अनुशासित र स्वच्छ प्रहरी चाहिएको छ : गृहसचिव सिंह

गृहसचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्नेमा जोड दिएका छन्। 

काठमाडौँ– गृहसचिव विनोदप्रकाश सिंहले अनुशासित र स्वच्छ प्रहरी चाहिएको बताएका छन्।

आइतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले अनुशासित, स्वच्छ र व्यवसायिक प्रहरीले मात्रै अहिलेको समस्या समाधान गर्ने उल्लेख गरे।

समाजमा प्रविधिमार्फत हुने अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको उनको भनाइ छ।

“हामीलाई अनुशासित र स्वच्छ प्रहरी चाहिएको छ। व्यवसायिक प्रहरी चाहिएको छ। व्यवसायिक प्रहरी भन्ने बित्तिकै तालिमको कुरा छ,” गृहसचिव सिंहले भने, “नयाँ प्रविधिको कुरा छ। तर पदमा बस्ने कर्मचारीको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ।”

अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापलाई शून्य सहनशीलतामा लैजानुपर्नेमा उनले जोड दिए।