बारा-२ को चुनावी माहोल नेताहरूले तताइरहेका छन्। तर, स्थानीय मतदाता दलहरूप्रति सन्तुष्ट छैनन्। चुनावमा गाउँ पस्ने नेताले विकास ल्याउन नसकेको र युवालाई खाडी जान बाध्य पारेको उनीहरूको गुनासो छ।
बारा- कलैयाबाट देवताल गाउँपालिकाको दूरी करिब ६ किलोमिटर छ। सोही सडकखण्डको छेउमा टहरा बनाएर पसल थापेका निजामुद्दिन मियाँ (८७) बाँसको बेञ्चमा ढल्किरहेका थिए। सरकारले उपलब्ध गराएको मलखाद पर्याप्त नभएको र किन्ने पैसा नभएपछि गुजारा चलाउन टहरामा पसल थापेको उनी बताउँछन्।
मुस्लिम समुदायको रमजान चलिरहेको हुनाले उनी रोजा (उपवास) बसेका थिए। वैशाख १० गते हुने उपनिर्वाचनलाई लिएर उनी कत्ति पनि उत्साहित देखिएनन्।
“राजनीति यति फोहोर भइसक्यो कि मलाई चासो राख्नै मन लाग्दैन। चुनावमा झुल्किने नेताहरू जितेर गएपछि कहिल्यै हालखबर सोध्न आउँदैनन्,” उनले भने, “भोट माग्न आउनेलाई ‘हुन्छ’ भन्दै आएको छु। तर चुनावको दिन भित्रबाट जसलाई मत दिन मन लाग्छ त्यसैलाई दिन्छु।”
आफ्नो परिवारमा मात्र ५२ भोट भएको उनले बताए। सबैले सल्लाह गरेर एकै चिन्हमा मत हाल्ने उनले छनक दिए।
देवतालकै रामपूर्वा गाउँ पुग्दा जितेन्द्र महतो गतिलो सडक नभएको गुनासो गर्दै थिए। “पानी नपरेसम्म त ठिकै छ, तर पानी पर्ने मौसममा घरबाट निस्कन मुस्किल पर्छ। छातीसम्म पानी हुन्छ,” उनले भने, “कुनै नेताले यो विषयलाई गम्भीरतापूवर्क लिएका छैनन्। आउँछन्, भोट बटुल्छन्, जित्छन् र फर्किन्छन्। हाम्रो अवस्था जस्ताको त्यस्तै।”
जितेन्द्रसँग दुईवटा भैँसी र आधा दर्जन बाख्रा छन्। खेती किसानी पनि गर्छन्। तर, सिँचाइको राम्रो व्यवस्था नभएपछि खेती गर्न नसकेको उनको गुनासो छ। “हुनेखानेले सोलार लगाएर पनि पानी खेतसम्म पुर्याउँछन्। हामी गरिब मान्छे कहाँबाट मोटर र सोलार किन्ने?” उनी भन्छन्, “यसपटक हामी अडिएर भए पनि नयाँलाई मत दिने निर्णय गरेका छौँ। पुरानालाई कति हेर्यौं, एकचोटी नयाँलाई अवसर दिन मन छ।”
महागढीमाई नगरपालिकाको भुतही पुलमा राजेश्वर सहनीको पान पसल छ। बाहिर चर्को घाम छ, भित्र उनी कैँचीले पानको पातको टुप्पा र फेद छाँटिरहेका थिए। यो निर्वाचन जित्ने उम्मेदवारसँग उनले ठूलो अपेक्षा राखेका छैनन्। यो क्षेत्रले अभिभावक पाएको महसुस भए पुग्ने उनको भनाइ छ।
“हामीले जिताएको उम्मेदवारले हाम्रो हेरचाह गरिदिनु पर्यो। परेको बेला हाम्रो घाउमा मल्हमपट्टी लगाइदिनुपर्यो, यति हो हामीले चाहेको,” उनी भन्छन्, “तर जिताएका उम्मेदवारहरू कहिल्यै हाम्रा घरआँगन आएनन्, यसपटक त्यस्तो हुँदैन। हामी विवेकसंगत ढंगबाट मतदान गर्नेछौँ।”
न अस्पतालमा डाक्टर, न त विद्यालयमा शिक्षक
पचरौता नगरपालिकामा पर्ने कुरुवा गाउँका हरिन्द्र साह बुधबार दिउँसो खाना खाएर छिमेकीको किराना पसल आएका थिए। पसलमा जम्मा भएका ४-५ जना छिमेकी गाउँको विकास र आउँदो निर्वाचनमा उठेका उम्मेदवारहरूको योग्यताबारे छलफल गर्दै थिए।
साहले गाउँमा अस्पताल भए पनि डाक्टर नबस्ने बताए। अस्पतालमा औषधी पनि छैन। गाउँमा कक्षा १० सम्म पढाइ हुने विद्यालय छ। तर, शिक्षक भने पाँच जना छन्।
“शिक्षक पनि उद्दण्ड छन्। विद्यालय गएका विद्यार्थीलाई 'पढ्नु छ भने पढ्, नभए विदेश जा' भन्ने गर्छन्," साहले उकालोसँग भने, “हाम्रो गाउँ कहिले शिक्षित हुने होला?”
