बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न प्रहरीको चेतावनी

बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही हुने प्रहरीले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– जिल्ला प्रहरी परिसर, काठमाडौँले बोतल र जर्किनमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न चेतावनी दिएको छ।

बुधबार सूचना निकाल्दै केही पेट्रोल पम्पबाट खुलारूपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको पाइएकाले यस्तो कार्य तत्काल बन्द गर्न अनुरोध गरेको हो। 

“पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षतिको सम्भावना हुन्छ”, सूचनामा भनिएको छ, “बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही हुने जानकारी गराइन्छ।” 

पेट्रोल पम्पबाट गाडीमा सिधै भर्नेबाहेक बिक्री वितरण नगर्न र नगराउन पनि पम्प सञ्चालकलाई प्रहरीको अनुरोध छ। मंगलबार इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।