पछिल्लो एक दशक शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रवाफ छाडेको थ्रीस्टार गत वर्ष छैटौँ स्थानमा खस्कियो। यो वर्ष कतिपय स्टार खेलाडी अष्ट्रेलिया पुगेका छन् भने, केहीले क्लब छाडेका छन्।
काठमाडौँ- पाटने क्लब थ्रीस्टारमा 'स्टार' खेलाडीहरूको बाहुल्य झन्डै एक दशकसम्म थियो। सञ्जोक राई, मिक्छेन तामाङ, अनन्त तामाङ, हेमन्त थापामगर, आयुष घलान, ऋतिक खड्का र डोना थापाजस्ता नाम चलेका खेलाडी थिए। स्टार खेलाडीकै भरमा थ्रिस्टारले २०५४, ०५५, ०६१, ०६९ र ०७१ सालको शहीद स्मारक ‘ए’ डिभिजन लिग जितेको थियो।
गत वर्ष 'सिंगल राउन्ड रोबिन'को आधारमा भएको लिगमा थ्रीस्टारको शान पहिलाजस्तो थिएन। लिग सकिँदा क्लब छैटौँ स्थानमा खुम्चिन पुगेको थियो।
यसपटक फागुन १९ गतेबाट 'डबल राउन्ड रोबिन'का आधारमा लिग चल्दा थ्रीस्टारको बेन्च र ‘टचलाइन’को परिदृश्य फरक देखिने छ। पहिलाका कतिपय स्टार खेलाडी देखिने छैनन्। फरवार्ड सञ्जोक, मिडफिल्डरहरू हेमन्त, ऋतिक र मिक्छेन अस्ट्रेलिया गइसकेका छन्। विंगर आयुष संकटामा अनुबन्ध भएका छन्। डिफेन्डर अनन्त चर्च ब्वाइज र मिडफिल्डर डोना फ्रेन्ड्समा अनुबन्ध भएका छन्।
प्रशिक्षक उर्जन श्रेष्ठ पनि यसपटक थ्रीस्टारको टचलाइनमा नहुने पक्का भएको छ। उनी ‘ए’ डिभिजनकै अर्को क्लब फ्रेन्ड्स पुगेका छन्।

पुराना खेलाडीको स्थानमा थ्रीस्टारले युवा खेलाडी भित्र्याएको छ। प्रशिक्षकको जिम्मवारी मेघराज केसीले पाएका छन्। केसीको लक्ष्य छ, लिगमा सुधारिएको खेल प्रदर्शन।
“यसपटक थ्रीस्टारसँग कस्तो टिम छ भनेर ठ्याक्कै भन्ने अवस्था छैन। हामीले जस्ता खेलाडी उपलब्ध छन् तिनैलाई समेटेर टिम बनाएका छौँ," प्रशिक्षक केसी भन्छन्, "प्रशिक्षण थालेको दुई हप्ता भयो। अबको एक महिनापछि कस्तो नतिजा निस्किन्छ, त्यसले लिगको लक्ष्य प्रस्तुत गर्छ।”
केसीले दोस्रोपटक थ्रीस्टार सम्हालेका हुन्। यसअघि उनले २०६८ सालमा थ्रीस्टार सम्हाल्दा क्लबलाई चौँथो स्थानबाट अगाडि बढाउन सकेका थिएनन्।
अघिल्लो सिजन केसीले नै सम्हालेको नवप्रवेशी सातदोबाटो युथ भने लिगमा ‘जायन्ट किलर’ बनेर उदाएको थियो। पहिलो सहभागितामै नमेटिने छाप बनाउन सातदोबाटोले ‘बी’ डिभिजन जित्दाको टोलीमा धेरै परिवर्तन गरेको थियो। उसले युवाका साथै उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका मानबहादुर तामाङ, आकाश बुढामगर, दीपकसिंह ठकुरी, पासाङ लामा, निरज चौधरीजस्ता खेलाडी भित्र्याएको थियो।