गाउँको विकास हुन शिक्षाको स्तरोन्नति हुनुपर्ने हरिन्द्र बताउँछन्। “मान्छेहरू गाउँलाई हल्का लिन्छन्। के गाउँमा विकास चाहिँदैन? यहाँ मान्छे बस्दैनन्? यहाँ सडक, नाला र विद्यालय चाहिँदैन?,” उनले भने, “अब बहानाबाजी चल्दैन, न धोकाधडी चल्छ। यसपटक नयाँलाई अवसर दिने हो, सिधा बात।”
देवतालस्थित रामपूर्वाका जितेन्द्र भने गाउँको अस्पतालका डाक्टर मोबाइलमा तास खेलेर बस्ने र बिरामी जाँदा उपचार नहुने भन्दै फर्काउने गरेको बताउँछन्। “हिजो (मंगलबार) मेरो पेट खराब थियो। म जीवनजल लिन अस्पताल पुगेको थिएँ। तर त्यहाँ जीवनजल थिएन,” उनी भन्छन्, “भएको र हुनसक्ने कुरा पनि नपाउँदा र राम्रो नहुँदा आफूलाई अभागी महसुस गर्छु। अस्पताल भएर पनि नभएको महसुस हुन्छ।”
दलित बस्तीमा निराशा
गढिमाई मन्दिर जाने बाटोमा दलित बस्ती छ। त्यहाँका मान्छे पोखरीको डिलमा थुप्रिएको हिलो ट्रयाक्टरमा ओसार्दै थिए। भाँडाकुडा बनाउन माटो लगेको उनीहरूले बताए।
चुनावप्रति धेरै मतलब नभएको त्यहाँका स्थानीय सुभास रामले बताए। आफूहरूले उचित रोजगारी नपाएको र समाजमा कदर पनि नभएको उनको गुनासो थियो।
“गरिबलाई कसले हेर्छ? चुनावको बेला न हो हामीसँग भोट माग्न आउने! बाँकी समय त हामी मरौँ कि बाचौँ कसैलाई मतलब हुँदैन,” उनी भन्छन्, “ यहाँका स्थानीय नेताहरू दिनकै आउँछन् र पैसा कति चाहियो सोध्छन्। हामी यसपटक दायाँबायाँ गर्ने मनस्थितिमा छैनौँ। मनले जसलाई भन्छ उसैलाई मत दिने सारा परिवारले संकल्प गरेका छौँ।”
पचरौता नगरपालिकाको कुरुवा गाउँस्थित एक घरमा उपेन्द्र यादवको फोटो भएको ब्यानर झुन्डिरहेको थियो। त्यो घर ब्रहमदेव पासवानको हो। स्थानीयका अनुसार गाउँमा उनी मात्र जनता समाजवादी पार्टी (जसपा) अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवको पक्षमा खुलेर लागेका छन्।
ब्रहमदेवको पनि आर्थिक अवस्था कमजोर छ। उनले हरेक दिन काम गर्दा मात्र छाक टार्न सक्छन्। तर पछिल्लो एक सातादेखि उनी उपेन्द्रसँगै चुनावी अभियानमा छन्।
उनको घर पुग्दा श्रीमती प्रमिलाले ब्रहमदेव चुनावमा गएको बताइन्। केहीबेरमा छिमेकी रितादेवी पासवान आइपुगिन्। उनी मिटरब्याज पीडित हुन्। लकडाउनताका उनले साहुसँग पटकपटक गरि ३ लाख रुपैयाँ लिएकी थिइन्। हाल उनले लिएको पैसाको ब्याज तीन गुणाले बढेको छ। ऋण तिर्ने सामर्थ्य उनको छैन।
“साहुले दिनरात मानसिक तनाब दिइरहन्छन्। म तीन हप्ताअघि काठमाडौँ पनि पुगेको थिएँ। तर मेरा छोराछोरीहरू यहाँ भोकै हुन थालेपछि आठ दिनमै फिर्ता आएँ,” उनी भन्छिन्, “साहुको जे जति पैसा हुन्छ म तिर्न तयार छु। तर जति उनको माग छ, त्यति तिर्ने हैसियत छैन मेरो।”
