नेप्से दोहोरो अंकले घट्यो, कारोबार ९२ करोडमा सीमित

मंगलबारको कारोबारमा कूल ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर ९२ करोड ७८ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ।

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३.६३ अंकले ओरालो लागेर १९०८.०५ मा सीमित भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अंकले ओरालो लागेर ३६२.९६ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहको सेयर मूल्यमा नै गिरावट आएको छ।

मंगलबारको कारोबारमा कूल ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर ९२ करोड ७८ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ। कारोबार भएकामध्ये २३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १८८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ। सो कम्पनीको सात करोड दुई लाख ४३ हजार ६४२ बराबरको कारोबार भयो। यस्तै शिवम् सिमेन्ट चार करोड ३३ लाख ३६ हजार ५००, एनआईसी एशिया बैंक तीन करोड ११ लाख ५६ हजार ७४३, माछापुच्छ्रे बैंक दुई करोड ६७ लाख ६ हजार ७४० र हिमालयन डिस्टिलरी दुई करोड ६३ लाख सात हजार ७४४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार घटेको बजारमा आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, कालिन्चोक दर्शन ९.९८, मैलुङ हाइड्रोपावर कम्पनी ९.९६, सिभिल बैंकको ऋणपत्र ६.१० र सामलिङ पावरको सेयर मूल्य ४.९९ प्रतिशतले बढेको छ।

सनराइज ब्ल्यूचिप फन्ड ६.२५, एनआईसी एशिया ग्रोथ फन्ड ५.१४, उन्नति सहकार्य लघुवित्त ४.३४, उपकार लघुवित्त ४.२१ र कालिका लघुवित्तको सेयर मूल्य ४.१० प्रतिशतले घटेको छ।