त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।
काठमाडौँ– युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षण गरेको छ। युरोपेली युनियनका एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो।
आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँशीमा क्रमशः चिलिमे हब र त्रिशूली थ्रीबी हब सबस्टेसन निर्माणाधीन छन्। साथै, चिलिमे हबदेखि त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ। आयोजनाको अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको छ। नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू)को अनुदान छ। युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (ईआईबी)को सहुलियतपूर्ण ऋण लगानी छ।
टोलीले त्रिशूली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो। टोलीले नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायतका विषयमा छलफल गरेको छ। टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले गति लिएको र प्रगति सन्तोषजनक देखिएको उल्लेख गरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी, मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढी पहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायत कारणले आयोजना प्रभावित हुँदै आएको थियो। अहिले निर्माणले गति लिएको छ।
“निर्माणमा केही ढिलाइ भएकामा उहाँहरूले विगतमा चासो र चिन्ता व्यक्त गर्दै आउनु भएको थियो। तर, निरीक्षण भ्रमणका उल्लेख्य प्रगति हासिल गरेको तथा कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर खुशी हुनुभएको छ,” कार्यकारी निर्देशक घिसिङले भने। युरोपेली युनियनले ईआईबीमार्फत नेपालको जलविद्युतको उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको घिसिङले बताए। ईआईबीले १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरूमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ।
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो। आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत छ। त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको प्रगति क्रमशः ७१ र ७० प्रतिशत छ। प्रसारण लाइन र सबस्टेसन निर्माण आगामी चैत ९ भित्र सक्ने लक्ष्य छ। हाल प्रसारण लाइन बनाउन ३०० जना, चिलिमे हब सबस्टेसनमा ९० जना र त्रिशूली थ्रि बी हबमा १६० जना श्रमिक कार्यरत छन्।
कार्यकारी निर्देशक घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरण जडान गर्नेलगायत काम एकसाथ भइरहेको बताएका छन्। दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएसलगायत महत्वपूर्ण उपकरण आयोजनास्थलमा ल्याइसकिएको छ। प्रसारण लाइनका टावर, कन्डक्टरसहितका उपकरण आपूर्ति भइसकेको छ। अहिले सबस्टेसनमा उपकरण जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ। ७९ वटा टावरमध्ये ४४ वटाको जग हालिएको छ। १३ वटा टावरको आंशिक जग हालिएको छ। १५ वटा टावरको जग खन्ने तथा ढलाइनको काम भइरहेको छ। २९ वटा टावर खडा गरिएको छ।
चिनियाँ ठेकेदार कम्पनी ‘पिङगाओ ग्रुप अफ कम्पनीज’ले चैतभित्र सक्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ। प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ कात्तिकमा ठेक्का सम्झौता भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