लिगका १३ मध्ये ६ खेलमा जित, तीनमा बराबरी र चार खेलमा हार चाखेको सातदोबाटो २१ अंक जोड्दै चौथो स्थानमा रहेको थियो। सातदोबाटोले थ्रीस्टार र मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लबजस्ता परम्परागत रूपमा बलियो मानिएका टोलीलाई पराजित गरेको थियो।
यसपटक प्रशिक्षक केसीले खेलाडी अनुबन्धमा नै थ्रीस्टारलाई अघिल्लो सिजनको सातदोबाटोको झल्को दिलाउने कोशिश गरेका छन्। उनले अघिल्लो सिजन थ्रीस्टारबाटै खेलेका कप्तान विक्रम लामा, अशोक खवास, अश्विन भट्टराई र ल्याकेन लिम्बुसहित सात जनालाई निरन्तरता दिएका छन्। उमेर समूहबाट खेलिसकेका सन्दीप कार्की, मनग्य नकर्मी, प्रदीप लम्सास र अनिल महर्जनलाई थ्रीस्टारबाट डेब्यू गराउने तयारी गरेका छन्।
अघिल्लो सिजनको लिगमा पहिलो ह्याट्रिक गर्ने अजयी मार्टिन्स र पिटर सेगुनलाई समेत सातदोबाटोबाट भित्र्याइएको छ। लामो समय नेपालमै बसेर फुटबल खेलिरहेका नाइजेरियाका फरवार्ड मार्टिन्सले सातदोबाटोबाट ६ गोल गरेका थिए।
नाइजेरियाकै डिफेन्डर सेगुनसँग साविक विजेता मछिन्द्र तथा थ्रीस्टारबाट लिग खेलेको अनुभव छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपटकको लिगमा पाँच विदेशी खेलाडी राख्न पाउने र चार जनालाई मैदान उतार्न दिने भएपछि थ्रीस्टारले साउथ अफ्रिका, लेबनान र दक्षिण एसियाली राष्ट्रबाट थप तीन खेलाडी भित्र्याउने तयारी गरेको छ।
“नेपाली फुटबल लिगको माहोल यसपटक अलिक फरक छ। अघिल्लोपटकको लिग खेलेका ४०/४५ जना खेलाडी विदेश पलायन भइसकेका छन्। त्यसैले लिगलाई बचाइराख्न पनि विदेशी खेलाडीको खाँचो छ। क्लबसँग दुई विदेशी खेलाडी छन्। अन्य केही थपेर राम्रो टोली बनाउने छौँ,” प्रशिक्षक केसी भन्छन्।
‘ए’ डिभिजन लिगमा सहभागी हुने १४ क्लबकै अधिकांश खेलाडी मोफसलका प्रतियोगितामा व्यस्त छन्। कतिपय मोफसलमै बसेर लिगको तयारी गरिरहेका छन्। तर थ्रीस्टार भने उपत्यकामै बसेर टिम बनाउन र युवा खेलाडीको फिटनेस र खेल कौशल जाँच्नमा व्यस्त छ।
यद्यपि, टिम बनाउने चरणमै रहेको र युवा खेलाडीको स्तर पनि अहिल्यै मूल्यांकन गर्न सकिने अवस्था नरहेकोले यसपटक लिगमा थ्रीस्टारको लक्ष्य किटान गर्न नसकिने प्रशिक्षक केसीको भनाइ छ। “यसपटक सबै क्लबको स्तर उही छ। थ्रीस्टार भनेको सबैले आशा गर्ने टिम हो। टप सिक्स टार्गेट नै गर्ने भन्ने त हुँदैन, १०/१५ दिनको नतिजापछि टप फाइभ हुँदै उपाधि दाबेदारसम्म बन्न सक्छौँ,” उनी भन्छन्।
उत्साही खेलाडी, चिन्ता फिटनेसको
२०७५ देखि थ्रीस्टारबाट खेलिरहेका डिफेन्डर हुन् अशोक खवास। उनी युवा र अनुभवी खेलाडीको संयोजनबाटै टिम राम्रो हुने बताउँछन्। तर टीमका अधिकांश अनुभवी खेलाडी विदेश पलायन भएका कारण पनि युवा खेलाडीसँग मैदान उत्रिनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
