मिटरब्याजका पीडितहरू हरेकको अलग–अलग पीडा छ। कसैले कोभिडको लकडाउनमा बच्चाको उपचार गर्न ऋण लिएका थिए भने कोहीले वैदेशिक रोजगारमा जान। यहाँ हामीले आन्दोलनमा रहेका २८ जना पीडितका कथा–व्यथा समेटेका छौँ।
काठमाडौँ- मिटरब्याज पीडितहरूको चैत २ गतेदेखि महोत्तरीको बर्दिबासबाट शुरू भएको पदयात्रा १२ दिनपछि काठमाडौँ आइपुग्यो। काठमाडौँ प्रवेश गरेको दोस्रो दिन मिटर ब्याजपीडितहरूले खुल्लामञ्च प्रवेश गर्ने प्रयास गर्दा काठमाडौँ महानगरले रोक्यो। त्यो रात उनीहरू वीर अस्पतालअगाडि सडकमै रात बिताउन बाध्य भए। जसका कारण उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। उनीहरू गाउँका साहु–महाजनले आफूहरूको उठिबास लगाएको पीडा सरकारलाई सुनाउन राजधानी आएको बताउँछन्।
प्रदर्शनको अगुवाइ गरिरहेका मनोज पासवानले भने, “उसै पनि साहुकारको शोषण र अत्याचारबाट पीडित भएर विकल्प गुमाइसकेका छौँ। सरकारले हाम्रो पिर व्यथा सुन्छ कि भन्ने अन्तिम प्रयासका लागि आएका छौँ।”
मंगलबार उनीहरू नयाँ बानेश्वरस्थित संघीय संसद्अगाडि प्रदर्शन गर्न जाँदै गर्दा सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर बाटोमै रोक्यो। दिउँसो २ बजेतिर उनीहरूले सडकपेटीमै बसेर दाताले ल्याइदिएको रोटी र अचार खाएर छाक टारे। अपुग भएपछि केहीले सुक्खा भुजा (मुरही) खाए।
१२ दिनको पैदल यात्रा र थप दुई दिन काठमाडौँमा बिताइसकेका उनीहरूले राम्ररी खाना खान र आराम गर्न पाएका छैनन्। “सोमबार राति वीर अस्पतालअगाडि सडकमै रात बितायौँ, आज के हुन्छ थाहा छैन,” १३ वर्षीय छोरी गरिमा रायसँगै नारा लगाउँदै गरेको अवस्थामा भेटिएकी सिरहाको कर्जन्हा–७, घर भएकी मिटरब्याज पीडित ममता रायले भनिन्, “जीवनमा उसै पनि सबथोक गुमाइसकेका छौँ। अब ज्यानै फालेर भए पनि आफ्नो पीडा सरकारलाई सुनाउनु छ।”
रायले त्यहीँकी सुजाता साहबाट दुई लाख रुपैयाँ ऋण लिएकी थिइन्। पटक–पटक गरी ३५ लाख रुपैयाँ तिरिन्, तैपनि सुजाताले ममतासँग पैसा मागिरहेकी छिन्।
मधेश प्रदेशबाट आएर काठमाडौँमा नोकरी, पेसा र पढाइ गरिरहेका विभिन्न व्यक्तिले मिटरब्याज पीडितका लागि पानी र खानेकुराको प्रबन्ध गर्ने गरेका छन्। उनीहरूको आग्रहमा सिभिल अस्पतालका मेडिकल अधिकृत डा. अजित मल्लिकले मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षण गर्दा अधिकांशको स्वास्थ्य अवस्था बिग्रेको देखियो। “टाउको दुखाइ, उच्च रक्तचाप र रक्तचाप घट्ने समस्या धेरैमा छ,” डा. मल्लिकले भने, “चक्कर आउने, पेटमा समस्या हुने, खुट्टा सुनिने र पैतालामा घाउचोट भएको र फाटेको देखिएको छ।”
