‘मेस्सी तत्काल बार्सिलोना फर्किने सम्भावना छैन’

ला लिगाको आर्थिक नियम बाधक बनेपछि मेस्सीले सन् २०२१ मा बार्सिलोना छाडेका थिए।

तस्वीर : पञ्च

लिओनल मेस्सी तत्कालै क्याटलान क्लब बार्सिलोना फर्किने सम्भावना नरहेको उनका बुबा जर्ज मेस्सीले बताएका छन्। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँग मेस्सीको सम्झौता यही जुनमा समाप्त हुँदैछ।

"उनी अहिले नै बार्सिलोना फर्किन्छन् जस्तो मलाई लागेको छैन," जर्जले भने, "त्यहाँ सर्तहरू धेरै छन्।" बार्सिलोनामा २१ वर्षे लामो करिअर अन्त्य गरेर मेस्सी सन् २०२१ मा पीएसजी भित्रिएका थिए। पीएसजीसँग उनले २ वर्षको सम्झौता गरेका थिए। यस्तै, मेस्सीलाई तेस्रो वर्ष पनि पेरिसमै बस्ने विकल्प दिइएको थियो।

अहिले मेस्सी पुनस् बर्सिलोना फर्किने चर्चा चल्न थालेको छ। यद्यपि, जर्जले अहिले नभए पनि पछि मेस्सी क्याटालोनिया फर्कने सम्भावना रहेको बताए। "मलाई थाहा छैन, जीवनले धेरै मोड लिन सक्छ," उनले थपे। ला लिगाको आर्थिक नियम बाधक बन्दा ६ पटकका बालोन डि ओर अवार्ड विजेता मेस्सीले बार्सिलोना छाड्नुपरेको थियो। मेस्सी १३ वर्षको उमेरमै बार्सिलोनामा आबद्ध भएका थिए।

सन् २००० मा बार्सिलोनामा आबद्ध भएका उनले ला मासियाको युथ एकेडेमी हुँदै २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए।

मेस्सीले बार्सिलोनाबाट ७७८ खेलमा ६७२ गोल गरेका छन्। उनी बार्सिलोना र ला लिगाका कीर्तिमानी गोलकर्ता पनि हुन्। उनले बार्सिलोनामा १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित कुल ३५ वटा उपाधि जितेका थिए।

मेस्सीले पीएसजीबाट यस सिजनमा २४ खेलहरूमा १५ गोल गरेका छन्। यस्तै, १४ गोलमा सहयोग गरेका छन्। नेयमार, केलियन एमबाप्पे लगायतका स्टारहरूले भरिएको पीएसजी यसवर्ष लयमा देखिएको छैन। गत हप्ता पीएसजी मोनाकोसँग ३(१ गोलअन्तरले पराजित भएको थियो। त्यसअघि मार्सेलसँग २–१ गोलअन्तरले पराजित भएको थियो।

यस्तै, यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पनि पीएसजी जर्मन क्लब बार्यन म्युनिखसँग घरेलु मैदानमा १–० गोलअन्तरले पराजित भएको थियो। पीएसजीलाई हराउन बायर्नका किंग्सले कोमनले निर्णायक गोल गरेका थिए।

दोस्रो लेगमा पीएसजी र बार्यन मार्च ८ मा जर्मनीमा आमनेसामने हुनेछन्।