बहसको अन्त्यमा ह्यारिसले आफ्नो ध्यान भविष्यमा केन्द्रित रहेको र ट्रम्प विगतमा फसेको बताइरहँदा ट्रम्पले भने, 'ह्यारिसले चुनाव जिते तेस्रो विश्वयुद्ध सम्भव छ।'
अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि मंगलबार राति डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस (प्रेसिडेन्सियल डिबेट) भयो।
करिब ९० मिनेटसम्म चलेको 'एबीसी न्युज प्रेसिडेन्सियल डिबेट'मा ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको कडा आलोचना गरे। यस क्रममा दुई उम्मेदवारबीच रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, सीमा समस्या, अध्यागमन, अर्थतन्त्र, क्यापिटल हिल दंगा र गर्भपतन जस्ता विषयमा चर्को बहस भएको थियो। यस बहसमा चीन, रुस, इजरायल र इरानको सन्दर्भ पनि धेरै पटक आयो।
बहसको अन्त्यमा ह्यारिसले भनिन्, “मेरो र ट्रम्पको अमेरिकाको भविष्यमा पूर्णतया फरक विचार छ। मेरो ध्यान भविष्यमा छ। ट्रम्प विगतमा फसेका छन्।”
ट्रम्पले भने, “कमला ह्यारिसको नीतिको कुनै अर्थ छैन किनभने उनले विगत चार वर्षमा केही हासिल गर्न सकेकी छैनन्। हाम्रो देश विनाशको बाटोमा छ। सारा संसार हामीमाथि हाँसेको छ। यदि ह्यारिसले नोभेम्बरमा चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध सम्भव छ।”
बहसका क्रममा ह्यारिस र ट्रम्पले एकअर्कामाथि व्यक्तिगत आलोचना पनि गर्न भ्याए। चलिरहेको मुद्दा र २०२० को चुनावमा हार स्वीकार गर्न नमानेकोमा ह्यारिस ट्रम्पमाथि खनिइन्।
बहसको क्रममा, जब मध्यस्थकर्ताहरूले ट्रम्पलाई जातीय पहिचानसम्बन्धी उनको विवादास्पद टिप्पणीबारे सोधे, ट्रम्पले प्रश्नलाई बेवास्ता गरे। उनले भने, “उनीहरू के हुन् मलाई मतलब छैन।”
ट्रम्पप्रति लक्षित गर्दै ह्यारिसले भनिन्, “जसले सधैँ अमेरिकालाई जातीय आधारमा विभाजित गर्न खोजेको छ, उही राष्ट्रपति बन्न खोज्नु दुःखद घटना हो।”

को भए त बहसमा विजयी?
९० मिनेटको यस बहसमा डोनाल्ड ट्रम्पमाथि कमला ह्यारिस हावी भएको देखिन्छ। ह्यारिसले ट्रम्पको र्यालीमा भएको भीडको आकार र क्यापिटल हिलमा भएको आक्रमणलाई लिएर उलाई घेरेकी थिइन्। ह्यारिसले पहिले ट्रम्पका समर्थक रहेका र अहिले उनको कडा आलोचना गर्ने अधिकारीहरूको बारे पनि बताइन्।
उनले ट्रम्पलाई ती अधिकारीहरूको रक्षा गर्नसमेत उक्साइन्। मतदातासँग प्रत्यक्ष सान्दर्भिक हुने विषयको उम्मेदवारले राम्रो फाइदा उठाउने वा जित्ने भन्ने बहस भएमा कमला ह्यारिस यस मामिलामा सफल भइन्।
उनी मुद्दालाई आफ्नो पक्षमा पार्नसमेत सफल भइन्। बहसअघि बढ्दै जाँदा ह्यारिसले ट्रम्पलाई धेरै पटक रक्षात्मक रूपमा राखिन्। ह्यारिसले विभिन्न प्रकारले प्रहार र व्यंग्य गरिन्, जसको जवाफ दिन ट्रम्प बाध्य भए।