प्रदर्शनमा सहभागीमध्ये अधिकांश महिलाहरूको स्वास्थ्य अवस्था कमजोर रहेकाले उपचार, आराम र पोषण दिएर जोगाउनु पर्ने डा. मल्लिक बताउँछन्।
“हामीले भोग्दै आएको त्यो कष्ट (मिटरब्याजले दिने पीडा)को तुलनामा यो कष्ट केही पनि होइन,” टाउको दुखाइ, खुट्टा सुनिएको र खानामा अरुचि भएर सिकिस्त देखिएकी देवकुमारी देवीले भनिन्।
यहाँ हामीले आन्दोलनमा रहेका २८ जना पीडितका कथा–व्यथा समेटेका छौँ।
सूर्यनारायण मुखिया, ५६ र श्रीमती रेखादेवी मुखिया
सिरहा, गोलबजार–१२
साहु: रामसेवकप्रसाद यादव
मुखिया दम्पतीले साहु रामसेवकप्रसाद यादवसँग २०७० माघ देखि २०७३ कात्तिक ४ का बीचमा पटक–पटक गरी २० लाख रुपैयाँ ऋण लिएका थिए। पैसा फर्काएपछि फिर्ता गर्ने सर्तसहित पूर्व–पश्चिम राजमार्गनजिकै पर्ने ७ कट्ठा ११ धुर जग्गा राजीनामा पास गरेका थिए। “एक पटक ३० लाख, फेरि ५० लाख र त्यसपछि २० लाख गरी १ करोड रुपैयाँ फिर्ता गरिसकेको छु,” मुखियाले भने, “अहिले करिब ३ करोड मूल्य पर्ने मेरो जग्गा साहुले फिर्ता गर्न मानेको छैन।”
राजीवकुमार यादव, ४१
सप्तरी, बोँदे बरसाइन–१० (खडकपुर)
साहु: राजेन्द्रप्रसाद साह तेली
गाई पालन गर्नका लागि बोँदे बरसाइन नगरपालिका–४ का राजेन्द्रप्रसाद साह तेलीसँग २०७३ माघ १८ मा गते १३ लाख रुपैयाँ ऋण लिँदा ११ लाख रुपैयाँ बराबरको तमसुक बनाउनुका साथै २२ कट्ठा जग्गा पास गरिदिएका थिए। २०७५ सालमा आठ लाख र अर्को सात लाखको तमसुक कागज गराए। “उनले २०७४ मै सप्तरी जिल्ल अदालतमा मुद्दा गरिदिएका रहेछन्, हामीले पछि मात्र त्यसको जानकारी पायौँ,” यादवले भने।
“उक्त मुद्दामा जितेपछि मेरो अर्को १३ कट्ठा जग्गा उनले लिलाम गराउन आदेश गराउँदा मैले १७ लाख रुपैयाँ तिरेर त्यसलाई फुकुवा गराएँ, मैले हिसाब गराएर २०७७ मा थप ७ लाख रुपैयाँ भुक्तान गरेर २२ कट्टा जग्गा फिर्ता मागेँ तर आलटाल गर्दै छन्। जग्गा र १५ लाखको तमसुक फर्काएका छैनन्, अझ २ लाख ८० हजार पनि दाबी गरेका छन्।”
महमद तैयब अलि, ६०
सप्तरी, बोँदे बरसाइन–७
साहु: रामदेव साह
सप्तरीका महमद तैयब अलिले २०७१ भदौदेखि चैतसम्ममा स्थानीय रामदेव साहसँग ३८ लाख रुपैयाँ ऋण लिँदै एक बिगाहा आठ कट्ठा साढे नौ धुर जग्गा लिखत पास गरिदिए। आठ लाख रुपैयाँको कपाली तमसुक कागज पनि बनाए। पटक–पटक गरी २०७७ सम्ममा ८२ लाख रुपैयाँ फर्काए पनि सर्तअनुसार जग्गा फिर्ता पाएनन्। “मैले साँवा र ब्याज फर्काउँदा पनि जग्गा फिर्ता गरेन। त्यसमध्येको दुई वटा कित्ता २६ लाखमा बेचिदिएको छ। अहिले जग्गा फर्काउन तयार छैन।”
विमला यादव, ६५
सिरहा, कुसहा लक्षमिनिया
साहु: नाम भन्न नजानेको
