यस्तो क्याफे जहाँ सर्प र छेपारोसँग खेल्न पनि पाइन्छ

सामान्यता डरलाग्दा र घृणा लाग्ने जनावरका रूपमा चिनिने यी जीवबारे जागरण ल्याउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो। 

मलेसियाको राजधानी क्वालालम्पुर नजिकै एउटा यस्तो क्याफे छ, जहाँ सर्प र छेपारोसँग खेल्दै खानाको मज्जा लिन पाइन्छ।

स्थानीय याप मिङ याङले यस्तो क्याफे सञ्चालन गरेका हुन्। घस्रने जीवजन्तु मन पराउने उनले आफ्नो क्याफेमा यस्तो सुविधा राखेका हुन्। क्याफेभित्र ठूला सिसाका भाडामा राखिएका यी जीव हेर्दै खानाको मज्जा लिन सकिन्छ। यी जीवलाई छुन र समाएर खेल्न पनि सकिने याङले बताए।

वातावरण विज्ञानको डिग्री लिएका उनी मलेसियाको घस्रने जीव अध्ययन समुदायका सदस्य पनि हुन्। सामान्यता डरलाग्दा र घृणा लाग्ने जनावरका रूपमा चिनिने यी जीवबारे जागरण ल्याउने उद्देश्यले क्याफे सञ्चालनमा ल्याइएको हो। प्राकृतिक विविधताले सम्पन्न मलेसियामा यस्ता जीवहरूको महत्व जान्नु आवश्यक रहेको उनको भनाइ छ।

“सामान्यता मानिसहरू कुकुर बिरालोजस्ता रौँ भएका जनावर पाल्न रुचाउँछन् तर सर्प र यी घस्रने जीव पनि निकै आकर्षक हुन्छन्,” उनले भने, त्यसैले मैले यो अवधारणा ल्याएको हुँ।” मलेसियाको एक मिठाई कम्पनीले पनि यसको फ्रेन्चाइज लिएको याङले बताए।