ताइवान मामिलापछि 'बेलुन घटना'ले बढायो चीन–अमेरिकाबीच तनाव

'बेलुन घटना'पछि चीन-अमेरिका सम्बन्ध थप चिसिएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले यही घटनाबारे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कुराकानी गर्ने भएका छन्।

पछिल्लो दुई सातायता अमेरिका र क्यानडा चीनसँग रुष्ट छन्। कारण हो, उनीहरूका आकाशमा भेटिएका बेलुन तथा अन्य अज्ञात वस्तुहरू। अमेरिकाका हवाइ, फ्लोरिडा, टेक्सास, गुआमका आकाशमा कम्तिमा चार वटा शंकास्पद वस्तु भेटिएका थिए। तीमध्ये एउटा बेलुन जसलाई चीनले जासुसीका लागि पठाएको अमेरिकाको दाबी छ भने, बाँकी वस्तु के हुन् भन्ने खुलेको छैन।

उत्तर अमेरिकी क्षेत्रमा खसालिएका तीनवटा शंकास्पद भनिएका ती वस्तुहरू भने जासुसीका लागि नभएको अमेरिकाले बताइसकेको छ। यसबारे अमेरिकी राष्ट्रपति जो बोइडेनले भनेका छन्, “अज्ञात वस्तुहरूबारे अझै केही थाहा छैन, तर यी चिज सही उद्देश्य राखेर पठाइएका होइनन्। चीनको जासुसी बेलुनसम्बन्धी कार्यक्रमअन्तर्गत नै अन्य मुलुकमा निगरानीका लागि पठाइएका सवारी जस्ता छन् यी वस्तु।”

पछिल्ला तीनवटा वस्तु कुनै निजी कम्पनीहरूका अनुसन्धान, मौसमी सूचना संकलन र अन्य वैज्ञानिक अनुसन्धानका लागि प्रयोग हुने खालका भएको अमेरिकी गुप्तचर समूहहरूको आकलन छ। अमेरिकी आकाशमा पहिलोपटक जासुसी बेलुन देखा परेकोबारे फेब्रुअरी २ मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रतिक्रिया दिएको थियो। तर त्यतिबेला चीन मौन बसेको थियो। केही सयमपछि मात्रै चीनले बेलुन आफ्नै भएको प्रतिक्रिया दिएको थियो। 

चीनले विज्ञप्तिमा भनेको थियो, “मौसमी सूचना संकलन तथा अनुसन्धानका लागि प्रयोग भएको यो एक नागरिक हवाईजहाज हो। दुर्घटनावश अमेरिकाको सीमा प्रवेश गरेकोमा क्षमा चाहन्छौँ।” तर अमेरिकाले चिनियाँ बेलुनलाई क्षेप्यास्त्र प्रहार गरी खसालेकोमा चीनको आपत्ति छ। चीनले यसलाई 'अन्तर्राष्ट्रिय हीत विपरीत'को कार्य भनेको छ।

यता, चिनियाँ मिडिया चाइना डेलीले 'बेलुनसम्बन्धी झूठा समाचार'ले चीनको साख गिराउन नसक्ने टिप्पणी लेखेको छ। ग्लोबल टाइम्सले पनि अमेरिकालाई चीनसँग सम्बन्ध सुधारमा ध्यान दिन सुझाएको छ।

यस्तै, अमेरिकी विदेशमन्त्री ब्लिकेनको चीन भ्रमण रद्द भएको विषयमा चिनियाँ अधिकारीहरूले “केही अमेरिकी राजनीतिक नेता र मिडियाले चीनको छवि धुमिल्याउन बेलुनबारे अनावश्यक बढाइचढाइ गरेको” आरोप लगाएका छन्।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबीनले चीनविरोधी सबै कदम तथा अवस्थालाई थप खराब बनाउने सबै कार्य तत्काल रोक्न अमेरिकालाई आग्रह गरेका छन्।

बेलुनसम्बन्धी विषयलाई अमेरिकाले गलत नियतले बढाइचढाई गरेको र राजनीतिक स्वार्थ राखेको भन्दै चिनियाँ विदेश मामिला कमिटीले पनि आपत्ति जनाएको छ। ‘चीनबाट जोखिम’ छ भन्दै अमेरिकाले नियतवश घटनालाई तन्काउने र बढाउने गरिरहेको कमिटीको आरोप छ।

ठूला वैज्ञानिक अनुसन्धानमा हाई अल्टिच्युड बेलुन उडाउने गरिन्छ। सन् २०१८ मा पनि अमेरिकाले यस्ता २ हजारभन्दा बढी बेलुन उडाएको ग्लोबल टाइम्सको दाबी छ। “अमेरिकाले गत मे महिनादेखि यस्तो थुप्रै बेलुन उडाइरहेको छ। अमेरिकी बेलुनहरू चीनको सिन्जियाङ र तिब्बतसहित थुप्रै स्थानमा १० भन्दा बढीपटक प्रवेश गरेका छन्,” चिनियाँ विदेश मन्त्रालयको दाबी छ।

अमेरिकी आकाशमा देखिएका बेलुन मात्रै हुन्?
फेब्रुअरी ४ मा बेरिङ समुद्रदेखि अमेरिकाको अलास्कातर्फको आकाशमा बेलुन देखियो। जसलाई क्यारोलाइना तटीय क्षेत्रमा क्षेप्यास्त्र हानेर खसालियो। करिब ९०० किलोग्राम वजन भएको र ६० मिटर अग्लो यो बेलुन एक क्षेत्रीय विमान जत्रो ठूलो भएको अमेरिकी अधिकारीहरूको भनाइ छ।

अमेरिकी संवेदनशील सैन्यक्षेत्रमा जासुसीका लागि चीनले बेलुन पठाएको अमेरिकाको आरोप छ। यस घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले आफ्नो बेइजिङ भ्रमण नै पछि सारेका थिए। फेब्रुअरी १० मा अलास्काकै आकाशमा सानो कार आकारको अर्को वस्तु ४० हजार फिटको उचाइमा उडिरहेको भेटिएपछि अमेरिकी सेनाले गोली हानी क्यारोलाइनाको दक्षिण क्षेत्रमा खसालिदिएको हो।

फेब्रुअरी ११ मा पुनः अमेरिका र क्यानडाको आकाशमा सानो र सिलिन्डर आकारको अर्को बेलुन देखा पर्‍यो। ४० हजार फिटको उचाइमा उडेको यो बेलुनलाई क्यानडाको सहयोगमा क्षेप्यास्त्र प्रयोग गरी युकोन क्षेत्रमा खसालिएको थियो।

फेब्रुअरी १२ मा अमेरिकी आकाशमा अर्को एक अज्ञात वस्तु भेटियो। क्यानडासँगको सीमा नजिकैको हुरोन तालमाथि उडिरहेका बेला अमेरिकाले गोली हानी खसालेको हो। २० हजार फिटको उचाइमा उडिरहेको शंकास्पद वस्तुका कारण यात्रुबाहक जहाजहरू जोखिममा परेको भन्दै राष्ट्रपति बाइडेनले त्यसलाई तत्काल खसाल्न निर्देशन दिएका थिए।

हालै अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो देशभित्र प्रवेश गरेका चिनियाँ बेलुनलाई क्षेप्यास्त्र प्रहार गरी खसालेकामा माफी नमाग्ने बताएका छन्। अमेरिकामा जासुसीका लागि चीनले बेलुन पठाएको उनको दाबी छ। साथै, बाइडेनले बेलुन घटनाबारे यसै महिना चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कुराकानी गर्नेसमेत बताएका छन्।

यस्ता चिनियाँ बेलुन तथा अज्ञात वस्तुले अमेरिका र क्यानडासँगै जापान, ताइवान, भारत, फिलिपिन्स, भियतनाममा वर्षौँदेखि निगरानी गरिरहेको वासिंटन पोस्टले लेखेको छ। ह्वाइट हाउसमा बोल्दै अमेरिकी उपविदेशमन्त्री विन्डी शेरमनले चीनले यी देशका सैन्य सम्पत्तिबारेका सूचना संकलन गरिरहेको बताइन्।

चीनले यस्ता जासुसी बेलनुहरू जापान र भारतसहित विभिन्न देशलाई लक्षित गरेर पठाएको द इकोनोमिक टाइम्सले लेखेको छ। चीनले विभिन्न देशको सार्वभौमिकता उल्लंघन गरेको अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीको दाबी छ।

ताइवानपछि ‘बेलुन घटना’ ले बढाएको दूरी
आफ्नो भूभागमा भएको दाबीसहित चीन ताइवानलाई गाभ्न चाहन्छ। तर ताइवाइन आफू एक स्वतन्त्र र सार्वभौम मुलुक भएको दाबीसहित चीनमा गाभिन चाहन्न। आर्थिक, विकास, सैन्य, सुरक्षासहित हरेक दृष्टिले चीन ताइवानभन्दा शक्तिशाली छ। चीनले ताइवानलाई बल प्रयोग गरेर भए पनि ल्याउने तयारीमा रहेको अमेरिकाको भनाइ छ। 