तीन वर्षअगाडि छोरा सवारी ज्यान मुद्दामा जेल परेपछि पाँच कट्ठा खेत लिखत पास गरेर पाँच लाख रुपैयाँ ऋण गाउँकै साहुकारसँग लिएकी थिइन्। साहुको नाम भन्न जान्दिनन् उनी। “छोरा निस्किएर आएपछि सबै पैसा चुक्ता गरिदिने भनेको छु, त्यही जग्गा बेचेर पनि पुग्छ, तर साहुले मानेका छैनन्, जग्गा कब्जा गर्ने र थप पैसा पनि लिने कुरा गदै छन्।”
सुनिताकुमारी सिंह
सिरहा, लक्ष्मीपुर–४, पताही
साहु: विमलादेवी शर्मा
सुनिताकुमारी सिंहले करिब एक वर्षअगाडि विमलादेवी शर्मासँग ६० हजार रुपैयाँ कर्जा लिँदा चार लाखको कपाली तमसुक कागज बनाइदिएकी थिइन्। उनले एक वर्ष नबित्दै पटक–पटक गरी ८५ हजार रुपैयाँ फर्काइ सकिन्। तर, कर्जा दिनेका परिवारले तमसुक फर्काएनन्। “पैसा तिरे लगत्तै तमसुक फिर्ता पाउनुपर्ने, अहिले पनि दिएका छैनन्,” उनी भन्छिन्।
सरिताकुमारी सिंह (दुनुवार)
सिरहा, लक्ष्मीपुर–४, पताही
साहु: रामजुरुम यादव
गत मंसिरमा श्रीमान् सरजित सिंहलाई वैदेशिक रोजगारीमा साउदी अरेबिया पठाउन त्यही ठाउँ बस्ने रामजुरुम यादवसँग दुई लाख रुपैयाँ लिएकी थिइन्, तेब्बरको कागज बनाएर। “एक महिनाभित्रै ९० हजार फर्काएँ, त्यसपछि फेरि ४० हजार दिएँ। अझ हिसाब पुगेन भनेर साढे तीन लाखको दरले दुई वटा कपाली बनाउन लगायो। पहिलाको तमसुक फर्काइदिन्छु भनेका थिए, फर्काएन। थप १० लाख रुपैयाँ माग्दै धम्क्याउँछन्।”
कासिम बैठा, ४३
महोत्तरी, पिपरा–४
साहु: शेखरकुमार मिश्र
कासिमका बुबा इशमाइल बैठाले २०७० सालमा पिपरा–३ का शेखरकुमार मिश्रसँग ६० हजार रुपैयाँ ऋण लिएका थिए। २०७३ सालमा हिसाब गर्न लगाएर पाँच लाख ८० हजार रुपैयाँ पुगेको मिश्रले दाबी गरे। यसलाई त्यतिबेला तिर्न नसकेर सावा कायम गरी त्यसको तीन गुणाभन्दा बढी १८ लाखको अर्को कागज बनाउन लगाइयो। “त्यसै कागजको आधारमा २०७४ मा उनले ३१ लाख रुपैयाँ दाबी गर्दै अदालतमा मुद्दा हालेर मेरो पाँच कट्ठा १४ धुर जग्गा आफ्नो नाममा गराएका छन्,” उनी भन्छन्।
रामजी यादव
महोत्तरी, पिपरा–३
साहु: दीपुकुमार मिश्र
पिपरा–३ कै दीपुकुमार मिश्रसँग ५५ हजार रुपैयाँ ऋण लिँदा एक लाख ६५ हजार रुपैयाँको कागज गरेका थिए। “२०७८ सालमा साढे ६ लाखको हिसाब देखाएर पाँच धुर जग्गा दृष्टि बन्धक गराए। अहिले साढे चार लाख रुपैयाँ धुरको मोल पर्ने मेरो २० लाख रुपैयाँ बराबरको जग्गा ५५ हजारकै हिसाबमा हड्पेको छन्।”
लिलियादेवी ठाकुर, ४५
महोतरी, सुखीपुर–८
साहु: राजाराम साह
स्थानीय राजाराम साहसँग २०७७ सालमा लिलियाले डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन्। महिनामै ब्याज दिनुपर्ने साहुले भनेका थिए। ब्याजबापत उनले महिनाको ४५ हजार रुपैयाँ तिर्न शुरू गरिन्। अहिलेसम्म आठ लाख तिरिसकिन्। सहकारी र लघुवित्त गरी १० ठाउँबाट उनले ऋण लिनु पर्यो।
“अढाई तोला सुन र एक किलोभन्दा बढी चाँदीको गहना बेचेर दिइसकेँ, गाई बेचेर पनि दिएँ, छोरा र श्रीमान्ले मिहिनेत मजदुरी गरेर कमाउने पैसा पनि त्यसैमा गयो,” लिलियादेवीले भनिन्, “कोरोनाको समयमा लकडाउनका बेला ब्याज दिन नसकिएपछि साँवा बाँकी नै देखाउँदै डेढ लाख रुपैयाँको कागज धाकधम्की दिएर मेरो छोरासँग गराए, त्यसैको आधारमा अदालतबाट मुद्दा जिती मसँग भएको मात्र १० धुर घडेरी आफ्नो नाममा गराएको छन्, अहिले खाली गर्न उर्दी दिएका छन्।”
खैरुल खातुन, ३६
दुर्गानगर, गोलबजार १३ सिरहा
साहु: रामलखन महतो
खैरुलले गाउँकै रामलखन महतोसँग चार वर्षअगाडि ६० हजार रुपैयाँ ऋण लिएकी थिइन्। गत वर्ष ५० हजार रुपैयाँ फिर्ता दिँदै हिसाब माग्दा अझ तीन लाख १५ हजार रुपैयाँ दिनु पर्ने साहुले सुनाएर त्यति बराबरकै कागज गराए। “त्यही कागजका आधारमा साहुले बजारमा रहेको पाँच धुर घडेरी र ३ कट्ठा खेत रोक्का गराएका छन्,” उनले भनिन्, “श्रीमान् मंसुर दुबईमा छन्, घर आउँदैनन्। मैले दिनहुँ धाकधम्की सहनु परेको छ, सम्पत्ति पनि हातबाट जाँदै छ।”
रफिद मियाँ
सिरहा, अर्नमा–१
साहु: घोरन ठाकुर
रफिद मियाँले गोलबजार, डोहटीका घोरन ठाकुरसँग २०७३ मा छोरीको बिहेका लागि साढे ३ लाख रुपैयाँ ऋण लिएका थिए। साहुले तेब्बरले १० लाख ५० हजारको कागज बनाइदिए। महिनामा सयकडा ३ रुपैयाँ ब्याज तय भयो। उनले पटक–पटक गरी साढे ४ लाख रुपैयाँ तिरिसके। “१२ जनाको परिवार बस्ने हाम्रो घर खाली गर्ने साहुको उर्दी छ, कि त अझ १२ लाख रुपैयाँ दिनुपर्छ भन्दै छन्,” उनले भने।
प्राण कुमारी
धनुषा, सबैला–४, बल्टिया
साहु: बिन्दा यादव
प्राण कुमारीले स्थानीय साहु बिन्दा यादवसँग चार वर्षअगाडि तेब्बरको तमसुक बनाएर ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। साहुले तेब्बर रकमको साँवा ब्याज सबै जोडेर अदालतमा मुद्दा हालेका छन्। अहिले प्राण कुमारीको नाउँमा सात दिनभित्र अदालतमा उपस्थित हुने आदेश जारी भएको छ। “मुद्दा मामिला के हो मलाई थाहा छैन, अदालतले मलाई कागज पठाएको छ, खाएको पैसा तिर्न तयार हुँदा पनि। अब के हुने हो भन्ने चिन्ता छ,” उनले भनिन्।
सरिताकुमार देवी
धनुषा, सबैला–४, बल्टिया
साहु: विनाच यादव
डेढ वर्षअगाडि उनले स्थानीय बिनाच यादवसँग ८० हजार रुपैयाँ ऋण लिँदा दुई लाख रुपैयाँको तमसुक बनाएकी थिइन्। “एक महिनाभित्रै मैले पैसा तिरेँ, तर कागज फर्काएनन्, अहिले दुई लाख रुपैयाँको साँवा ब्याज जोडेर मुद्दा हालेका छन्,” उनले सुनाइन्।
कैलशियादेवी शर्मा, ६५
धनुषा, सबैला–१२
साहु: नेवल यादव
कैलशियाले २०७५ सालमा ७० हजार रुपैयाँ स्थानीय नेवल यादवसँग ऋण लिँदा तेब्बरको तमसुक कागज बनाएकी थिइन्। एक लाख ४५ हजार रुपैयाँ साहुलाई दिए पनि अझ हिसाब बाँकी छ भन्दै कागज फिर्ता दिएनन्। “अझ पैसा माग्दै कुटपिट गर्न आउँछन्, मुद्दा दिने धम्की दिइरहेका छन्,” उनले भनिन्।
देवकुमारी देवी
धनुषा, सबैला–१२
साहु: कृष्णदेव साह कलवार
कृष्णदेव साह कलवारको घरमा देवकुमारीका श्रीमान् वंशु अधिकारी दुनुवार मिस्त्रीको काम गर्थे। उनले ‘सेट्रिङ’को हिसाबभन्दा ६० हजार रुपैयाँ बढी साहुसँग लिएका थिए। “साहुले भनेपछि मेरो श्रीमान्ले तेब्बरको कागज बनाइदिए, उनले कागज र सेट्रिङका काठ दुवै राखे,” देवकुमारीले भनिन्, “पछि मुद्दा हालेर मेरो पाँच कट्ठा खेत रोक्का गराएको छ।”
अछय राम, ६८
सप्तरी, सुरंगा–६
साहु: भगवती चौधरी
अक्षय रामले तीन वर्षअगाडि गाउँकै भगवती चौधरीसँग साढे दुई लाख रुपैयाँ ऋण लिएका थिए। त्यसमध्ये उनले एक लाख रुपैयाँ फिर्ता गरिसकेका छन्। अहिले आएर चौधरीले १० लाख रुपैयाँ दाबी गरेका छन्। सवा दुई लाख रुपैयाँ कट्ठा पर्ने नौ कठा जग्गा पास गराएको र एउटा कपाली तमसुक गराएर चौधरीले राखेको रामले बताए। “मैले पढेलेखेको छैन, ऋण लिन कागजमा सही गर्नुपर्छ भनेपछि सहीछाप गरिदिएँ, के थाहा मेरो सबै थोक हरण गर्छन् भनेर, मैले यसको अन्दाज गरेको थिइनँ,” उनले भने।
पुनितादेवी महतो, ३४
सिरहा, गोलबजार
साहु: शारदा देवी
वैदेशिक रोजगारीमा गएका श्रीमान्को १२ वर्षअघि मृत्यु भएपछि तीन सन्तानकी आमा रहेकी उनले २०७३ सालमा गोलबजारकै शारदा देवीबाट ५५ हजार रुपैयाँ ऋण लिएकी थिइन्। पछि सोही स्थानको लघुवित्तबाट ऋण लिएर शारदा देवीको एक लाख रुपैयाँ तिरिन्। तर, उनको ऋण नसकिएको भन्दै शारदा देवीले अदालतमा मुद्दा हालिन ।
“आठ महिनादेखि लुकेर हिँडेको छु, मलाई जेलमा पठाउन भनेर आदेश आएको छ रे, अदालतबाट तिन लाखको पुर्जी आएको छ, मसँग यत्रो पैसा कहाँबाट हुनु, जायजेथा पनि केही छैन” उनले भनिन्। वैदेशिक रोजगारीमा गएका श्रीमान्को १२ वर्षअघि उतै मृत्यु भइसकेको छ, उनी एक्लै तीन छोरालाई हुर्काइन्।
विनोद मण्डल, ४३
सप्तरी, शम्भुनाथ–११, राजपुर
साहु: रामदेव साह
विनोद मण्डलले २०६८ सालतिर स्थानीय रामदेव साहसँग १० लाख रुपैयाँ लिएर वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए। २०७५ सम्ममा ३६ लाख रुपैयाँ पटक पटक गरी विदेशबाट नै साहुलाई पठाइदिए। “ऋण दिने बेलामा १७ कट्ठा जग्गा आफ्नो नाममा पास गराएका साहुले हालसम्म फिर्ता गरेका छैनन्” उनी भन्छन्।
मन्जुदेवी पासमान
सिरहा, मिर्चैया
साहु: बबिता साह
