१२ कम्पनी सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले डडेलधुराको राष्ट्र निर्माण सेवालाई तीन तथा अन्य ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। 

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई  कालोसूचीमा राखेको छ।

विभिन्न निकायको सिफारिसमा ती कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले सूचनामार्फत जनाएको छ। कालोसूचीमा राखिएका कम्पनीहरूमा काठमाडौँको युनिभर्सल मल्टी सर्भिसेस, प्युठानको स्वर्गद्वारी महाप्रभु विलडर्स, दाङका सुक्रिन निर्माण सेवा, धनुषाको एसडी कन्स्ट्रक्सन र डडेलधुराको राष्ट्र निर्माण सेवा छन्।

यसैगरी काठमाडौँको मुक्तिनाथ बिल्डर्स एन्ड कम्पनी, अर्घाखाँचीको लक्ष्मी निर्माण सेवा, धादिङको जलेश्वर निर्माण सेवा, चितवनको डीभी घिमिरे कन्स्ट्रक्सन र अञ्जना निर्माण सेवा, पर्साको दिल्ली ट्रेडिङ र कास्कीको बी म्यानेजमेन्टलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

राष्ट्र निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्ष कालोसूचीमा राखिएको छ। तोकिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ।