ठगी रोक्न भन्दै सुनसरी प्रशासनले गर्‍यो कार्यालय प्रवेशमा कडाइ

सुनसरी प्रशासनले सेवाग्राहीलाई ध्यान दिँदै कार्यालयभित्रबाटै निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ।

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारणमाथि भइरहेको ठगी नियन्त्रण गर्न भन्दै अत्यावश्यक काम लिएर आउनेबाहेका व्यक्तिलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

सेवा सहजीकरणको नाममा विभिन्न फर्म आबद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै प्रशासनले त्यस्ता फर्मका प्रतिनिधिलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

सुनसरी प्रशासनका अनुसार कार्यालयबाहिर खुलेका फर्म र ती फर्ममा आबद्ध व्यक्तिहरूले सर्वसाधारणबाट चर्को शुल्क असुलेर ठगी गरेको पाइएकाले सेवाग्राहीको हितका लागि कार्यालय प्रवेशमा कडाइ गरिएको हो।

लेखापढी आबद्ध फर्मले सर्वसाधारणबाट फोटोकपीदेखि निवेदन, लिखित, हुलाक टिकट र अनलाइन फारमबापत चर्को शुल्क लिने गरेको प्रशासनको भनाइ छ। सुनसरी प्रशासनले सेवाग्राहीलाई ध्यान दिँदै कार्यालयभित्रबाटै निःशुल्क सेवा प्रवाहको बन्दोबस्त मिलाएको समेत जनाएको छ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निःशुल्क उपलब्ध रहने सबै सेवा सोझै कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कबाट प्रदान हुने बताइन्। जसका लागि कुनै फर्म वा कसैको सहजीकरण आवश्यक नपर्ने पाण्डेको भनाइ छ। उनले जिल्ला प्रशासनबाट दिन सक्ने सेवा जिल्ला प्रशासनबाट नै दिने र बाहिर भइरहेको अनियमितता रोक्न पहल थालेको बनाइन्।

यता, प्रशासनको कडाइपश्चात् लेखापढी व्यवसायीले भने आफूहरूको रोजीरोटी खोसिएको भन्दै विरोध जनाएका छन्। उनीहरूले निश्चित शुल्क लिएर आफूहरूले काम गर्न पाउनुपर्ने माग राखेका छन्।