सिरहा, मिर्चैयाकी मन्जुदेवी पासमानले बबिता साहसँग दुई लाख रुपैयाँ लिएकी थिइन्। पासमानले दुई लाख लिएबापत सात लाख तिरिसकिन्, तर साहले नौ लाख तिर्न बाँकी भएको भन्दै अदालतमा मुद्दा हालिन्। अदालतले पासमानको पक्षमा फैसला नसुनाएर साहको पक्षमा सुनायो। “म अब बाँकी पैसा कहाँबाट तिरूँ? अदालतको फैसला मेरो पक्षमा नआएर बबिताको पक्षमा आएको छ,” पासमान भन्छिन्, “अदालतबाट चिठ्ठी आएको छ। अब म जेल जानुपर्छ भन्दै छन्। अहिले भागी भागी बसिरहेको छु।”
वीरेन्द्रकुमार यादव
सिरहा, गोलबजार
साहु: रामसेवक यादव
वीरेन्द्र कुमार यादवले रामसेवक यादवसँग ६५ लाख रुपैयाँ लिएका थिए। २०७५ सालसम्म वीरेन्द्रले साहुलाई चार करोड रुपैयाँ तिरिसकेका छन्। कर्जा लिँदा साहुले यादवको १९ कट्ठा १० धुर जग्गा दृष्टि बन्धकमा राखेका थिए। “६५ लाखबापत चार करोड पैसा फिर्ता गरे पनि तिम्रो जमिन खरिद गरिसकेको हुँ भनिरहेका छन्,” यादव भन्छन्, “पैसा फिर्ता दिइसके अब मेरो जग्गा मलाई फिर्ता देऊ भन्दा पनि दिइरहेका छैनन्। सीडीओकहाँ निवेदन बुझाउँदा पनि कुनै सुनुवाइ भएन। मलाई मेरो पैसा चाहिएको छैन, तमसुक र कपाली सँगसँगै मेरो जग्गा मलाई फिर्ता गरिदेओस्।” यादवका अनुसार रामसेवक जसपाका सांसद राजकिशोर यादवको ससुरा हुन्।
कल्पना धामी
धनुषा, सबैला
साहु: मसहरू गुवार
धनुषा सबैलाकी कल्पना धामी आफ्नो पाँच महिने बालकलाई लिएर काठमाडौँ आएकी छिन्। १२ दिन हिँडेरै आएका उनी बच्चालाई काखमै राखेर आइपुगिन्। लकडाउनताका मसहरू गुवारसँग उनले ८५ हजार रुपैयाँ ऋण लिएकी थिइन्। धामीले आफ्नो तीनवर्षे जेठो छोरा बिरामी भएपछि पैसा उधारो लिइकि थिइन्। पैसा लिएको एक हप्ता नहुँदै उनले साहुलाई एक लाख तिरिन्, तर साहुले थप दुई लाख माग्दै छन्। पैसा तिर्न नसक्दा साहुले उनलाई आफूसँग रात बिताउन प्रस्ताव गरिरहन्छन्।
“मलाई नराम्रो गाली दिन्छन्। रात बिताउन जाऔँ भन्छन्। बच्चालाई पनि दिनदिनै आएर पिट्छन्,” धामी भन्छिन्, “पस्केको भातमा आएर खुट्टा हालिदिन्छन्। बेलाबेला आएर धम्काउँछन्। अब म बाँच्नु कि मर्नु भन्ने स्थितिमा पुगिसकेको छु।”
पार्वतीदेवी अधिकारी
धनुषा, खैरबोना
साहु: विनिता साह
धनुषा खैरबोनाकी पार्वतीदेवी अधिकारी विनिता साहसँग डेढ लाख कर्जा लिएकी थिइन्। उनले पैसा लिएको १५ महिनापछि तीन लाख रुपैयाँ लिएर गइन्, तर साहुनीले १५ लाख भएको दाबी गरिन्। साहले पार्वतीको १३ कट्ठा जग्गा रोक्का गरेर राखेकी छिन्। पार्वतीले आफू त्यत्रो पैसा दिन नसक्ने बताएपछि साहुनीले जो कहाँ गए पनि आफूले त्यत्रो पैसा नलिई नछोड्ने बताएको बताउँछिन्। “जहाँ गए नि मलाई १५ लाख चाहिन्छ भन्छिन्। अहिले काठमाडौँ आउँदा उनीहरू गाउँमा मलाई गाली गरिरहेका छन्,” पार्वती भन्छिन्, “म साहुनीसँग लिएको पैसा नतिर्ने भनेकै छैन। जे ब्याज भएको छ त्यो पनि तिर्न तयार छु, तर त्यत्रो पैसा म तिर्न सक्दिनँ। मेरो पनि त बालबच्चा हुर्काउन बाँकी छ।”
