बागलुङमा घरमा भन्दा मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ। कालिका मन्दिरलाई कलात्मक बनाउने जिम्मा ६० वर्षीय भीमबहादुर विश्वकर्माले लिएका छन्।
गलकोट– काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका निकै सुन्दर देखिन्छन्। यी सुन्दरमात्र होइनन्, टिकाउ पनि उत्तिकै हुन्छन्।
तर, काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ती छैन। मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ।
काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको पाइन्छ। काष्ठकला पुस्तान्तरणसमेत हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री पनि अभाव हुन थालेको छ। यी विविध समस्याबीच बागलुङ नगरपालिका–३ का भीमबहादुर विश्वकर्माले भने आफ्ना सात पुस्ताले अँगालेको काष्ठकला पेसालाई धान्दै आएका छन्।
खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग न्यून रूपमा गर्न थालेको भीमबहादुरको भनाइ छ। बागलुङमा घरमा भन्दा पनि मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ। कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा ६० वर्षीय भीमबहादुरले लिएका छन्।
उनी गत भदौदेखि कालिका मन्दिरमै बास बसेर काम गरिरहेका छन्। कान्छा छोरा विकासले पनि सघाइरहेको उनले सुनाए। उनले जीवन काष्ठकलामै बित्यो। आफ्नो सात पुस्तादेखिको मुख्य पेसा काष्ठकला रहेको भीमबहादुरको भनाइ छ। बुबा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवानका आकृति बनाएको देखेर १५ वर्षको उमेरदेखि भीमबहादुर काष्ठकलातर्फ आकिर्षत भएका हुन्।
आठ लाख रुपैयाँमा कालिका मन्दिरको हवन कुण्ड, शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाल, आँखीझ्याल तथा विभिन्न भगवानका आकृति तयार गरिरहेका उनले काष्ठकला व्यवसाय आफ्नो परिवारमा पुस्तान्तरण हुँदैआएको बताए। उनीसँग तामाले छाउने कार्यको समेत ज्ञान छ।
काठलाई घरेलु औजारले महिनौँ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्छन्। “सात पुस्ता काष्ठकलामै समर्पित भयो। बुबासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ। उहाँ बित्नुभएको २० वर्ष भयो,” भीमबहादुर भन्छन्, “अहिले पुनः कालिका मन्दिर क्षेत्रमा आफ्नो कला पोख्ने अवसर पाएको छु।”
उनका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा राजाको दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका थिए। गुल्मीको रिडीस्थित रिडेश्वर मन्दिर पनि आफ्नै पुर्खाले बनाएको विश्वकर्माको भनाइ छ। कालिका मन्दिरको मुख्यद्वार नजिकै उनका बुबाको नाम छ। पञ्चकोट, कारिकोट, तित्याङ, मनकामनालगायत प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरिसकेको उनको भनाइ छ।
सानैदेखि बुबासँग काष्ठकलाको काम सिकाले अहिले सहज भएको छ। “छोरा विकासले पनि यो काम सिक्यो। सीप पुस्तान्तरण भएको छ,” उनले भने, “धेरै खुशी छु।” कृत्रिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ।
घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्त्व रहेको उनको भनाइ छ। कालिका मन्दिरको हवन कुण्डमा नाग देवता, भगवती, बुद्ध भगवान्, विष्णु, देवी र जलदेवतालगायत आकृतिमा काठ कुँदेर निर्माण गरिएको छ। कलात्मक ढंगले कुँदिएको ढोकालाई एक लाख ८० हजार रुपैयाँ पर्ने उनले बताए।
यो पेसाको कमाइले गुजरामात्रै चलाउन मात्र ठिक्क भएको भीमबहादुरले सुनाए। “काम लगातार पाउँदा आम्दानी राम्रै हुन्छ। कहिले खाली हात बस्नुपर्ने हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
