कर्णाली राजमार्ग यात्रामा सधैँ सास्ती

राजमार्ग स्तरोन्नति नहुँदा बाँके नेपालगन्जको रुपौडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको ३५० दूरी सडकखण्ड पार गर्न यात्रुले बाह्रैमास सास्ती खेपिरहेका छन्।। 

मान्म– कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा हिउँदमा धुलो र वर्षायाममा बाढीपहिरोका कारण यात्रुले सास्ती भोग्नुपर्ने अवस्था छ। राजमार्गको स्तरोन्नति नहुँदा बाँके नेपालगन्जको रुपौडियादेखि मुगु सदरमुकाम गमगढीसम्मको ३५० दूरी सडकखण्ड पार गर्न यात्रुले बाह्रैमास सास्ती खेपिरहेका छन्।। 

१८ वर्षअघि खुलेको कर्णाली राजमार्ग आजसम्म पनि उस्तै छ। कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्लासम्मको सडकखण्ड एशियाली विकास बैंकको सहयोगमा आठ वर्षअघि कालोपत्र भएको भए पनि धेरै ठाउँमा बाढीपहिरोका कारणले उप्किसकेको छ। कर्णाली राजमार्ग सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुका नागरिकको ‘लाइफलाइन’ पनि हो। यस सडक निर्माणले गति नलिँदा माथिल्लो कर्णालीका नागरिक सास्ती भोग्ने गरेका छन्। 

त्यस्तै, कर्णाली राजमार्गअन्तर्गत नेपाल प्रमुख पर्यटकीय गन्तव्य मुगुको राराताल जाने सडकको अवस्था पनि उस्तै रहेको जुम्ला तातोपानी गाउँपालिका–४ का राजबहादुर शाहीले बताए। “अहिले बर्खाको समय भएकाले कर्णाली राजमार्गको नाग्म–गमगढी सडकको अवस्था जीर्ण छ। त्यसमाथि ठाउँ–ठाउँमा पहिरोले गन्तव्यमा पुग्ने समय निश्चित हुँदैन,” उनले भने, “नाग्म–गमगढी सडकको कोइरेली, बड्की, बिष्टबाडा, रोकायबाडा, गोठीज्युलालगायत ठाउँमा सडक निकै अप्ठ्यारो छ।” 

राजमार्गको २३२ किलोमिटर सडकमध्ये सडक डिभिजन कार्यालय जुम्लाले १०० किलोमिटर र सडक डिभिजन कार्यालय सुर्खेतले १३२ किलोमिटर हेर्ने जिम्मा लिएका छन्। सुर्खेतले सुर्खेतदेखि कालीकोटसम्म र जुम्लाले कालीकोटदेखि जुम्लासम्म हेर्दै आएका छन्। कालीकोटको सुनारखोला, पिली, मोल्फा, खल्लागाडलगायत ठाउँमा दिनहुँ आउने पहिरोले यात्रु समस्यामा पर्ने गरेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले बताए। “त्यो क्षेत्रलाई हेरेर हेभी इक्विप्मेन्ट राखेका छौँ,” उनले भने, “ती ठाउँमा कतिबेला पहिरो जान्छ भन्ने कुरा पत्तो नै हुँदैन।”

ठेक्का लगाउने निकायको राम्रो निगरानी नहुने र निर्माण व्यवसायीको कमाउने मनसाय भएकाले सडकमा समस्या हुँदै आएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। “अबदेखि कार्यालयले निर्माण व्यवसायीलाई सडक मर्मत गर्दा निस्केको माटोको व्यवस्थापन आफैले गर्नु पर्नेछ भनेर सम्झौतामा लेख्नु पर्नेछ,” उनले भने, “निगरानी पनि त्यही अनुसार गरे मात्र यस्ता समस्याको समाधान हुनेछन्।”

सबैभन्दा बढी समस्या कालीकोटमा भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चेतनकुमार मण्डलले बताए। सडकमा माटोको ढिस्को पारेर छाड्नु उनीहरूकै लापरबाही भएको बताए। 