“थ्रीस्टारमा अधिकांश युवा खेलाडी हुनुको पछाडि प्रशिक्षकको रणनीति पनि हुन सक्छ। तर धेरै खेलाडी विदेश गएको कारण सिनियर खेलाडीको अभाव छ। म फरक पुस्तासँग मैदान उत्रिन निक्कै उत्साहित छु,” उनी भन्छन्। यद्यपि, छोटो समयमा तयारी गर्नुपर्ने भएको कारण लिगका खेलहरूमा खेलाडीको फिटनेसले असर गर्न सक्ने उनको भनाइ छ।

“हाम्रो मात्रै होइन सबै क्लबको स्थिति उस्तै छ। एक महिना भनेको नराम्रो समय होइन। तर कतिपय खेलाडी वर्षभरि नखेली आएका छन्। रेस्टबाट आएका पनि छौँ। यो समय पर्याप्त नभएको कारण लिगमा केही असर गर्न सक्छ,” उनी भन्छन्। यद्यपि, सबै खेलाडीले मिहिनेत गरिरहेको भन्दै उनले आफूहरूको लक्ष्य उपाधि दाबेदारी प्रस्तुत गर्ने नै रहेको बताए।
डिफेन्डर पिटरले पनि युवा खेलाडीहरूसँग मैदान उत्रिन आफू उत्साहित रहेको बताए। “तयारी राम्रो चलिरहेको छ। लिगको लागि युवा खेलाडीसँगै सबैले कडा मिहिनेत गरिरहेका छन्,” उनी भन्छन्।
व्यस्त तालिका, ७२ घन्टामा तीन खेल
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने दुई खेलबीच खेलाडीलाई ७२ घण्टाको आराम दिइन्छ। एन्फाले भने लिग तीन महिनामै सक्ने गरी ७२ घण्टाभित्र तीन खेल अनिवार्य खेल्नुपर्ने तालिका बनाएको छ।
गत माग ७ गते सार्वजनिक गरेको पाँचौँ चरणसम्मको खेलतालिका अनुसार थ्रीस्टारले पहिलो चरणमा फागुन २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफसँग खेल्दै लिगको शुरूआत गर्ने छ। त्यसको तीन दिनपछि फ्रेन्ड्स क्लबसँग च्यासल मैदानमा थ्रीस्टारले दोस्रो खेल खेल्ने छ। तेस्रो खेल भने २६ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा नवप्रवेशी क्लब खुमलटारसँग खेल्ने छ।

त्यसपछि फागुन ३० गते दशरथ रंगशालमा सातदोबाटो र चैत ३ गते जावलाखेल युथ क्बलसँग एन्फा कम्प्लेक्समा खेल्ने छ। यसरी व्यस्त तालिका राख्दा घाइते हुने डर रहेको मिडफिल्डर ल्याकेन लिम्बु बताउँछन्।
सिंगापुरबाट लिग खेल्न आएका उनी थ्रीस्टारमा आबद्ध भएका छन्। लिगको तयारी राम्रो भए पनि व्यस्त तालिकाका कारण खेलाडीको प्रदर्शन प्रभावित हुने उनको आशंका छ।
“हामीसँग उमेर समूहमा खेल्ने खेलाडी धेरै छन्। तर व्यस्त तालिका छ। सबै खेलमा शतप्रतिशत दिन सक्दैनौँ। यसरी खेल्दा लिग नसकिँदै धेरै खेलाडी घाइते हुन्छन् जस्तो लाग्छ,” उनी भन्छन्।
तस्वीरहरू : किसन पाण्डे
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