दुई–तीन जना पैसावालाले नै पूरा गाउँलेलाई ऋणको पासोमा पारेको पार्वती बताउँछिन्।
ललितादेवी साह
सप्तरी, डाग्नेश्वरि
साहु: मनोज दास र विजय दास
सप्तरी डाग्नेश्वरिकी ललितादेवी साहले लकडाउनताका मनोज दास र विजय दाससँग एक लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले ऋण लिएको पाँच महिनामा नौ लाख रुपैयाँ तिरिसकिन्, तर साहुले अझै ५० लाख रुपैयाँ मागिरहेका छन्। ललिताले ओम साहसँग पनि ६० हजार कर्जा लिएकी थिइन्। हालसम्म उनले साहलाई पाँच लाख रुपैयाँ बुझाइसकिन्, तर पनि उनले बनाएको कागजात फिर्ता गरेका छैनन्।
“मेरो श्रीमान् २० वर्षदेखि दुबईमा हुनुहुन्छ। ऋण तिर्दातिर्दै मेरो सारा सम्पत्ति सकिसक्यो। मेरो श्रीमान् विगत २० वर्षदेखि पठाइरहेको पैसाले पनि ऋण चुक्ता गर्न सकेका छैनौँ,” ललिता भन्छिन्, “जग्गा त जग्गा, भए जतिको सुन पनि लगिसके साहुहरूले। म पढेलेखेको छैन। जसको फाइदा उनीहरूले उठाए। भएभरको कागजातमा दस्तखत गराएर सबै आफ्नो कब्जामा लिइसकेका छन्।”
रामकुमारी साह
सिरहा, लहान
साहुः काशिन्दर साह
सिरहा लहानकी रामकुमारी साहले आफ्नै देवर काशिन्दर साहसँग तीन वर्षअगाडि एक लाख रुपैयाँ सापटी लिएकी थिइन्। हाल उनका देवर काशिन्दरले उनीसँग ब्याजसहित आठ लाख रुपैयाँ माग गरेका छन्। रामकुमारीले त्यति पैसा फिर्ता दिन नसक्ने भनेपछि अंशबन्डामा पर्ने जग्गा आफ्नो नाममा गराउने धम्की दिँदै आएको रामकुमारी बताउँछिन्।
“देवर सिरहा क्याम्पसमा शिक्षक हुनुहुन्छ। सरकारी जागिर हुँदाहुँदै हामीमाथि यस्तो अन्याय गरिरहनुभएको छ,” रामकुमारी भन्छिन्, “जबकि, उहाँको पढाइको सारा खर्च मैले नै बेहोरेको थिएँ। मेरो श्रीमान् बिरामी हुनुहुन्छ। छोरा कमाउने भयो भने पैसा तिरिदिन्छु भन्दाभन्दै दिनरात धम्की खेप्नु परेको छ।”
६ वर्ष पहिले पनि छोरीको बिहेका लागि रामकुमारीले साहु रामु साहसँग तीन लाख रुपैयाँ कर्जा लिइन्, तर पाँच महिनामै साँढे चार लाख रुपैयाँ फिर्ता गर्दा पनि उनले आफ्नो १० लाख मूल्य बराबरको जग्गा फिर्ता पाउन सकेकी छैनन्।
आशाकुमारी साह
सिरहा, बस्तीपुर
साहु: नाम थाहा नभएको।
