चुनाव हारेर पनि संसद् छिर्न उपेन्द्रले फ्याँकेको ‘यादव कार्ड’

बारा-२ यादव बाहुल्य क्षेत्र हो। उपराष्ट्रपति उम्मेदवार रामसहायले गत निर्वाचनमा १३ हजार ८२२ मत पाएर जित्दा तेस्रो र चौँथो स्थान पाएका यादव समुदायका दुई स्वतन्त्र उम्मेदवारको मत २१ हजारभन्दा बढी थियो।

काठमाडौँ- राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले आइतबार अपरान्ह उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरे। जसअनुसार, अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला यादव र ममता झा चारै जनाको उम्मेदवारी कायम छ । 

उपराष्ट्रपति पदका लागि आठ दलीय गठबन्धनका दुई दल जसपा र जनमतबीच साझा उम्मेदवार उठाउने विषयमा सहमति नहुँदा गठबन्धनबाटै तीन जना उम्मेदवार भएका छन्। त्यसमध्ये पनि दुई उम्मेदवार जसपाका छन्। यद्यपि, प्रमिलाकुमारी यादवले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने समय भने सकिएकाले उनको उम्मेदवारी कायम हुनेछ। उनले जसपाकै अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्ने जनाएकी छन्। रामसहाय जसपा संसदीय दलको नेता हुन्।

यो पनि: मधेश राजनीतिमा ‘यादव वर्चस्व’

जसपाले उपराष्ट्रपतिको दाबी नछाडेपछि गठबन्धनमा सामेल जनमतले पनि उम्मेदवार उठाएको छ। जनमतबाट ममता झा र विपक्षी दल एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन्।

जसपाले यसअघि नै रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपराष्ट्रपतिमा महिला वा अन्य (तेस्रो लिंगी) उम्मेदवार हुनुपर्ने अभिव्यक्ति सार्वजनिक गरेपछि जसपाले दुई जना उम्मेदवार उठाएको हो।

जसपाले उम्मेदवार बनाएका दुवैजना यादव समुदायका हुन्। रामसहाय बारा-२ बाट निर्वाचित सांसद हुन्। प्रमिलाकुमारी राष्ट्रियसभा सदस्य हुन्।

रामसहायलाई पटकपटक अवसर
उपेन्द्र यादव नेतृत्वको जसपालाई 'यादवहरूको दल' भएको आरोप लाग्दै आएको छ। उपेन्द्रमाथि पार्टीभित्र यादवलाई प्राथमिकतामा राख्ने गरेको आरोप पटकपटक लाग्ने गरेको छ। 

जसपाको भागमा जुन पद आए पनि उपेन्द्र यादवले यादव समूहलाई नै अगाडी सार्नेमा कुनै शंका नरहेको लेखक तथा विश्लेषक रणधीर चौधरी बताउँछन्। “जसपामा यादवहरूको संख्या बढी भएर पनि होला, यादवहरू नै उपेन्द्रजीको प्राथमिकतामा पर्ने निश्चितै छ,” चौधरी भन्छन्, “उपेन्द्र यादवको यो होसपूर्ण राजनीतिक मजबुरी हो। उनलाई लाग्छ यादवलाई प्राथमिकतामा राखियो भने कम्तीमा मधेश प्रदेश त चलाउन पाइएला।”

अन्य समुदायसँग जसपालाई खासै मतलब नभएकोले उपेन्द्रको प्राथमिकतामा यादव समुदाय परेको उनी बताउँछन्। मधेश प्रदेशमा दलित समुदायपछि दोस्रो बढी जनसंख्या यादवहरूको छ।

यो पनि- मधेश प्रदेश : दलितको जनसंख्या सबैभन्दा बढी, सरकारमा शून्य

यसअघि सुनसरी-१ बाट निर्वाचित संघीय परिषद् अध्यक्ष अशोक राई संसदीय दलको नेता हुन चाहेका थिए। तर उपेन्द्र यादवले रामसहायलाई नै अगाडि सारेका थिए। राई पछि हटेका कारण रामसहाय सर्वसम्मत संसदीय दलको नेता भएका थिए।