कर्णाली राजमार्गमा बर्सेनि सडक मर्मतका नाममा करोडौँ रुपैयाँ खर्च हुने गरेको भए पनि सडकको अवस्था उस्तै छ। राजमार्ग मर्मत तथा सम्भारका नाममा बजेट आउने भए पनि भत्केको ठाउँमा सामान्य मर्मत गरेर बजेट मात्र सक्ने परिपाटी छ। अगाडिबाट सडकमा ओटासिल हाल्दै जाने र पछिबाट उप्किँदै जाने भएकाले सडक सुधारका नाममा बजेट मात्र खर्च हुने गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा मर्मतका लागि झन्डै १६ करोड बजेट खर्च भएको थियो। आव२०७८/८९ मा २६ करोड र आव २०७९/८० मा पनि सोही हाराहारी बजेट खर्च भएको थियो।

तर सडकको अवस्था उस्तै छ। अगाडिबाट ओटासिल हाले पनि पछाडिबाट उप्किँदै जाने गरेको तिलागुफा नगरपालिका–४, राँचुलीमन पूर्ववडाध्यक्ष खड्कराज शाहीले बताए। “मेरो वडाको राँचुलीमा सडकमा कालोपत्र गरेको १५ दिनमा सडक पुरानै अवस्थामा परिणत भएको छ,” उनले भने, “केही दिनसम्म कालो राम्रो देखिएको सडक दुई हप्तापछि हेर्दा पहिलेको जस्तै जीर्ण बनेको छ।”

कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकका अधिकांश स्थानमा फलामे सेफ्टी बार भाँचिएका छन्। भिरको सडक किनारमा लगाइएका सेफ्टी बार केही ठाउँमा पहिरो र केही ठाउँमा खियाका कारण जीर्ण बनेका छन्। जीर्ण भएका कारणले डर लाग्ने गरेको कर्णाली राजमार्गमा सवारी चलाउँदै आएका चालक राजन कार्कीले बताए। “कर्णाली राजमार्गमा लगाइएका सेफ्टी बार पहिरोले भाँचिएका छन्। खिया लागेर जीर्ण बनेका छन्,” उनले भने, “यो राजमार्गमा सवारी चलाउनका लागि पनि समस्या हुने गरेको छ।”

मुख्य राजमार्ग भएर खनिएका सहायक सडक पनि कर्णाली राजमार्गमा आउने बाढीपहिरोका समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। शुभकालिका गाउँपालिकाको केन्द्रसम्म जान निर्माण गरिएका ग्रामीण सडकबाट दैखोला, गगनेखोलामा सधैँ पहिला ढुंगासहित आएको पहिरोले आउने गरेको डिभिजन सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतन मण्डलले बताए। 

कर्णाली राजमार्गमा भएका सानादेखि ठूला दुर्घटनाका घटना थुप्रै छन्। २०६३ चैतमा भएको बस दुर्घटनामा ४२ जनाले ज्यान गुमाएका थिए। कालीकोटको हुम्लादेखि सुर्खेतका लागि प्रस्थान गरेको बस दैलेखको आठबिस नगरपालिका–५ को किटुमा दुर्घटना भएको थियो। यो दुर्घटनालाई कर्णाली राजमार्ग सञ्चालनमा आएयताको सबैभन्दा ठूलो र भयानक दुर्घटना मानिन्छ। कर्णाली राजमार्गमा दुर्घटनाको क्रम यतिमै सीमित रहेन।

यात्रुवाहक सवारीसाधन दुर्घटना हुने क्रम बढिरहेको छ। २०६८ मा कालीकोटको सेराबाडामा भएको दुर्घटनामा २८ जना यात्रुले ज्यान गुमाए। २०७१ मा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो। त्यसबीचमा भएका दुर्घटनामा जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो। नेपालगन्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस मुगुको छायानाथ रारा नगरपालिका–७, पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो।

कर्णालीमा एक वर्षमा सवारी दुर्घटनामा परी ११२ जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ९५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ। सल्ल्यानमा १३० सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु हुँदा रुकुमपश्चिममा ९३ वटा सवारी दुर्घटनामा २३ जनाको मृत्यु भएको हो।