युवा जति खाडीमा
महागढीमाई र पचरौता नगरपालिकाको सिमानामा केही युवाहरू धान रोप्दै थिए। लगभग एक दर्जन गाउँ घुम्दा युवा धेरै कम भेटिए।
धान रोप्ने सिजन नआए पनि खान नपाइने चिन्ताले अगाडि नै रोपाइँ गरेको राजकुमार यादवले बताए। “घरमा चामल सकिसक्यो। धान रोपिएन भने खानलाई समस्या हुन्छ, त्यसैले बाध्यता छ। पानी नभए पनि भाडामा मोटर मागेको छु,” उनी भन्छन्, “भिसा कुरिरहेको छु। घरबाट विदेश जान दबाब छ। अब जान्छु होला।”

उनले पनि नेताहरूप्रति निराशा पोखे। जतिपटक मत दिए पनि गाउँ नफेरिएको उनले बताए।
श्रीमतीलाई साइकलको पछाडी बसाएर गणेश पण्डित तेलगाहीबाट सिसवा जाँदै थिए। सिसवा उनको ससुराली हो। तेलगाही महागढीमाई नगरपालिकामा पर्छ। साइकललाई शितलमा अड्याएर उनी एकैछिन गफिए।
गाउँमा युवा नभएर विकास रोकिएको गणेशले बताए। “युवाहरू भएको भए केही हुन्थ्यो होला। कम से कम भोट दिएका नेताहरूलाई प्रश्न गर्थे," उनी भन्छन्, “अहिले कि त बच्चा कि त हामी जस्ता बुढ्यौली लागेका मात्र छौँ।”
मध्याह्न १२ बजेको घाममा ७४ वर्षिय जोगिन्दर राउत खाली खुट्टा साइकलमा चामलको बोरा ओसार्दै थिए। नेताहरूले गाउँमा आधारभूत आवश्यकता पनि परिपूर्ति गर्न नसकेकोमा उनले दु:खेसो पोखे। “चुनाव त बेलाबेला आइरहन्छ, तर विकास किन आउँदैन? अब अझै कति वर्ष कुर्नुपर्ने हो विकास देख्न?,” उनले भने, “यो जुनीमा विकास हेर्ने आश अब मरिसक्यो।”
को-को छन् उम्मेदवार?
मंसिर ४ को निर्वाचनमा बारा-२ बाट जसपाका रामसहाय यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति निर्वाचित भएपछि यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुनलागेको हो।
वैशाख १० मा हुने आमनिर्वाचनमा जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ। उनलाई सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ।
त्यसैगरी, नेकपा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ। मंसिर ४ को निर्वाचनमा भने एमालेले जसपा उम्मेदवारलाई सघाएको थियो।
यो क्षेत्रमा प्रभावशाली मानिएको जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ। उनी मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार थिए। चुनावको मुखैमा जनमत पार्टी प्रवेश गरेर उनी उम्मेदवार भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वप्रहरी नायब महानिरीक्षक रमेश खरेललाई उम्मेदवार बनाएको छ। अघिल्लो चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर साढे ७ हजारभन्दा बढी मत ल्याएका अरुणकुमार ज्ञवाली यसपटक प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
आदित्य नेपाल
