शिक्षण अस्पतालसँग बर्सेनि १० देखि १५ जनामा कलेजो प्रत्यारोपण गर्ने क्षमता छ, तर ३ वर्षमा ९ जनाको प्रत्यारोपण भयो। गरिबी, कलेजोबारे जनचेतना र नेपालमा हुने उपचारको जानकारी नहुँदा बिरामी नै पुग्दैनन्।
काठमाडौँ– “शिक्षण अस्पतालका डा. रमेशसिंह भण्डारीबारे बेलैमा थाहा पाउन सकेनौँ, थाहा पाउँदा मेरो श्रीमानको उपचारका लागि निजी अस्पतालमा धेरै खर्च भइसकेको थियो। उहाँलाई भेटेपछि नेपालमै कलेजो प्रत्यारोपण गराउन सकियो,” नैना लामा भन्छिन्।
डेढ वर्षअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनका श्रीमान् सागर लामाको कलेजो प्रत्यारोपण भएको थियो। प्राडा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण गरेको थियो।
कोरोना महामारीले देशभर लकडाउन गरिएको बेला नैना भने श्रीमानको उपचारका लागि दौडधूपमा थिइन्। शुरूका १० दिन श्रीमानलाई मेडिकेयर अस्पतालमा जाँच गराइन्। कहिल्यै मदिरा सेवन नगर्ने श्रीमानको कलेज बिग्रिएको रिपोर्ट आउँदा आफू अचम्मित भएको उनी बताउँछिन्। रगतमा आइरनको मात्रा बढी भएर कलेजोमा असर गरेको थाहा पाएको उनको भनाइ छ।
मेडिकेयरमा उपचार नहुने भएपछि नैनाले श्रीमानलाई नर्भिक अस्पताल लगिन्। करिब एक महिना बिरामी भर्ना गरेर राखिन्। यी दुई अस्पतालमा आफ्नो करिब ५० लाख रुपैयाँ सकिएको उनी बताउँछिन्।
नर्भिकका डा. सुधाम्शु केसीले शिक्षण अस्पतालका कलेजो प्रत्यारोपणविज्ञ डा. भण्डारीबारे बताए। त्यसपछि नैनाले शिक्षण अस्पताल पुगेर भण्डारीसँग भेटघाट गरिन्। “टिचिङ अस्पताल लैजाँदासम्म श्रीमानको अन्तिम अवस्था भइसकेको थियो,” नैना भन्छिन्, “डा. भण्डारीको समूहले एक महिनासम्म चेकजाँच र उपचार गराएपछि तागत हराएको शरीरमा नयाँ उर्जा थपियो।”
त्यसपछि डा.भण्डारी नेतृत्वको टोलीले सागरको कलेजो प्रत्यारोपण गर्ने तयारी गर्यो। श्रीमानसँग रक्त समूह मिलेपछि नैना नै दाता भइन्। कलेजो दान गरेको एक हप्तामै नैना सामान्य दैनिकीमा फर्किइन्। श्रीमानले भने औषधि सेवन गरिरहनुपर्छ। उनीहरू दोलखाको मुडेमा होटल व्यवसाय गर्छन्।
आर्थिक अभावले हुन सकेन प्रत्यारोपण
चन्द्रागिरी नगरपालिका–६ का ३८ वर्षीय श्यामसुन्दर बलामीलाई कलेजो दिन श्रीमती र दुई छोरा तयार छन्। तर आर्थिक अभावका कारण प्रत्यारोपण गराउनै सकेका छैनन्।
बलामीले दुई वर्षअघि कलेजोमा खराबी भएको थाहा पाएका थिए। “शुरूमा त छाँगाबाट खसेझैँ भएँ”, उनी भन्छन्, “प्रत्यारोपणको लागि भारत जानु पर्छ भन्ने सुन्दै आएको थिएँ। मनमा अनेक प्रश्न उब्जिए।”
नेपालमै प्रत्यारोपण हुन्छ भन्ने सुनेपछि केही राहत अनुभव भएको उनी बताउँछन्। तर करिब ३५ लाख लाग्ने डाक्टरले बताएपछि त्यति रकम जोहो गर्न नसक्दा प्रत्यारोपण नभएको उनी बताउँछन्।
२०–२२ दिन अस्पताल बसेर गत वर्ष चैतमा घर फर्कदा उनलाई स्वास्थ्यमा सुधार भएको महसुस भएको थियो। उनी अहिले पनि औषधि सेवन गरिरहेका छन्। प्रत्यारोपण गर्न पाए निको हुनेमा आशावादी छन्, तर पुर्खौली सम्पति बेच्नुबाहेक विकल्प नभएको बताउँछन्। “भएको सम्पत्ति बेच्दा हुर्किएका दुई छोराको भविष्य के हुन्छ होला भन्ने चिन्ता लाग्छ,” उनले भने।
