युक्रेनको आकस्मिक भ्रमण गरेका बाइडेनको अन्तिमसम्म साथ दिने प्रतिबद्धता

किभ भ्रमणका क्रममा बाइडेनले जेलेन्स्कीसँगै मिखाइलोभ्स्की स्क्वायर, मरिन्स्की दरबार र युक्रेनी राष्ट्रपतिको सरकारी आवासीय क्षेत्रको भ्रमण गरेको बताइएको छ।

युक्रेनको आकस्मिक भ्रमण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी जनतालाई अन्तिमसम्म साथ दिने प्रतिबद्धता जनाएका छन्। बाइडेनले रुससँगको लडाइँमा युक्रेनले शक्तिशाली प्रतिरक्षा गरिरहेको भन्दै प्रशंसासमेत गरेका छन्।

युद्धग्रस्त युक्रेनमा बाइडेनको भ्रमणले युक्रेनी नागरिकप्रति अमेरिकाको निरन्तरको साथलाई दर्शाएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। भ्रमणका क्रममा बाइडेनले युक्रेनलाई थप ५० करोड डलरबराबरको हतियार तथा सामग्री सहयोग गर्ने घोषणा गरे।

युक्रेनको भ्रमण गर्ने हल्ला चलेको केही समयमै बाइडेन युक्रेनको राजधानी किभमा पुगेका हुन्। अकस्मात् बाइडेन किन किभ पुगे स्पष्ट छैन। यद्यपि, बाइडेनको भ्रमणअघि नै वासिंटनले किभमा आक्रमण हुने/नहुनेबारे रुससँग आधारभूत सूचना लिइसकेको र सम्भावित जोखिमबाट बच्ने तयारी गरेपछि मात्रै त्यहाँ पुगेको बताइएको छ।

उनको भ्रमणलगत्तै युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले “जोसेफ बाइडेन किभमा स्वागत छ, तपाईंको भ्रमण सबै युक्रेनी नागरिकप्रति समर्थनमा अत्यन्तै महत्त्वपूर्ण संकेत हो” भन्दै टेलिग्राममा सन्देश लेखेका थिए।

किभ भ्रमणका क्रममा बाइडेनले जेलेन्स्कीसँगै मिखाइलोभ्स्की स्क्वायर, मरिन्स्की दरबार र युक्रेनी राष्ट्रपतिको सरकारी आवासीय क्षेत्रको भ्रमण गरेको बताइएको छ।

दुई समकक्षीबीच रूसी आक्रमण र यसको जोखिमको अवस्थाबारे कुराकानी भएको बताइएको छ। यस्तै, लामो दूरीका हतियार र युक्रेनमा ढुवानी गर्न बाँकी रहेका हतियारबारे पनि बाइडेनसँग कुराकानी भएको जेलेन्स्कीले बताए। तर, अन्य प्रतिबद्धताबारे जेलेन्स्कीले खुलाएनन्।

बाइडेनले “युक्रेन अटल रहन्छ। प्रजातन्त्र रहन्छ र अमेरिकासहित सारा विश्व युक्रेनको पक्षमा उभिएको छ” भनेका थिए।

रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा हुनै लाग्दा बाइडेन पहिलोपटक युक्रेनको भ्रमणमा निस्किएका हुन्। आगामी फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेको एक वर्ष पूरा हुँदैछ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द गार्डियनका अनुसार कुनै पनि अमेरिकी सैन्य शिविर नभएको युद्धग्रस्त क्षेत्रमा अमेरिकी राष्ट्रपति पुगेको यो पहिलोपटक हो। यसअघि युद्धग्रस्त मुलुक इराक र अफगानिस्तानमा अमेरिकी राष्ट्रपतिहरू पुगे पनि युक्रेनमा बाइडेन जानु भनेको सन् १९६३ को शीतयुद्धताका तत्कालीन राष्ट्रपति जोन एफ केनेडी बर्लिन गएजस्तै भएको द गार्डियनले लेखेको छ।

लामो योजनाबाट मात्र सम्भव भएको जस्तो देखिने बाइडेनको किभ भ्रमणका बेला त्यहाँका महत्त्वपूर्ण सडक र शहरका मध्य क्षेत्रहरू बन्द गरिएको बताइन्छ।

बाइडेन किभबाट आजै पोल्यान्डको तीनदिने भ्रमणमा निस्किने बीबीसीले जनाएको छ। यसैबीच, ब्रसेल्समा बस्ने युरोपेली विदेशमन्त्रीस्तरीय बैठकले युक्रेनी सेनासँग पर्याप्त गोला बारुद भए/नभएको विषयमा छलफल गर्ने तयारी गरेको बीबीसीले उल्लेख गरेको छ।