कमला ह्यारिसले ट्रम्पलाई कमजोर भन्दै विदेशी नेताहरु उनीमाथि हाँस्न थालेको बताइन्। ट्रम्पको चुनावी र्यालीमा सहभागी भएका मानिस दिक्क मानेर चाँडै निस्किने गरेका पनि बताइन्।
धेरै अमेरिकीहरूले ह्यारिस मुद्रास्फीति, आप्रवासन र अफगानिस्तान फिर्ता जस्ता मुद्दाहरूमा कमजोर हुने अनुमान गरेका थिए। तर ह्यारिसले त्यसमा आफूलाई सशक्त देखाइन्।
धेरै जसो अवस्थामा ट्रम्पले आफ्नो भनाइलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सकेनन्।
ओपिनियन पोलले बाइडेन प्रशासनले मुद्रास्फीति र अर्थव्यवस्थालाई कसरी अंगालेको छ भन्ने बारे धेरै अमेरिकीहरू असन्तुष्ट भएको देखाउँछ। तर ह्यारिसले यस विषयलाई ट्रम्पको प्रस्तावित कर महसुलतर्फ मोडिदिइन्, जसलाई उनले ‘ट्रम्प बिक्री कर’ भनिन्।
बहसका क्रममा कमला ह्यारिसको भावभंगी पनि प्रभावकारी देखियो।
बहसको क्रममा, ट्रम्पलाई जवाफ दिँदा, असहमतिमा ह्यारिसले टाउको हल्लाउँदै वा मुस्कुराउँदै गरेको देखियो। जब ट्रम्पले ह्यारिसलाई ‘मार्क्सवादी’ भनेर सम्बोधन गरे, ह्यारिसले आफ्नो हात आफ्नो चिउँडोमा राखेर उनले नबुझेको संकेत गरिन्। तर अर्थव्यवस्था वा गर्भपतन जस्ता मुद्दाहरूमा, ह्यारिस सीधा क्यामेरामा हेर्दै थिइन्, मानौँ उनी मतदाताहरूसँग कुरा गरिरहेकी छन्।

त्यसको विपरीत ट्रम्प भने बहसभर ह्यारिससँग आँखा जुधाउनबाट जोगिइरहेका देखिन्थे। यस्तै, ह्यारिसको प्रश्नमा ट्रम्पले उनीतर्फ औँला देखाएर कुरा गरेका देखिन्थे। गर्भपतनको मुद्दामा भएको बहसका क्रममा त ट्रम्प निकै रिसाए।
बहसका महत्त्वपूर्ण बुँदा यस्ता थिए:
आप्रवासीहरूको मुद्दा
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आप्रवासीहरू विरुद्ध केही यस्ता आरोप लगाए, जसलाई मध्यस्थकर्ताहरूले नै गलत घोषणा गरे। आप्रवासीहरूको बारेमा बोल्दै ट्रम्पले उनीहरूले ‘घरपालुवा जनावरहरू खान्छन्’ भन्ने दाबी गरे।
“उनीहरूले कुकुरहरू खान्छन्, घरपालुका जनावर खान्छन्,” ट्रम्पले भने।
उनको दाबीबारे बहसका मध्यस्थकर्ता डेभिड मुइरले अस्वीकृति जनाए। उनले भने, “स्प्रिङफिल्डको शहर प्रबन्धकले यस्तो कुनै प्रमाण नभएको बताएका छन्।”
ट्रम्पले भने, “मैले टिभीमा मानिसहरूले मेरो कुकुरलाई चोरेर खाएको सुनेको छु।”
यसबारे कमला ह्यारिसले ट्रम्पले ‘धेरै बढाइचढाइ गरेर बोल्ने गरेको’ बताइन्।
स्प्रिङफिल्डका अधिकारीहरूले वास्तवमा यसबारे कुनै विश्वसनीय रिपोर्ट नभएको बताएका बीबीसीले जनाएको छ।
रुस–युक्रेन युद्ध
बहसका क्रममा रुस–युक्रेन युद्धका बारेमा पनि छलफल भएको थियो। डोनाल्ड ट्रम्पलाई सोधिएको थियो “के तपाईं युक्रेनले युद्ध जितेको चाहनुहुन्छ?”