सिरहा, बस्तीपुरकी आशाकुमारी साहले १७ वर्षअगाडि साहुसँग श्रीमान्लाई विदेश पठाउन पाँच कट्ठा आठ धुर जग्गा दृष्टि बन्धकमा राखेर ९० हजार रुपैयाँ ऋण लिइन्। आशाले एक वर्ष नबित्दै साहुलाई ९० हजार रुपैयाँ तिरिदिइन्। विदेशमा श्रीमान्को कमाइ राम्रो नभएपछि आशाले त्यही पाँच कट्ठाबाट एक कट्ठा बेचेर साहुको बाँकी रुपैयाँ तिरिदिने निर्णय गरिन्, तर साहुले त्यो जग्गा उहिल्यै आफ्नो भइसकेको दाबी गरिरहेका छन् र बाँकी रुपैयाँ छिट्टो तिर्न दिनरात ताकेता गरिरहेको आशा बताउँछिन्।
“श्रीमान् विदेशबाट आएपछि पनि तीन लाख रुपैयाँ तिर्न गए, तर पैसा लिन मानेन र त्यो जग्गा आफ्नो भइसकेको दाबी गरिरहेको छ,” आशा भन्छिन्, “अहिले मेरै जमिनमा खेतीबारी गरिरहेका छन् र अझै ६० लाख तिर्नुपर्ने भनिरहेका छन्।”
रञ्जना कुमारी चौधरी
सिरहा, भवानीपुर
साहु: वीरेन्द्र साह
सिरहा भवानीपुरकी रञ्जनाकुमारी चौधरीले ६ वर्षअगाडि महाजन वीरेन्द्र साहसँग तीन लाख रुपैयाँ ऋण लिएबापत साढे पाँच कट्ठा खेत दृष्टि बन्धकमा राखेकी थिइन्। उनले ऋणको ब्याजबापत साहुलाई सात लाख रुपैयाँ तिर्न जाँदा वीरेन्द्रले लिन मानेनन्। रञ्जनाका अनुसार साहुले अझै ११ लाख रुपैयाँ मागिरहेका छन्।
“मैले ११ लाख दिन अस्वीकार गरेको हुँ। मेरो ससुराको उपचारमै १२ लाख खर्च हुँदा मैले बढीमा आठ लाख दिन्छु भनेँ,” रञ्जना भन्छिन्, “तर साहुले अहिले मुद्दा हालेका छन्। अहिले म अदालत र साहु दुवैबाट पीडित छु।”
मीनाकुमारी चौधरी
सिरहा
साहु: दिनेश साह
सिरहाकी मीनाकुमारी चौधरी पाँच वर्षअगाडि दुई कट्ठा पाँच धुर जग्गा दृष्टि बन्धकमा राखेर दिनेश साहसँग दुई लाख रुपैयाँ लिएकी थिइन्। मीनाले दुई वर्षपछि साहुलाई डेढ लाख रुपैयाँ तिरिन्, तर साहुले अझै ६ लाखको बाँकी रहेको बताए।
“बाँकी ६ लाख तिरे मात्र जग्गा फिर्ता गर्ने साहुले भनिरहेका छन्,” मीना भन्छिन्, “म बाँकी पैसा दिन्नँ भनेको छैन। ब्याजसहित दिन्छु तर त्यो डेढ लाख छोडेर ६ लाख मागिरहेका छन्। पैसा नतिरे साहुले मुद्दा गरिदिने भनिरहेका छन्।”
बच्चालाल साह
सप्तरी, खड्क नगरपालिका
साहु: रामदेव साह
सप्तरी खड्क नगरपालिकाका बच्चालाल साहले २०६६ सालमा रामदेव साहसँग चार लाख ८६ हजार रुपैयाँ कर्जा लिएका थिए। बच्चालालले २०७२ सालमा तीन लाख ८६ हजार एकपटक र २१ लाख एकपटक गरी साहुलाई २४ लाख ८६ हजार तिरिसकेका छन्, तर साहुले उनको जग्गा हालसम्म पनि फिर्ता गरेका छैनन्। ऋण लिने बेला बच्चालालले १२ कट्ठा १६ धुर दृष्टि बन्धकमा राखेका थिए।
“मेरो जग्गा बजारमै पर्ने भएकोले किम्ति छ, त्यसैले उसले फिर्ता गर्न मानिरहेको छैन,” बच्चालाल भन्छन्, “म भनिरहेको छु, यदि मेरो अझै पैसा तिर्न बाँकी छ भने म तिर्न तयार छु। तर जग्गा फिर्ता गरिदेओस्।”
तस्वीरहरू : किसन पाण्डे
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रितेश त्रिपाठी
