केपी ओली कप : मछिन्द्र सेमिफाइनलमा

मछिन्द्रले फाइनल प्रवेशका लागि सोमबार केपी एफसी र जावलाखेल युथ क्लबको विजेतासँग खेल्ने छ।

काठमाडौँ– मछिन्द्र क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार सम्पन्न खेलमा चर्च ब्वाइजलाई २-१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको हो।

मछिन्द्रका कप्तान सुजल श्रेष्ठ र रञ्जित धिमालले गोल गरे। एक गोल भने आत्मघाती भएको थियो। खेलको १६औँ मिनेटमै सुजलले फ्रिकिकमार्फत गोल गरेका थिए। डिबक्स बाहिर चर्च ब्वाइजका रक्षक अनोस मगरले फाउल गरेपछि रेफ्रीले मछिन्द्रले फ्रिकिकको मौका पाएको थियो।

४०औँ मिनेटमा रञ्जित धिमालले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए। गगनदीप सिंहले चेग गर्न नसकेको बललाई रञ्जितले गोलमा परिणत गरेका थिए।

६५औँ मिनेटमा चर्च ब्वाइजले खेलमा फर्किने मौका प्राप्त गरेको थियो। रक्षक छिरिङ गुरुङले बललाई फिल्प गरेर बचाउने प्रयास गरेका थिए। तर, उक्त बल आफ्नै पोस्टमा छिरेको थियो।

जारी प्रतियोगितामा यो दोस्रो आत्मघाती गोल हो। शुक्रबार नै सम्पन्न पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)का कप्तान विक्रम धिमालले आत्मघाती गोल गरेका थिए।

मछिन्द्रले फाइनल प्रवेशका लागि सोमबार केपी एफसी र जावलाखेल युथ क्लबको विजेतासँग खेल्ने छ। यी दुई टोलीको खेल शनिबार दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने छ।