माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी

निकुञ्जबाट निस्किने गैँडा, बँदेल, हरिणलगायतका जंगली जनावर आएर खेती नष्ट गर्ने क्रम बढ्दै गएपछि पूर्वी नवलपरासीका किसान माछापालनतर्फ आकर्षित हुन थालेका छन्। 

फाइल तस्वीर

कावासोती– माछापालन गर्ने किसानको संख्या बढेपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुने भएको छ।

जिल्लामा दुई हजार ८४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार ५०० बढी साना ठुला पोखरीमा माछा लगाइएको छ। यस वर्ष पाेहाेरभन्दा २५ प्रतिशत धेरै माछा उत्पादन हुने प्रक्षेपण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेले जानकारी दिए।

पोहोर ९३३ मेट्रिक टन माछा उत्पादन भएको थियो। अहिले एक हजार १०० मेट्रिक टन उत्पादन हुने उनकाे भनाइ छ। “यो उत्पादनले जिल्लाको माग धान्न सक्छ”, उनले भने। पूर्वी नवलपरासीमा रहु, नैनी, सिल्भर कार्प, ग्रासकार्पलगायत स्थानीय जातका माछा पालिँदै आएको छ। प्रयोगशाला स्थापना, माछा पोखरीमै पुगेर प्यारामिटर परीक्षण गर्नेदेखि नयाँ पोखरी निर्माण गर्दा लागत साझेदारीका आधारमा कृषकलाई अनुदान दिएको केन्द्रले जनाएको छ।

जिल्लाको दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका धेरै भागमा व्यक्तिगत तथा सामूहिक माछापालन गरिँदै आएको छ। निकुञ्जबाट निस्किने गैँडा, बँदेल, हरिणलगायतका जंगली जनावर आएर खेती नष्ट गर्ने क्रम बढ्दै गएपछि किसान माछापालनतर्फ आकर्षित हुन थालेका छन्। 

खेती गर्दा आफूले कहिल्यै पुरा बाली स्याहार्न नपाएको तर अहिले माछापालन शुरू गरेपछि आर्थिकपार्जोनसँगै जंगली जनावरले दुःख दिने झन्झटबाट मुक्त भएको कावासोती नगरपालिका–१३ का लक्ष्मीप्रसाद न्यौपानेले सुनाए। भारतीय माछामा निर्भर रहेको जिल्ला माछापालन गर्ने किसानको संख्या र उत्पादन बढेसँगै आत्मनिर्भर बन्न लागेको हो।