“पहिला पनि नेताहरू आएर आश्वासन दिए, तर जितेर गएपछि कहिल्यै फर्किएनन्। अहिले पनि हामी डाँडाको भिरमा बसिरहेका छौँ। राति निदाउन पनि डर लाग्छ,” इच्छाकामना गाउँपालिकाकी नन्दुमाया चेपाङले भनिन्।
चितवन- नन्दुमाया चेपाङ (६४) को घर इच्छाकामना गाउँपालिकास्थित डाँडाबारीमा पर्छ। तर, घर भएको जग्गाको लालपुर्जा उनीसँग छैन। हरेक निर्वाचनमा उनको अपेक्षा आफ्ना नेताले ढुक्कले बास बस्ने व्यवस्था गरिदिउन् भन्ने हुन्छ।
डाँडाबारीमा बिहानी सूर्यका किरण आइपुग्दा नन्दुमाया छिमेकी शान्ता चेपाङ (५४) को घर पुगिसकेकी थिइन्। शान्तासँगको चिया गफमा पनि उनी बासकै चिन्ता गर्दै थिइन्। शान्तामायाको चिन्ता पनि फरक छैन। यो बस्तीका अधिकांश चेपाङ सुकुमबासी हुन्।
“हामीलाई कि त अहिले बसिरहेकै घरको लालपूर्जा दिनुपर्यो कि ऐलानी जग्गामा सार्नुपर्यो वा घर बनाउनलाई पैसा दिनुपर्यो। हाम्रो माग यति हो,” नन्दुमायाले उकालोसँग भनिन्, “पहिला पनि नेताहरू आए, जितेर गएपछि कहिल्यै फर्किएनन्। अहिले पनि हामी डाँडाको भिरमा बसिरहेका छौँ। राति निदाउन पनि डर लाग्छ।”
जग्गा उपलब्ध गराइदिने नेतालाई 'जिन्दगीभर नमस्कार गरिरहने' उनी बताउँछिन्। आफूहरूलाई धेरै जग्गा नचाहिएको बताउँदै उनले भनिन्, "सिस्नु पकाउने ठाँउ भए पनि हामीलाई पुग्छ।"
नन्दुमायाले गत निर्वाचनमा एमालेलाई मत दिएकी थिइन्। यसपटक कसलाई मत दिने भन्ने निर्णय गरिसकेकी छैनन्। “कहिले एमाले, कहिले कांग्रेसलाई भोट हाल्दै आएँ, दुवै पार्टीले हाम्रा लागि केही गरेनन्,” उनी भन्छिन्।
इच्छाकामना गाउँपालिकासहित कालिका नगरपालिका र भरतपुर महानगरका १० वटा वडा चितवन क्षेत्र नं. २ मा पर्छन्। यो निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका मात्र पहाडी भू-भाग हो। गएको मंसिर ४ गतेको निर्वाचनमा यो पालिकाबाट एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले सबैभन्दा धेरै मत पाएका थिए। कुल १० हजार ४६८ मत खस्दा पोखरेलले ३ हजार ६२३, कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २१६ र रास्वपाका रवि लामिछानेले २ हजार ९७८ मत पाएका थिए।
न पिउने पानी न सिँचाइ
‘बिहान गयो कमायो, बेल्का आयो रमायो’को स्थितिमा आफूहरू बाँचिरहेको शान्ता चेपाङ बताउँछिन्। काम नगरेको दिन भोकै बस्नुपर्ने बाध्यता भएको उनको भनाइ छ।
चेपाङ बस्तीमा पानीको समस्या छ। पानीकै लागि प्रतिमहिना ४०० रुपैयाँ तिर्नुपर्छ। पैसा नतिरेको दिनदेखि पानी नै रोकिने गरेको उनको गुनासो छ।
अहिलेसम्म जति उम्मेदवार आएका छन्, कसैले नराम्रो गर्छु भनेको नसुनेको शान्ता बताउँछिन्। “म त पढेको छैन। तर, मेरो छोराले १२ पास गरिसकेको छ। उसको लागि यहाँ कुनै जागिर छैन। त्यति पढेर पनि विदेश नै जानुपर्ने हो भने किन पढ्नु?,” उनी भन्छिन्, “गाउँमा सबै हुनेखानेको छोराहरूले मात्र अवसर पाएका छन्। हामीले त दु:ख मात्र पाएका छौँ।”
सोमबहादुर चेपाङ उर्फ ‘माइला दाइ’ रेशम सिलवालको खेत जोतिरहेका थिए। उनी 'साहु'को खेत जोत्नैका लागि डाँडाबाट तल पृथ्वी राजमार्गछेउ झरिरहन्छन्। माथि खेत भए पनि पानीको सुविधा छैन। त्यसैले बाली पनि हुँदैन।
प्रत्येक निर्वाचनमा नेताहरूले पानीको सुविधा दिने भने पनि अझैसम्म नदिएको सोमबहादुर बताउँछन्। उनी भन्छन्, “यसपटक गाउँलेहरू मत परिवर्तनको पक्षमा छन्। पहिला हालेको चिन्हमा कमैले मात्र छाप लगाउँछन्।”
चुम्लिङटार डाँडामाथि सालघारी गाउँ छ। त्यहाँ पनि पानीको सुविधा छैन। गाउँबाट तल पृथ्वी राजमार्गको दुरी जम्माजम्मी डेढ किलोमिटर जति छ। तर, सडक पुगेको छैन। हिँडेर तल झर्दा अप्ठ्यारो बाटोका कारण झण्डै चार घण्टा लाग्ने स्थानीय रेशम गुरूङ बताउँछन्।
