भोजपुरमा बाँदर आतंकले रित्तिँदै बस्ती, बाझिँदै खेतबारी

बाँदर आतंकबाट भोजपुरका बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानी गाउँमा बढी प्रभावित भएका छन्। 

फाइल तस्वीर

भोजपुर– बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या छ।

रामप्रसादराई गाउँपालिका–४ दल गाउँका स्थानीय बस्ती छाडेर हिँडेका छन्। बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि उनीहरू विस्थापित भएका हुन्। यसवर्ष मात्रै १० परिवारले गाउँ छाडेको स्थानीय टेकबहादुर तामाङले बताए। “बाँदरका कारण बस्ती नै खाली भएको छ,” उनले भने, “वर्षभर खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव हुँदैन।” उनका अनुसार दश–बाह्र वर्षसम्म कमै मात्रामा बाँदर लाग्ने गरेको थियो।

पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभर बाँदरको आतंक बढेको टेम्केमैयुङ–६ कोटका इन्द्रबहादुर राईले बताए। बाँदरका कारण गाउँबस्तीमा बस्नै नसक्ने अवस्था आएको उनको भनाइ छ। “बाँदरले हामीलाई अति नै समस्यामा पारेको छ,” उनले भने, “बारीमा लगाएको हिउँदे बाली नष्ट पारेको छ। यसपालि त गहुँ नै लगाइन।” बाँदर मकैको थाङ्ग्रा, धानको कुनिउँ, बगैँचाका फलफूलमा आउन थालेका छन्। स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन्।

परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ। बाँदरलाई यन्त्र उपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको भोजपुर नगरपालिका–५ का धनबहादुर थापाले बताए। “बाँदर धपाउने यन्त्र पड्काएर तर्साउँदा पहिला–पहिला त भाग्थे,” उनले, “अहिले त टेर्दैनन्। भगाउन पनि गाह्रो छ। १५ मिनेट मात्र बालीमा पस्न पाए भने सखाप नै पार्छन्। बाँदरले हैरान बनाएको छ।” बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दल गाउँका तीर्थबहादुर प्रधानले बताए। बाँदरको आतंक यसरी नै बढ्दै गए केही वर्षमा धेरै बस्ती खाली हुने प्रधानको भनाइ छ। “बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ।”

बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन्। “बाँदरको उपद्रो बढ्दो छ,” प्रधानले भने, “वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ। बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ।” बाँदर आतंकका कारण धेरै स्थानीय गाउँ छाड्न बाध्य रहेको टेम्केमैयुङ गाउँपालिका–६ कोटका वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए। यहाँका २० भन्दा बढी परिवार बाँदरका कारण विस्थापित भएको उनको भनाइ छ। “मेरो वडामा बाँदरको अत्यन्तै धेरै समस्या छ,” वडाध्यक्ष नेपालले भने, “नियन्त्रण गर्न धेरै उपाय लगाइयो। दिनानुदिन बाँदरको सङ्ख्या बढ्दो छ।”

स्थानीय स्तरबाट मात्र गरिएको कोसिसले बाँदरको व्यवस्थापन गर्न नसकिने उनले सुनाए। “धेरै किसानको मुख्य समस्या नै बाँदर बनेको अवस्था छ,” उनले भने, “उर्वरभूमि बाँझो बसेका छन्। राज्यले उचित विकल्पको खोजी गर्न आवश्यक छ।” बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन्। बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानीलगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ।