समिट अपार्टमेन्टको वैधानिकता खोज्न सांसद तोसिमा कार्कीको माग

चौधरी समूहको मुख्य लगानी रहेको समिट होटेल तथा अपार्टमेन्ट निर्माणका क्रममा शुक्रबार राति जमिन नै भासिएपछि अपसासका घर भासिएका थिए। 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले निर्माणाधीन समिट अपार्टमेन्टको वैधानिकता खोजी गर्न माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कार्कीले समिटसहित देशव्यापी रूपमा बन्दै गरेका भवन, होटेल, अपार्टमेन्टको वैधानिकता खोज्न माग गरिन्।

ललितपुरको बखुण्डोल हाइटमा चौधरी समूहको मुख्य लगानी रहेको समिट होटेल तथा अपार्टमेन्ट निर्माणका क्रममा गत शुक्रबार राति जमिन नै भासिएपछि अपसासका घर भासिएका थिए।  

१८ रोपनी जग्गामा बन्ने उक्त अपार्टमेन्टको नक्सा पास, ईआईए केही नरहेको उनको दाबी छ। “अहिले पनि घरहरू भासिने र चर्किने क्रम जारी छ,”  सांसद कार्कीले भनिन्, “यसरी नै देशव्‍यापी रूपमा बन्दै गरेका निर्माण हुँदै गरेका भवन, होटेल र अपार्टमेन्ट वैधानिकता खोजी गरियोस्।”

यसका लागि संसदीय समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाउन उनको माग छ।