गुरूङ अहिले खेतीकिसानी गर्छन्। छोरालाई पढाउन र खेती गर्न तल पृथ्वी राजमार्ग झरेको बताउँछन्। डाँडामाथि रुप्लाङ गाउँमा उनको डेढ विघा जग्गा छ, तर पानीको सुविधा नभएर बाँझै हुने उनको भनाइ छ। “सिँचाइ सुविधा भएको भए म तल झर्ने आवश्यकता नै थिएन। मजाले तरकारी खेती गरेर बस्न सकिन्थ्यो,” उनी भन्छन्, “पानी नहुँदा बाध्य भएर तल झरेँ।”
आउँदो चुनावबारे सोध्दा उनले लगाएको टिसर्ट देखाए। टिसर्टमा माओवादीको चुनाव चिह्न थियो। तर यसपटक कसलाई मत दिने भन्ने निर्क्योल नगरेको उनी बताउँछन्।
एउटै गुनासो– नेताले वाचा गर्छन्, बिर्सिन्छन्
दुई महिनाअगाडि कान्छी श्रीमती गुमाएका ताराबहादुर सुनार (५९) इच्छाकामनाको नयाँ बस्तीस्थित आफ्नै घरमा आरन चलाउँदै थिए। घर बनाउन बालुवा, सिमेन्ट र रड ठिक्क पारेर राखे पनि घर बनाउने उनको सपना अधुरै रह्यो। “कान्छी बिरामी परिहाली। सारा पैसा उसैको उपचारमा लगाएँ। जम्मा ७ लाख लाग्यो, तर न कान्छी फिर्ता आइन् न पैसा,” सुनार भन्छन्, “घर धान्न अहिले पुरानै पेसामा फेर्केको छु।”
ताराबहादुरले आरन छाडेर ठेक्कापट्टा गर्न थालेका थिए। तर, पैसा सबै सकिएपछि पुर्ख्यौली पेसामा फर्किन बाध्य भएको उनी सुनाउँछन्।
उनले यसअघि एमालेलाई मत दिँदै आएका थिए। तर, यसपटक मन मरेको बताउँछन्। “मेरी बुढी बिरामी हुँदा एमालेका नेताहरूसँग १५ हजार सहयोग माग्न गएँ। उनीहरूले नचिनेजस्तो व्यवहार गरे। त्यति पैसाले सायद बुढी बाँच्थी होलिन्,” उनी भन्छन्।
नेताहरूले वाचा पनि पूरा नगरेको उनी बताउँछन्। “नेताहरूले अन्य जातलाई ७० वर्ष र दलितलाई ५८ वर्ष पुगेपछि वृद्धभता दिने भनेका थिए। खोइ त दिएको?,” उनी भन्छन्, “अहिले भत्ता आएको भए मलाई खान त पुग्थ्यो।”
प्रेम चेपाङ (२६) निर्मानाधीन घरको झ्यालढोका नआइपुगेपछि निराश थिए। उनी पूर्वाधार निर्माणमा ज्याला मजदुरी गर्छन्। नकेपा माओवादी केन्द्रका समर्थक हुन्। जतिपटक मत दिए पनि आफूहरूको दैनिकीमा भने परिवर्तन नभएको उनले गुनासो गरे।
छुट्टी मनाउन फर्केका एक सशस्त्र प्रहरी पनि गाउँमा भेटिए। आफ्नो गाउँमा बिस्तारै चेतनाको विकास हुन थालेको भन्दै उनले खुशी व्यक्त गरे। “नेताहरूले सोझासाझा जनतालाई धेरै झुक्याए। तर अब गाँउलेहरू पनि बिस्तारै बुझ्दै छन्। म खुशी छु,” उनी भन्छन्, “नयाँ पार्टी र नेताहरूका कारण चुनावी माहोल फरक देखिन थालेको छ। पुराना पार्टीको वर्चश्व पहिले नै तोडिएको हो। अब जनताका काम गर्नेले मत पाउँछन्।"
दलप्रति बफादार एकबहादुर र मिलन
इच्छाकामनामा पर्ने चुम्लिङटार डाँडामा चार घर गुरूङ छन्। चारै परिवार कांग्रेसका परम्परागत मतदाता हुन्। मिलन गुरुङका बाबु पल्लो डाँडाको विद्यालयमा शिक्षक छन्। यसपटक पनि उनको परिवारका हरेक सदस्य रुखमै मत दिने विचारमा छन्। “हामी त पहिलैदेखि रुखलाई भोट दिँदै आएका हौँ। अब अन्यत्र हाल्न मन लाग्दैन,” मिलन भन्छन्।
घाँसको भारी बोकेर एकबहादुर गुरूङ चुम्लिङटारको डाँडाबाट तल झर्दै थिए। उनी तल्लो डाँडामा बस्छन्। गाउँलेले आफूलाई ‘कालो कांग्रेस’ भन्ने गरेको उनी आफैँ बताउँछन्। “जो-जो आए पनि हाम्रो मत कांग्रेसबाहेक दाँयाबाँया हुँदैन। म जितहार भन्दा पनि बफादारीमा विश्वास गर्छु,” उनी भन्छन्।
सशस्त्र युद्धका बेला एकबहादुरलाई प्रहरीले माओवादी भएको आरोपमा थुनेको थियो। आफू कांग्रेसको पहलमा छुटेको कारण त्यस दिनदेखि त्यही पार्टीमा लागेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
आदित्य नेपाल
