महाकाली सिँचाइ नहर : परीक्षण भयो पानी आएन

टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ।

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन। सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमिटर मूल नहरमा पानी परीक्षण गरेको थियो। परीक्षणको क्रममा महाकालीको पानीले पहिलो रोपाइँसमेत गरिएको थियो। त्यसयता महाकाली सिँचाइको नहरमा पानी पठाइएको छैन।

आयोजनाअन्तर्गत करिब २८ किलोमिटरसम्म मूल नहर निर्माण भइसकेको छ। उक्त क्षेत्रमा २२ शाखा नहर निर्माणाधीन अवस्थामा छन्। महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए।

“हामीले पानी सञ्चालनका लागि पटक–पटक ताकेता गर्दै आएका छौँ। भारतीय पक्षले दुवै देशको संयुक्त उद्घाटनपछि मात्रै पानी सञ्चालन हुने जानकारी दिँदै आएको छ”, उनले भने। उनले दुवै देशको उच्च तहबाट हुने भनिएको उद्घाटनको टुंगो नलाग्दा नहरमा पानी पठाउन अन्योल भएको बताए।

टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कोरोना संक्रमण बढेपछि उद्घाटन स्थगित भएको थियो।

आयोजना कार्यालयका अनुसार मूल नहरमा पानी सञ्चालनमा आए किसानको खेतसम्म पानी पुर्‍याउन समस्या हुने छैन। महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खा याममा एक हजार क्युसेक र हिउँदमा तीन सय क्युसेक पानी पाउने उल्लेख छ।