औषधि र प्रत्यारोपणका लागि आफूहरूजस्तालाई सरकारले सहुलियत दिनुपर्ने उनी बताउँछन्।
तीन वर्षमा नौ जनामा प्रत्यारोपण
२०७६ सालमा शिक्षण अस्पताल महाराजगन्जमा पहिलोपटक पदमबहादुर शाहीको कलेजो प्रत्यारोपण भएको थियो। उनलाई छोरी पुर्णी शाहीले कलेजो दिएकी थिइन्।
२०७७ फागुन २९ गते ११ महिनाका सरिस पहरीको कलेजो प्रत्यारोपण भएको थियो। शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गरिएका पहिलो शिशु सरिसलाई पिता सन्तोषले कलेजो दान दिएका थिए।
गएको पुस ३० गते ५२ वर्षीय नन्दराज खनालको कलेजो प्रत्यारोपण भयो। उनलाई १९ वर्षीय छोराले कलेजो दिएका थिए। शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने नवौँ बिरामी थिए नन्दराज। तीन वर्षमा नौ जनाको कलेजो प्रत्यारोपण गरिएको र सबै सफल भएको डा.भण्डारी बताउँछन्।
कलेजो प्रत्यारोपणले गति भने लिन सकेको छैन। “पहिलो वर्ष चार जनामा कलेजो प्रत्यारोपण भयो,” डा. भण्डारी भन्छन्, “त्यसपछि कोभिड शुरू भयो। जुन गतिमा हामी लागेका थियौँ, त्यसमा कोभिडले ब्रेक लगाइदियो।”
कोरोनाको दोस्रो लहरमा दुई जनाको मात्र कलेजो प्रत्यारोपण भएको उनी बताउँछन्। प्रत्यारोपण गर्नुपर्ने पाँच जना बिरामी रहेको र तयारी भइरहेको उनले बताए।
दक्ष चिकित्सकको टिम, पर्याप्त उपकरण र सुविधा हुँदा पनि कलेजो प्रत्यारोपणका लागि कम मात्र बिरामी आइरहेको डा. भण्डारी बताउँछन्। बिरामीको परिवारको कमजोर आर्थिक अवस्था तथा जनचेतना र उपचारसम्बन्धी जानकारी अभावले पर्याप्त प्रत्यारोपण हुन नसकेको उनको भनाइ छ। प्रत्यारोपणका लागि २५ देखि ३५ लाख रुपैयाँ खर्च हुने उनी बताउँछन्। बिरामीले सेवन गर्नुपर्ने औषधिअनुसार रकम फरक पर्ने उनले जानकारी दिए।
वीर अस्पतालका डा. दिलीपप्रसाद शर्मा आफूले जाँच गरेकामध्ये २० देखि २५ प्रतिशत बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने, तर पाँच प्रतिशतले मात्र गराइरहेको बताउँछन्। कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र वा शिक्षण अस्पताल रेफर गरिन्छ। “कम मात्र प्रत्यारोपण हुनुको मुख्य कारण गरिबी हो। कलेजो र प्रत्यारोपणसम्बन्धी जनचेतना, दान दिने मान्छेबारेको चेतनालगायत कारण पनि संख्या कम भएको हो,” डा.शर्मा भन्छन्।
पैसा खर्च गर्न सक्ने भए पनि कतिपय बिरामीहरूले दाता पाउँदैनन्। दाता पाउँदा पनि कतिसँग रक्त समूह नमिल्ने र कतिपयको कानूनले नमिल्ने कारण प्रत्यारोपण हुन नसक्ने शिक्षण अस्पतालका डा. भण्डारी बताउँछन्। “सबै मिलेपछि सिटी स्क्यान गर्दा कतिपय दाताको कलेजो आधा गर्न नमिल्ने हुन्छ। कतिपयको अन्मित चरणमा दाता डराएर कलेजो दिन मान्दैनन्। त्यसकारण प्रत्यारोपणले गति लिन सकेको छैन,” उनी भन्छन्।
जनचेतनाको अभावका कारण पनि कलेजो प्रत्यारोपणले गति नलिएको डा. भण्डारी बताउँछन्। शहरमा बस्ने र सञ्चारमाध्यममा पहुँच भएकाले पनि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने थाहा नपाएको उनको भनाइ छ। जसकारण आर्थिक अवस्था राम्रो भएका बिरामी भारत वा अन्य देश जान्छन्।
