम्बियाले २५औँ मिनेटमा येरसन मोस्क्वेराको गोलमा अग्रता लिएको थियो। निकालेस गोन्जालजले ४८औँ मिनेटमा अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए। ६०औँ मिनेटमा पाएको पेनाल्टीमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे। 

हारका बाबजुद अर्जेन्टिना १८ अंकसहित तालिकाको शीर्षस्थानमा छ। कोलम्बिया १६ अंकसहित दोस्रो स्थानमा छ। 

अर्को खेलमा पाराग्वेले ब्राजिललाई पराजित गरेको छ। पाँच पटकको विश्व विजेता ब्राजिललाई पाराग्वले १-० ले पराजित गरेको हो। 

पाराग्वेको जितमा २०औँ मिनेटमा डिएगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो। हारपछि ब्राजिल ८ खेलबाट १० अंकसहित तालिकामा पाँचौँ स्थानमा छ। पाराग्वे समान खेलबाट ९ अंक जोड्दै सातौँ स्थानमा छ।