उपराष्ट्रपतिमा प्रमीला यादव र ममता झाको पनि उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा पदका लागि जसपाबाट प्रमीला यादव र जनमत पार्टीका तर्फबाट ममता झाले पनि उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौँ— उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) की प्रमीलाकुमारी यादवले उम्मेदवारी दिएकी छन्।

उनको प्रस्तावकमा रन्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई, मनिष सुमन रहेका छन्। यादव राष्ट्रियसभा सदस्य हुन्। 

यस्तै, जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी छन्। उनीहरूले शनिबार दिउँसो संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्।

यसअघि सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उम्मेदवारी दिएका छन्।

त्यस्तै, नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ। आयोगले चैत ३ गतेलाई उपराष्ट्रपतिको निर्वाचन तय गरेको छ।