खानेपानी, बिजुली र बाथरुमका समस्या घरमै आएर सुल्झाइदिने ‘तुरुन्त’

खानेपानीका पाइप र धारादेखि बाथरुममा आउने समस्या तथा विजुली लगायतका समस्या समाधानका लागि नेपालगञ्जमा ‘तुरुन्त’ सेवा शुरू भएको छ।

नेपालगञ्ज– खानेपानी आउने धारा, बाथरुम र बिजुलीका सामान प्रयोग गर्दा भोग्ने समस्या झट्ट हेर्दा सानै लाग्छन्। तर, ती समस्याले प्रत्येक घरलाई पिरोलिरहेका हुन्छन्। यही समस्यालाई ध्यानमा राखेर नेपालगञ्जमा ‘तुरुन्त’ सेवा शुरू भएको छ।
घर, कार्यालय, होटेल तथा रेस्टुरेन्ट जहाँ पनि यस्ता समस्या आउँदा तत्कालै मर्मत सेवा दिनेगरी ‘तुरुन्त’ले सोमबारदेखि सेवा शुरू गरेको यसका संस्थापक एवं सञ्चालक ऋषि पोखरेलले बताए। 

खानेपानीका पाइप र धारादेखि बाथरुममा आउने समस्या तथा विजुली लगायतका समस्या समाधानका लागि तत्काल बाँके जिल्लाभर सेवा दिने तयारी गरिएको उनले बनाए।

यस्ता समस्या आउँदा जोकोहीले टेलिफोन वा सामाजिक सञ्जालको माध्यमबाट सम्पर्क गर्ने व्यवस्था गरिएको छ। “समस्याको जानकारी पाएमा तुरुन्तको टिम तत्काल जिल्लाको कुनै पनि भू–भागमा पुग्न सक्नेगरी तयारी गरेका छौँ,” पोखरेलले भने। 

नेपालगञ्जमा ‘तुरुन्त’ले कोरोना महामारी अगाडि नै सेवा शुरू गरेको थियो। तर, महामारीसँगै लकडाउनपछि सेवा बन्द गरेको थियो। कोरोना महामारी नियन्त्रणमा आएपछि नयाँ योजना र विस्तारित खाकासहित सेवा शुरू गरिएको पोखरेलले बताए।