अमेरिकाले ताइवानको स्वतन्त्रताका लागि अन्तिम अवस्थासम्म साथ दिने प्रतिबद्धता गरेको छ। तर त्यसो नगर्न चीनले चेतावनी दिएको छ। ताइवान मामिलामा बीचमा नआउन चीनले अमेरिकालाई चेतावनी दिँदै आएको छ। आफ्नो भूभाग कुनै पनि हालतमा चीनमा गाभेरै छाड्ने चीनको अडान छ।

तर ताइवानमाथि आक्रमण गरे त्यसको प्रतिवाद गर्ने अमेरिकी प्रतिक्रिया छ। जसले गर्दा खराब बनेको चीन–अमेरिका सम्बन्ध पछिल्लो समय ‘बेलुन घटना’ले थप बढाएको छ।

ड्रोनको जमानामा जासुसी बेलुन?
बीबीसीसँगको अन्तर्वार्तामा अन्तर्राष्ट्रिय जासुसी संग्रहालयका इतिहासकार  एन्ड्रयु हामोदले बेलुनको प्रयोगबारे बयान गरेका छन्। उनका अनुसार पुरानो जमानामा चाहेका कुरा हेर्नका लागि कि त रुख, कि त हिमाल नै चढ्नुपथ्र्यो। सन् १७९४ मा फ्रान्सेली क्रान्तिका बेला अधिकांश युरोपेली देश फ्रान्सको विरुद्धमा थिए। तर फ्रान्सले माथिबाट हेरिरहेको थियो।

पछि सन् १८६० ताका अमेरिकी गृह युद्धका बेला पनि अब्राहम लिंकन निकै चलाख थिए। उनले बेलुनको आवश्यकता र प्रयोग देखे। लिंकनको सहयोगमा थाडियस लोवी युनियन सेनाका हवाई प्रमुख थिए र बेलुनको प्रयोग गरियो।

यस्तै, पहिलो र दोस्रो विश्वयुद्धमा पनि बेलुनहरू प्रयोग भए। पहिलो विश्वयुद्धमा हवाई जहाजहरू नयाँ प्रविधि भएकाले बेलुनकै प्रयोग बढी भयो। यस्तै, साना क्यामरा लगाइदिएर जासुसीका लागि परेवाहरू पनि प्रयोग भए। पछि दोस्रो विश्वयुद्धमा अत्याधुनिक तरिकाले फोटो नै खिच्ने विमान आए। क्यामराले  खेलको ढाँचा नै परिवर्तन गरिदियो।

त्यसपछि सन् १९५० देखि १९९० को शीतयुद्धमा सोभियत युनियन निकै कठिन निशाना थियो। त्यतिबेला मानवीय गुप्तचर परिचालन गर्न निकै कठिन देश थियो त्यो। यतिबेला पनि अमेरिकाले आकाशकै सहारा लियो। अमेरिकाले युएस–२ जासुसी विमान बनायो। स्याटेलाइटबाट पनि धेरै कुरा निगरानी गरियो।

यता, सन् २००० मा पुन ‘त्रासको युद्ध’शुरू भयो। यतिबेला नै ड्रोनको प्रयोगमा ठूलो सफलता मिलेको हो, तर दुखद् घटनाबाट। सन् २००१ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर, पेन्टागनलगायत विभिन्न स्थानमा इस्लामिक अतिवादी समूह अल कायदाले आक्रमण गरेको थियो।

पछि साना घामकिरा आकारका ड्रोन पनि बने। अहिले हामी आधुनिक युगमा छौँ जहाँ रिपर ड्रोनहरूको प्रयोग हुन्छ। तर अझै पनि विमान लिएर आकाशमा कैयौँ दिनसम्म उडिरहन सम्भव छैन। गुप्तचरको भाषामा एउटा भनाइ छ, 'प्लजिबल डिनाएबिलिटी।'

यदि अहिले चिनियाँ पाइलटसहितको चिनियाँ विमान हुन्थ्यो भने यो खेल खेलिरहन सम्भव हुँदैनथ्यो। आकाशमा उडाइएका कतिपय वस्तु के हुन् भनेर अझै पत्ता लागेका छैनन्।


विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा