दुवै ओपनर शून्य रनमै आउट, नेपालले २८ बलमा खाता खोल्यो

नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। अर्का ओपनर आशिफ शेख चौथो ओभरको चौथो बलमा आउट भए।

काठमाडौँ– एसीसी प्रिमियर लिगअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानविरुद्ध खराब ब्याटिङ गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकशूदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए।

पहिले ब्याटिङमा उत्रिएको नेपालले दुवै ओपनर गुमाइसकेको छ। नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। उनी ८ बल खेलेर बिलाल खानको बलमा बोल्ड भए।

अर्का ओपनर आशिफ शेख चौथो ओभरको चौथो बलमा आउट भए। उनलाई कलिमुल्लाहले बोल्ड गरेका थिए। नेपालले २७ बल डट खेलेपछि पहिलो रन जोडेको थियो। पाँचौ ओभरको चौथो बलमा भीम सार्कीलाई एक रन दिएका थिए।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले ओमानविरुद्धको खेलमा एक परिवर्तन गरेका छन्। मलेसियाविरुद्ध खेलेका तीव्र गतिका बलर गुलशन झाको स्थानमा उनले करण केसीलाई मौका दिएका छन्। अन्यलाई भने यथावत् राखेका छन्।

समूह ए''मा आयोजक नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन्। यो समूहमा नेपाल, मलेसिया र ओमानको समान २/२ अंक छ।

तर, नेटरननेटको आधारमा नेपाल शीर्ष स्थानमा छ। २ खेल खेलेको मलेसिया दोस्रो र १ खेल खेलेको ओमान तेस्रो स्थानमा रहेको छ।

यस समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।