सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले प्राप्त गरे विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्।

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेस गरेको विश्वासको मतको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको हो।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे। नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका शाह माघ २६ गते संविधानको धारा १६८ को उपधारा(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। 

सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय रहेको छ। मुख्यमन्त्री शाहलाई कांग्रेससहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले विश्वासको मत दिए। उनलाई नेकपा एमाले र राप्रपाले विश्वासको मत दिएन।

एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। त्यसपछि शाह प्रदेशसभाको सबैभन्दा ठूलो पार्टीको संसदीय दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका थिए।