५ महिनामा गलेश्वर मन्दिरको आम्दानी ३ करोड

भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षमा १० करोड रुपैयाँ लागतमा विभिन्न पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।

तस्वीर: निर्वाचन कार्यालय म्याग्दी

म्याग्दी– बेनी नगरपालिका–९ स्थित  गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोड रुपैयाँ बढी रकम जम्मा भएको छ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा तीन करोड ३७ लाख रुपैयाँ आम्दानी भएको जानकारी गराइएको हो। सभामा कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा २० लाख दुई हजार खर्च भएको बताए।

“खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र रु २६ लाख १५ हजार बचत भएको छ”, उनले भने। मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी आठ लाख २२ हजार, ब्याज आम्दानी  पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट एक लाख ३१ हजार, दान दुई लाख ५८ हजार, जिन्सी सामान बिक्रीबाट एक लाख ९९ हजार र स्टल भाडा दुई लाख २२ हजार संकलन भएको छ। 

अघिल्लो वर्ष ४० लाख ८५ हजार  भेटीसहित ९१ लाख ८२ हजार आम्दानी भएको थियो। भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षमा १० करोड रुपैयाँ लागतमा विभिन्न पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। 

“गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने चलन छ”, उनले भने, “भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन्।” जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएका भान्छेलाई मासिक १७ हजार तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ।   

गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ। यो कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित छ। हिन्दु धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहेको उल्लेख छ।

यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ। अन्य समय दैनिक पूजाआजा हुने मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ।