पुटिनले एमएच१७ विमान खसाल्न प्रयोग गरिएको मिसाइल 'आपूर्ति' गरे : अनुसन्धानकर्ता

अभियोजनकर्ताहरूले पुटिनले मस्को समर्थित पृथकतावादीहरूलाई मिसाइल उपलब्ध गराउने निर्णय गरेको प्रमाण फेला पारेको बताएका छन्।

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०१४ मा एमएच १७ विमानलाई खसाल्न प्रयोग भएको मिसाइल 'आपूर्ति गर्ने निर्णय' गरेको प्रमाण भेटिएको बताएका छन्।

२०१४ जुलाई १७ मा पूर्वी युक्रेनको आकाशमा एम्स्टर्डबाट मलेसियाको कोलाम्पुर जाँदै गरेको एमएच१७ विमानलाई खसाल्नका लागि बुक–टेलर मिसाइल प्रणालीको प्रयोग गरिएको थियो। रुसमा निर्मित मिसाइलले विमानलाई निसाना बनाउँदा ३०० जनाको ज्यान गएको थियो।

अभियोजनकर्ताहरूले पुटिनले मस्को समर्थित पृथकतावादीहरूलाई मिसाइल उपलब्ध गराउने निर्णय गरेको प्रमाण फेला पारेको बताएका छन्। यद्यपि, पुटिनले विमानमाथि मिसाइल प्रहार गर्ने आदेश दिए कि दिएनन् भने रहस्य अहिलेसम्म नखुलेको उनीहरूको भनाइ छ।

नोभेम्बरमा एक डच अदालतले तीन पुरुष– दुई रुसी र एक युक्रेनी नागरिकलाई मिसाइल प्रहार गरी एमएच१७ विमान खसालेको घटनामा दोषी ठहर गरेको थियो। 

रुसले भने विमान खसालेको मामिलामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ, ‘निन्दाजनक’ र राजनीतिक रूपमा प्रेरित भनी आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएको छ।

अभियोजनकर्ताहरूले बुधबार सबै प्रमाणहरू प्राप्त गरिसकेको र अब आपराधिक कारबाही जारी राख्न नसकिने बताएको बीबीसीले उल्लेख गरेको छ।

युक्रेनको डोनबास क्षेत्रमा रुसी समर्थित विद्रोही र युक्रेनी सेनाको द्वन्द्वका क्रममा बोइङ ७७७ माथि रुसमा निर्मित सतहबाट हावामा प्रहार गर्ने मिसाइल प्रहार भएको थियो। विमानमा २९८ यात्रु र चालक दलका सदस्य थिए। विमानमा १९६ जना डच नागरिक थिए भने अन्य यात्रु मलेसिया, अस्ट्रेलिया, बेलायत, बेल्जियम लगायतका देशका थिए।

संयुक्त अनुसन्धान टोलीले टेलिफोन कुराकानीमा रुस समर्थित विद्रोहीलाई रुसी अधिकारीहरूले सैन्य सहयोग प्रदान गर्ने निर्णय गरेका थिए, जसको निर्णयाधिकार राष्ट्रपतिसँग रहने बताएका छन्। “हामीसँग ठोस जानकारी छ कि पृथकतावादीहरूको अनुरोध राष्ट्रपतिसमक्ष प्रस्तुत गरिएको थियो। र, यो अनुरोध स्वीकार गरिएको थियो“, संयुक्त अनुसन्धान टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संयुक्त अनुसन्धान टोलीमा नेदरल्यान्ड, अस्ट्रेलिया, बेल्जियम, मलेसिया र युक्रेनका प्रतिनिधि थिए।