प्रतिनिधिसभामा जसपाका १२ सांसद थिए। सहनाज सहमानको निधनपछि ११ सांसद मात्रै कायम छन्। तीमध्ये सातजना प्रत्यक्ष निर्वाचित र पाँचजना समानुपातिक हुन्। १२ मध्ये चार सांसद यादव समुदायका हुन्।

जसपा प्रवक्ता मनीष सुमन भने जात र समुदायको आधारमा नभई योग्यताको आधारमा उपराष्ट्रपतिका लागि दुई जना छानेको र अहिले एक जना मात्र कायम रहेको दाबी गर्छन्। “हामी जात हेर्दैनौँ, हामीले हेर्ने भनेको योग्यता हो। उहाँहरू साँच्चिकै योग्य हुनुहुन्थ्यो,” सुमन भन्छन्, “जहाँसम्म प्रमिलाजीको कुरा हो, उहाँलाई पार्टीले हतारमा उम्मेदवार बनाएको हो। पुरूष उम्मेदवार हुँदैन भनेर हामीलाई तर्साउन खोजेपछि हतारमा उहाँको नाम पठाएका हौँ।” 

उपनिर्वाचनमार्फत संसद् छिर्ने योजना
रामसहाय निर्वाचित भएको बारा-२ यादव बाहुल्य क्षेत्र हो। गएको मंसिर ४ गतेको निर्वाचनमा रामसहायले १३ हजार ८२२ मत ल्याएर विजयी भएका थिए। उनलाई चुनावी गठबन्धनमा रहेको दल एमालेको साथ थियो। 

रामसहायका निकटतम् प्रतिद्वन्द्धी माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका थिए। उनलाई गठबन्धनमा रहेका नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन थियो।

यो पनि: रामसहायलाई उपराष्ट्रपति बनाएर बारा–२ बाट सांसद बन्ने उपेन्द्रको योजना

त्यही क्षेत्रमा यादव समुदायबाटै दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तेस्रो भएका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ र चौँथो भएका रवीन्द्रप्रसाद यादवले १० हजार ७५० मत पाएका थिए। यी दुई स्वतन्त्रको मत २१ हजार ७९३ हुन्छ।

बारा-२ मा यादव समुदायको पकड राम्रै भएर पनि उपेन्द्रले उपनिर्वाचन गराउन रामसहायलाई उपराष्ट्रपतिमा पठाउन जोडबल गरेको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन्। “बारा-२ मा यादवहरुको प्रभावकारी उपस्थिति छ। यसैले पनि उपेन्द्रजीको आकलन यो क्षेत्रबाट सजिलै जित्न सकिन्छ भन्ने होला,” उनी भन्छन्, “उहाँ के कुरामा ढुक्क हुनुहुन्छ भने, अहिले गठबन्धनको पनि साथ छ र जातीय समीकरण पनि उहाँकै पक्षमा छ। यही आशामा त्यस क्षेत्रबाट संसद् छिर्ने प्रयासमा हुनुहुन्छ होला।”

राष्ट्रियस्तरको नेता भएको र मधेशकै बलमा राजनीति गरिरहेको भएर पनि उनलाई बारामा जित्न कठिन नहुने चन्द्रकिशोरको बुझाइ छ।

जसपा प्रवक्ता सुमन भने उपेन्द्र संसद् छिर्न रामसहायलाई उपराष्ट्रपतिमा नउठाएको बताउँछन्। “अहिले त्यस्तो उपनिर्वाचनको कुनै कुरै भएको छैन। उपनिर्वाचन हुनेबेला पार्टीले निर्णय गर्छ। तर अहिले उपेन्द्रजीको लागि त्यो क्षेत्र खाली गराएको कुरामा कुनै सत्यता छैन,” सुमन भन्छन्।