युरोप–एशियामा पनि सिलिकन भ्याली बैंकको असर, बाइडेनको आश्वासनले समेत रोकिएन सेयरमा गिरावट

अमेरिकी सिलिकन भ्याली बैंकमा देखिएको वित्तीय संकटको असर युरोप र एशियामा समेत देखिएको छ। वित्तीय प्रणाली सुरक्षित गर्ने राष्ट्रपति बाइडेनको आश्वासनले पनि सेयर बजार गिरावट रोकिएको छैन।

अमेरिकीको प्रमुखमध्येको एउटा र दुई क्रिप्टो केन्द्रित बैंक बन्द भएपछि त्यसको असर एशिया र युरोपको सेयर बजारमा पनि देखिएको छ।

प्राविधिक कम्पनीहरूलाई कर्जा दिँदै आएको अमेरिकाको १६औँ ठूलो बैंक सिलिकन भ्याली (एसभीबी), क्रिप्टोमा लगानीकेन्द्रित गरेका सिग्नेचर र सिल्भरगेट बैंक डुबेपछि त्यसको असर युरोपका साथै एशियामा पनि देखिएको हो।

अमेरिकाको वित्तीय प्रणाली सुरक्षित गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले आश्वासन दिए पनि सेयर बजारमा त्यसको असर परेको देखिँदैन। लगानीकर्ताहरू अन्योल बन्दा अमेरिकासँगै युरोप र एशियाका बैंकहरूको सेयरमा प्रभाव परेको छ।

अमेरिकी बैंकमा देखिएको समस्याका कारण अन्य वित्तीय क्षेत्रमा असर पर्ने आशंकाबीच राष्ट्रपति बाइडेनले बैंकिङ प्रणाली सुरक्षित गर्न आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए। तर त्यसका बाबजुद अन्य बैंकहरूको सेयरमा उच्च गिरावट देखिएको हो। विज्ञहरूले उच्च गिरावटबाट सेयर होल्डर, बचतकर्ता र ऋणी अझै प्रभावित हुनसक्ने खतरा औँल्याएका छन्।

मंगलबार मात्रै जापानको टपिक्स बैंकिङ समूहको सेयरमा ७ प्रतिशतले गिरावट आएको छ। यो बैंकको पछिल्लो तीन वर्षयताकै खराब दिन भएको बीबीसीले उल्लेख गरेको छ।

यस्तै, सम्पत्तिका आधारमा जापानकै ठूलो लगानीकर्ता कम्पनी मित्सुबिशी युएफजे वित्तीय समूहको सेयर ८.१ प्रतिशतले घटेको छ।

यस्तै, सोमबार पनि स्पेनको सान्तान्देर र जर्मनीको कमर्जबैंकको सेयर मूल्य प्रतिइकाईमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो।

सेवाग्राहीको सुरक्षाका लागि पर्याप्त तरलता छ भन्ने बाइडेन र अमेरिकी सांसदहरूको आश्वासनका बाबजुद युरोपेली बैंकहरूको तुलनामा अमेरिकाकै साना बैंकहरूको अवस्था थप खराब बनिरहेको पाइएको छ।

पछिल्ला घटनालाई मध्यनजर गर्दै अमेरिकाको फेडेरल रिजर्भले ब्याजदर बढाउने (महँगी नियन्त्रयणका लागि अपनाइएको थियो) योजना तत्कालका लागि स्थगित गरेको छ। सरकारले बचतकर्ताको रकम भुक्तानीको जिम्मा लिने तर ऋणीहरूको जिम्मा नलिने बताएको छ।

अमेरिकी राष्ट्रपति बाइडेनले सरकारले बचतकर्ताको रकम पूर्ण रूपमा सुरक्षित गर्ने कदम चालेकाले एसभीबीमा रकम जम्मा गरेका व्यक्ति तथा व्यापारिक संस्थाहरूले सोमबारदेखि नै आफ्नो सम्पूर्ण रकम फिर्ता लिन सक्ने बताएका छन्।

बैंकमा आफ्नो रकम रोक्का भएका कारण अधिकांश व्यवसायीले आफ्ना कर्मचारी र सप्लायर्सलाई रकम दिन नसकेको बताइएको छ।

अहिले बैंकसँग विद्युतीय कारोबार नभएका सेवाग्राहीले आफ्नो पैसा क्यासियर चेकबाटै भुक्तानी लिइरहेको र क्याफिफोर्नियाको मेन्लो पार्कस्थित एसभीबीको कार्यालयअघि दिनभर लाइन लागिरहेको बीबीसीले जनाएको छ।

कसरी टाट पल्टियो सिलिकन भ्याली बैंक?
अमेरिकाको क्यालिफोर्नियाको सान्टा क्लारामा मुख्यालय रहेको सिलिकन भ्याली बैंक एक कमर्सियल बैंक हो। सन् १९८३ मा स्थापना भएको यस बैंकले विशेष गरी प्राविधिक कम्पनीलाई ऋण लगानी गर्दै आएको थियो।

तर, केबल ४८ घण्टाको अन्तरालमा यो बैंक एकाएक डुबेको खबर बाहिरिएको थियो। अमेरिकी नियामक निकायले शुक्रबार यसका सम्पत्ति नियन्त्रणमा लिई  बैंक खरिदका लागि आइतबार बोलपत्र आह्वान गरिएको थियो।

साथै, यसै साताको अन्त्यसम्म बैंक खरिद गर्ने क्रेताहरूको खोजी भइरहेको बताइएकोमा हालसम्म बैंक तथा वित्तीय कम्पनी पीएनसी फाइनान्सियल ग्रुप र रोयल बैंक अफ क्यानडाले बोली लगाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्।

अहिले अमेरिकी बैंकमा सन् २००८ पछि आएको सबैभन्दा ठूलो वित्तीय संकट हो। एकै साता तीन वटा अमेरिकी बैंकहरूमा देखिएको आर्थिक संकटले विश्वभर आर्थिक विचलन ल्याउने विश्लेषण गरिएको छ। तर भारतीय अर्थविद्हरूले एशियामा यसको प्रभाव नदेखिएको बताइरहँदा सोमबार र मंगलबार एशिया र युरोपका बैंकको सेयर मूल्यमा देखिएको गिरावटले शंका उब्जाएको छ।