वृत्तचित्रमा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पाको जीवनी र आरोहणको संघर्ष देखाइएको छ। तत्कालीन समयका दृश्यले वृत्तचित्रलाई सशक्त बनाएको छ।
काठमाडौँ– हिमाल आरोहण चुनौतीको काम हो। आरोहणमा पाइला–पाइलामा मृत्यु पनि सँगै हुन्छ। छिन–छिनमा परिवर्तन भइरहने मौसम। अनि त्यसले निम्ताउने जोखिम। कतिबेला के हुन्छ यकिन नै हुन्न। हिमपहिरो, ढुंगा खसेर लाग्ने र हिउँमा चिप्लिने घटना हिमाल आरोहीले भोग्ने अवरोध हुन्।त्यसबाहेक उचाइमा अक्सिजनको कमी र आरोहीले साथमा लिएर गएको कृत्रिम अक्सिजनको सीमितता अर्को चुनौती हो।
यद्यपि, चुनौतीका बाबजुद जोखिम मोलेर सगरमाथा आरोहणका लागि हरेक वर्ष संसारका विभिन्न ठाउँबाट आरोहीहरू नेपाल आइपुग्छन्। तीमध्ये कतिपय महिला हुन्छन्। हिमाल आरोहणको लामो इतिहासमा नेपाली पहिलो महिला आरोहीले कस्तो अवरोध झेलेर सगरमाथा आरोहण गरिन् होला?
सगरमाथाको शिखरमा पुग्ने नेपाली पहिलो महिला पासाङल्हामु शेर्पाले तत्कालीन समयमा भोगेको संघर्ष र चुनौतीका कथा समेटिएको वृत्तचित्र ‘पासाङ इन द स्याडो अफ एभरेस्ट’ सार्वजनिक भएको छ।
वृत्तचित्रमा पासाङल्हामुको बाल्यकाल, प्रेम र वैवाहिक सम्बन्ध, घरपारिवारिक सम्बन्धमा देखिएको उतारचढाव, विदेश यात्रा, सामाजिक बन्धन र चुनौतीलगायतका उनको संघर्षमय कथा देखाइएको छ।
न्यान्सी स्वेन्डसेनले निर्देशन गरेको ७० मिनेट लामो वृत्तचित्रको सबैभन्दा बलियो पक्ष पासाङल्हामुले हिमाल आरोहणका क्रममा लिएका तालिमदेखि हिमाल आरोहणका लागि सगरमाथा प्रस्थान गर्दाका दृश्य हुन्। जसले वृत्तचित्र आकर्षक बनेको छ।
त्यसबाहेक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको भेटघाट, काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली महिला आरोहण दलको नेतृत्व गरेको प्रस्तुतिले उनमा रहेको आत्मविश्वासलाई अनुभव गर्न सकिन्छ।
तीन पटकसम्म सगरमाथा आरोहणको प्रयास असफल हुँदा पनि उनको साहस र इच्छाशक्तिमा कमी देखिन्न। कतिसम्म भने हिउँले हात, अनुहार खाँदा र मौसममा आएको प्रतिकूलतामा समेत जसरी पनि सगरमाथा आरोहण गर्ने हुटहुटी उनमा देखिन्छ।
पासाङल्हामु चौथो पटकको प्रयासलाई खेर जान नदिने पक्षमा दृढ देखिन्छन्। गाइडले प्रतिकूल मौसमका कारण आरोहण स्थगित गरौँ भनेर दिएको सुझावलाई पनि अस्वीकार गर्दै जसरी पनि आरोहण गर्ने जिद्दी पासाङल्हामुले गरेको वृत्तचित्रमा देखाइएको छ।
जिद्दी र हठले उनलाई सगरमाथा आरोहण गरेर इतिहास बनाउन मद्दत गर्यो। सायद, यही नै उनको मृत्युको कारण बन्यो। उनले २०५० वैशाख १० गते सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी थिइन्। चुचुरोबाट फर्कने क्रममा उनको मृत्यु भयो।
वृत्तचित्रको अर्को पक्षचाहिँ हिमालमा चासो राख्ने जो कोहीलाई पनि त्यहाँको जनजीवन, आरोहणको दुःख र कठिन अवस्थालाई उतारिएको छ। ७२ मिनेट लामो वृत्तचित्र हेर्दा समय बितेको पत्तै पाइन्न।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