डेढ वर्षअघि शल्यक्रिया गरेका सागर पनि निजी अस्पतालमा उपचार हुन नसक्ने भएपछि भारत जाने तयारी गरिरहँदा शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने जानकारी पाएको बताउँछन। “नेपालका सरकारी अस्पतालमा यति राम्रो सुविधा र काउन्सिलिङसहितको प्रत्यारोपण हुने रहेछ”, उनी भन्छन्, “म पहिला निजी अस्पताल नै जान्थेँ, सरकारीमा विश्वास लाग्दैन थियो। तर मेरो ज्यान त सरकारी अस्पतालले जोगाइदियो।”
वार्षिक रूपमा करिब २०० बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने डा. भण्डारी बताउँछन्। शिक्षण अस्पतालमा एक वर्षमा १० देखि १५ जनालाई कलेजो प्रत्यारोपण गर्न सक्ने क्षमता छ। क्षमताअनुसार कलेजो प्रत्यारोपण हुन सकेको छैन।
नेपालमा ६ वर्षअघि मानव अंग प्रत्यारोपण केन्द्रबाट कलेजो प्रत्यारोपण शुरू भएको थियो। अहिलेसम्म मानव प्रत्यारोपण केन्द्र र शिक्षण अस्पतालमा ९–९ तथा चितवन मेडिकल कलेजमा चार गरी २२ जनाको कलेजो प्रत्यारोपण गरिएको छ।
कसरी हुन्छ कलेजो प्रत्यारोपण?
प्रत्यारोपणका लागि दाताको शरीरमा भएको कलेजोको करिब बढीमा ७० प्रतिशतसम्म भाग काटिन्छ। त्यसपछि दाताको कलेजो बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ।
प्रायः कलेजोमा सिरोसिस देखिएपछि प्रत्यारोपण नै अन्तिम विकल्प हुने डा. भण्डारी बताउँछन्। कलेजो सिरोसिस हुँदा पेट फुल्ने, शरीरमा पानी जम्ने, खुट्टा सुनिने, मुख सुनिने, आँखा पहेँलो हुने, शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने, रगत बग्नेलगायत लक्षण देखिन्छ।
अत्यधिक मद्यपान कलेजोमा रोग लाग्नुको प्रमुख कारण भएको डा. भण्डारी बताउँछन्। शिक्षण अस्पतामा भएका नौ वटा प्रत्यारोपणमध्ये ६ जनाको कलेजोको समस्या मदिरा सेवनका कारण भएको थियो। दुई जनामा जन्मजात र एक जनामा वंशाणुगत रोग थियो।
“लिभर सिरोसिसमा रक्सी सेवन प्रमुख कारण हो। कहिलेकाहीँ फ्याट लिभर डिजिज (कलेजोमा बोसो हुने) भइरहेको हुन्छ, रक्सी सेवनले झनै समस्या पैदा गर्छ,” उनी भन्छन्, “बच्चाहरूमा भने यो रोग जन्मजात हुने गर्छ।”
कलेजो यस्तो अंग हो, जसको आधा भाग लगाउँदा पनि काम गर्छ। कलेजोमा शरीरका विभिन्न नसा जोडिएका हुन्छन्। ती नसाहरूलाई जोगाउँदै एउटा कलेजोको ५० देखि ७० प्रतिशतसम्म भाग काटेर प्रत्यारोपण गर्न सकिने डा. भण्डारी बताउँछन्। बालबालिकको हकमा भने दाताको २० प्रतिशत कलेजोले पुग्ने उनको भनाइ छ।
प्रत्यारोपण गरिएको कलेजोले ६ देखि ८ हप्तामा पूर्ण आकार ग्रहण गरिसक्छ। “कलेजोको सबैभन्दा राम्रो गुण नै यही हो, अन्य कुनै पनि अंग त्यस्तो हुँदैन”, डा. भण्डारी भन्छन्।
कलेजो प्रत्यारोपणका लागि विश्वमा दुई प्रकारका व्यक्ति क्याडबरिक (ब्रेन डेथ) र लाइभ डोनर (जीवित दाता)ले दान गर्ने अभ्यास छ। नेपालमा भने अधिकांश प्रत्यारोपण क्याडबरिकभन्दा जीवित दाताबाट भएको छ। ब्रेन डेथबाट कलेजो प्रत्यारोपण मानव अंग प्रत्यारोपण केन्द्रमा मात्रै भएको छ। ब्रेन डेथका तीन जनाबाट लिएर कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
