पीएसजीमै बस्लान् मेस्सी?

पीएसजीले मेस्सीलाई थप दुई वर्षको सम्झौता प्रस्ताव गर्ने तयारी गरेको छ। तर मियामीका प्रशिक्षक फिल नेभिलले पनि उनलाई भित्र्याउन चाहेको बताएका छन्।

काठमाडौँ– विश्वकप विजेता लिओनल मेस्सी पेरिस बसाइ लम्ब्याउने विषयमा भएको छलफल अनिर्णीत बनेको छ। मेस्सीका बुबा जर्जले बुधबार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का व्यवस्थापकसँग सम्झौता लम्ब्याउनबारे छलफल गरेका थिए। यद्यपि, बैठक निष्कर्षविहीन सकिएको पीएसजीका खेलकुद निर्देशक लुइस क्याम्पोले बताए।

उनका अनुसार अमेरिकी क्लब इन्टर मियामीले मेस्सीलाई समरमा अनुबन्ध गर्न सक्छ। डेभिड बेकह्यामले मियामी क्लबको स्थापना गरेका हुन्। उनले क्लब स्थापना गर्दै मेस्सीलाई भित्र्याएर अमेरिकामा आफ्नो ब्रान्ड बनाउने उद्घोष गरेका थिए।

मेस्सीको घर मियामीमा छ। उनी त्यहाँ नियमित बिदा मनाउन जान्छन्। गत महिना मियामीका प्रशिक्षक फिल नेभिलले विश्वको उत्कृष्ट खेलाडी भित्र्याउन चाहेको बताएका थिए। "हामी विश्वका उत्कृष्ट खेलाडीलाई क्लबमा ल्याउन चाहन्छौँ। मेस्सी उत्कृष्ट खेलाडी हुन्," उनले भनेका थिए।

मेस्सीले विश्वकप जितिसकेपछि पीएसजीले उनलाई क्लबमै राख्न हर सम्भव कोशिश गर्ने छ। पीएसजीले मेस्सीलाई थप दुई वर्षको सम्झौता प्रस्ताव गर्ने तयारी गरेको गोलडट्कमले जनाएको छ।

स्पेनिस क्लब बार्सिलोनाबाट झन्डै दुई दशकसम्म खेलेका मेसीले आर्थिक र सांस्कृतिक अवरोधका कारण 'नयाँ सम्झौतालाई औपचारिकता दिन' नसकेको क्लबले आधिकारिक विज्ञप्ति जारी गरेको थियो। त्यसपछि उनी रूँदै बार्सिलोना छाडेका थिए।

मेसी सन् २०२१ मा बार्सिलोना छाड्दै पीएसजीमा आबद्ध भएका थिए। दुई वर्षको सम्झौता गरेर पीएसजी भित्रिएका उनलाई थप एक वर्षको सम्झौता थप्ने विकल्प दिइएको थियो।

आफूले बार्सिलोनाबाटै करिअरको शुरूआत गरेको बताउँदै मेस्सीले सोही क्लबबाट करिअरको अन्त्य गर्ने बताएका थिए। अहिले मेस्सी र बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाबीचको सम्बन्ध सुधारमा रहेको बताइन्छ।