शहरबाट फर्किएर कृषि व्यवसायमा जम्दै सुमन

दिक्तेल रुपाकोट मझुवागढी–१४ का सुमनले राईले ९७ रोपनीमा कागती र २२ रोपनीमा लिची लगाएका छन्। राँगा, सुँगुर र बाख्रासमेत पालेका छन्। 

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुमन राईले २०७२ सालसम्म काठमाडौँमा होटल व्यवसाय गरे। सिनामंगलमा ‘होटल कल्पवृक्ष’ सञ्चालन गरेका उनको मासिक आम्दानी दुई लाख रुपैयाँसम्म थियो।

छोराछोरी पढाउने उद्देश्यले २०६३ सालमा श्रीमती सवितासँगै काठमाडौँ गएका थिए। २०७२ वैशाखमा गएको भूकम्पपछि गाउँ फर्किए। अहिले उनी बुइपास्थित छिप्तीमा कृषि व्यवसायमा जमेका छन्। यलम्बर नमुना कृषि फार्म दर्ता गरेका छन्। पहिलो चरणमा २० लाख रुपैयाँ लगानी गरेर ७२ रोपनीमा कागती रोपे। आफ्नै खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार १०० वटा कागतीको बिरुवा रोपेका छन्।

गोडमेल गर्न मासिक १५ हजार रुपैयाँ तलब दिएर दुई जनालाई जागिरसमेत दिएका छन्। आवश्यक पर्दा अन्य कामदारसमेत लगाउँछन्। बजारमा कागती प्रतिकिलो १५० देखि २०० रुपैयाँसम्ममा बिक्री हुने गरेको सुमनले सुनाए। “दिक्तेल बजार र काठमाडौँमा बिक्री हुने गरेको छ,” उनले भने, “उत्पादन दिन थालेको पहिलो वर्ष एक हजार २०० किलो कागती बिक्री भयो । यस वर्ष टिप्न बाँकी छ। विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ।”

फार्ममा हाल सबै बोट सेताम्मे भएर फुल्न थालेका छन्। केहीमा लटरम्म फलेका फल टिप्न बाँकी छ। टिप्न ढिला भएका कारण केही फल भुईँमा झर्न थालेका छन्। कामदारलाई फल टिप्न, गोडमेल गर्न, पानी तथा मल हाल्न भ्याइन भ्याइ छ। हावापानीको हिसाबले शहरभन्दा गाउँ राम्रो भएकाले पुनः गाउँ फर्किएर कृषि व्यवसाय शुरू गरेको सुमनको भनाइ छ।

“शहरमा गरिने दुःख आफ्नै गाउँमा गर्दा आनन्द आउँदो रहेछ,” उनले भने, “गाउँमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो राखेर अर्काको ठाउँमा परिश्रम गर्नुभन्दा आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले  फर्किएको हुँ।” जग्गाजमिन पर्याप्त भएका राई दम्पतीले व्यावसायिक खेतीसँगै राँगा, सुँगुर र बाख्रासमेत पालेका छन्।

यस वर्ष थप २५ रोपनीमा कागतीका नयाँ बिरुवा रोप्ने तयारी गरेका छन्। अहिलेसम्म एक करोड रुपैयाँ लगानी भइसकेको सुमनको भनाइ छ। “कागतीसँगै लिची र कफीको समेत व्यावसायिक खेती थालेका छौँ,” उनले भने, “तीन वर्षअघि २२ रोपनीमा क्षेत्रफलमा लगाएको लिचीसमेत फल्न थालेको छ। यस वर्ष कफीको चार हजार बिरुवा रोप्ने तयारी छ।” 

छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यस वर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको हिमाली कफी उत्पादक कृषक समूहका अध्यक्षसमेत रहेका सुमनले भने। “एक जनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव छैन। समूहमा १५ परिवार आबद्ध छौँ। सबैले उत्पादन थाले भने कम्तीमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ”, उनले भने, “प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ। थोरै उत्पादन बाहिर पुर्‍याउन सकिन्न। त्यसैले सबैले मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यस पटक निःशुल्क बिरुवा वितरण गर्न लागेका छौँ।”

कृषिका लागि उर्वरभूमि बुइपाका प्राय हरेक घर स्थानीय बासिन्दा केही न केही व्यावसायिक कृषि पेशामा जोडिएका छन्। एक हजार १३७ परिवारको बसोबास रहेको बुइपाका बासिन्दा लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवं भैँसीपालन व्यवसायमा जोडिएका हुन्। 

कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सामुदायिक वनमा व्यावसायिक रूपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडाध्यक्ष दिनेश राईले बताए। “सार्की डाँडामा यसअघि नै ‘चम्पावती फुड्स फरेस्ट एन्ड रिसोर्ट’ निर्माणको काम शुरू गरिएको थियो,” उनले भने, “यो आर्थिक वर्षबाट बुइपाका सबै सामुदायिक वनमा कफी र एभोकाडोको व्यावसायिक खेती सञ्चालन गर्ने योजना बनाएका छौँ।”

कृषिलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले समेत व्यावसायिक कृषि पेशा अपनाउने कृषकलाई अनुदान दिने व्यवस्था गरेको छ। १५ वटा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेट क्षेत्र निर्धारण गरेर कृषिमा लगानी गर्ने योजना रहेको वडाध्यक्ष राईले बताए।