यसबारे ट्रम्पले भने, “म युद्ध बन्द होस् भन्ने चाहन्छु।”
युक्रेन र रुस युद्धको अमेरिकामा परेको असरबारे ट्रम्पले युद्धमा युरोपले अमेरिकाको तुलनामा निकै कम मूल्य चुकाउनु परेको बताए।
उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैलाई राम्ररी चिनेको बताए।
ट्रम्पले जो बाइडेनलाई कतै नदेखिएका अमेरिकी राष्ट्रपतिसमेत भन्न भ्याए।
यसको प्रतिक्रियामा कमला ह्यारिसले भनिन्, “तपाईं बाइडेन विरुद्ध होइन म विरुद्ध लडिरहनुभएको छ।”
युक्रेन युद्धको प्रश्नमा ह्यारिसले युक्रेनका राष्ट्रपतिसँग आफ्नो निकट सम्बन्ध रहेको बताइन्।
उनले ट्रम्पलाई भनिन्, “हाम्रा नाटो सहयोगीहरू धेरै कृतज्ञ छन् कि तपाईं अब राष्ट्रपति हुनुहुन्न। नत्र अहिले पुटिन किभमा बसेर बाँकी युरोपमा नजर राखिरहेका हुन्थे।”
ह्यारिसले पुटिन तानाशाह भएको आरोप लगाइन्।
यसमा ट्रम्पले ह्यारिसलाई अहिलेसम्मकै सबैभन्दा खराब उपराष्ट्रपति भएको भन्दै आक्रमणअघि युक्रेन र रुसबीच वार्ता गरेर युद्ध रोक्न असफल भएको दाबी गरे।

इजरायल–हमास युद्ध
बहसमा कमला ह्यारिसले इजरायल–गाजा मुद्दामा आफ्नो पुरानो कुरा दोहोर्याइन्।
“इजरायलको आफ्नै सुरक्षाको अधिकार छ, तर इजरायलले यो कसरी गरिरहेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण छ,” उनले भनिन्, “यो युद्ध तुरुन्तै समाप्त हुनुपर्छ।”
उनले युद्धविराम र दुई राष्ट्रका समस्या समाधानको बारेमा पनि कुरा गरे।
ट्रम्पले आफू राष्ट्रपति भएको भए यो द्वन्द्व कहिल्यै नहुने बताए। साथै ह्यारिस इजरायललाई घृणा गर्ने र यदि उनी राष्ट्रपति भए इजरायल दुई वर्षमा अस्तित्वमा नरहने तर्क गरे।
उनले भने, “म यो समस्या छिट्टै समाधान गर्छु।”
उनले आफू पुनः निर्वाचित भएमा रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने पनि बताए।
ह्यारिसले पनि बारम्बार इजरायलको सुरक्षालाई समर्थन गर्ने दाबी गरिन् र ट्रम्पको दाबीलाई अस्वीकार गर्दै भनिन्, “ट्रम्प सत्यलाई विचलित र विभाजित गर्न चाहन्छन्। सबैलाई थाहा छ कि उनी तानाशाह मन पराउँछन् र उनी पहिलो दिनदेखि नै तानाशाह बन्न चाहन्छन्।”
आर्थिक नीतिहरू
बहसको शुरूमै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन्। ट्रम्पले कमला ह्यारिसलाई सोधे, “के तपाईंलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको भन्दा राम्रो अवस्थामा छ?”
यसबारे कमला ह्यारिसले आफू अवसर प्रदान गर्ने अर्थतन्त्र बनाउने योजनामा रहेको उल्लेख गरिन्। उनले ट्रम्पले पछिल्लो पटक जस्तै यस पटक पनि अर्बपति र व्यापारीहरूलाई कर छुट दिने योजना बनाएका बताइन्।
उनले भनिन्, “ट्रम्पले जे भनिरहेका छन्, त्यसको आलोचना १६ नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले गरिसकेका छन् र यस्तो लागू भयो भने अर्को वर्ष मन्दी आउने उनीहरुको विश्वास छ।”
साथै उनले ट्रम्पले अमेरिकालाई महामन्दी पछिको सबैभन्दा खराब बेरोजगारी दरमा धकेलेको आरोप लगाइन्। उनले भनिन्, “हामीले डोनाल्ड ट्रम्पले सिर्जना गरेको विकृतिलाई सफा गर्नुपर्यो।”
ह्यारिसले ‘प्रोजेक्ट २०२५’ लाई खतरनाक भन्दै ट्रम्प राष्ट्रपति बने यसलाई कार्यान्वयन गर्ने बताइन्।
–बीबीसी हिन्दीबाट
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
