पछिल्लो जनगणनाअनुसार मुगुका झन्डै नौ हजारमध्ये पाँच हजार परिवार दियालोको भरमा छन्। सदरमुकाम आसपासका गाउँका बासिन्दा मोबाइल चार्ज गर्नसमेत गमगढी बजार पुग्छन्।
मुगु- छायाँनाथ रारा नगरपालिका–१२ शोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ। गाउँमा बिजुली नपुग्दा अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुपरेको छ।
उनका छिमेकी कुम्मलाल बुढाको परिवारको व्यथा पनि उस्तै छ। “मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला,” उनले भने, “बत्ती नहुँदा गाउँ सम्साँझै सुनसान हुन्छ, अहिले त बत्तीकै आशामा दिन बित्न थाल्यो।”
गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न आधा घण्टा हिँडेर गमगढी बजार जान बाध्य हुनु परेको कुम्मलालले बताए। गाउँबाट पारि हेर्दा गमगढी बजार बत्तीले झिलीमिली भए पनि आफूहरू अँध्यारोमा बस्दा ठूलो पीडा हुने उनको गुनासो छ। “बच्चैदेखि दियालो बाल्दा दम र आँखाको रोगको सिकार हुनुपरेको छ,” उनले भने, “बाजेको पालादेखि दियालोकै भरमा छौँ, यस्तै अवस्था रहे हाम्रा छोराहरूले पनि बत्ती बाल्न पाउँदैनन् होला।”
दियालोको धुवाँका कारण उनी झन्डै दुई दशकदेखि दमका बिरामी छन्। मोतीविन्दुको समस्या पनि देखिएको छ। शोभागाउँका १६५ परिवार ‘बत्तीमुनिको अँध्यारो’मा बस्न बाध्य भएको उनले बताए।
पछिल्लो जनगणनाअनुसार जिल्लाभरि झन्डै नौ हजार घरधुरी छन्। यसमध्ये करिब पाँच हजार परिवार दियालोको भरमा रहेको जनगणनाको तथ्यांकले देखाएको छ। अहिलेसम्म सदरमुकाम आसपासका झन्डै चार हजार परिवारले मात्र विद्युत् र वैकल्पिक ऊर्जा प्रयोग गर्न पाएको उल्लेख छ।
सदरमुकामस्थित छायानाथरारा नगरपालिकाका दुई हजार ५४६ घुरधुरीमध्ये एक हजार ६०० घरधुरीमा गमगाढ जलविद्युत् आयोजनाको बिजुली पुगेको छ। अझै करिब एक हजार घरधुरी विद्युतको पहुँच बाहिर छन्। ४०० किलोवाटको यो आयोजनाले अझै पनि शोभा, रोवा, तल्लेख, घट्टलेख, सालिम, रयाङच्याकाटी, लुम्स, बालचौर, कम्फा, बाम र मुर्मा गाउँमा बिजुली पुर्याउन सकेको छैन।
सरकारले मुगुमा अझै पनि राष्ट्रिय प्रसारण लाइन पुर्याएको छैन। खत्याड गाउँपालिकामा भने कुनै पनि वडा र बस्तीमा विद्युतको पहुँच छैन। तीन हजार ६५१ घरधुरी अझै पनि टुकी र दियालोकै भरमा छन्।
गत असोज १९ देखि २३ गतेसम्मको भीषण बाढीपहिरोले गाउँपालिकाका १५ साना र लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि पूरै जनसंख्या बत्तीविहीन हुन पुगेको गाउँपालिका उपाध्यक्ष सरिता रोकायाले बताइन्। उनका अनुसार बाढीपहिरोले सेरी, तोलीखो, खर्क, केराइ चिमढुग्री, पइखु, चामिरखर्क, पन्सेरी राष्कोटीबाडालगायत १५ वटा साना र लघु जलविद्युत् योजना तहसनहस पारिदिएको छ।
“ती योजना बनाउन कम्तीमा १० करोड बजेट आवश्यक छ,” उनले भने, “पालिका एक्लैले त्यत्रो रकम खर्च गर्न सक्दैन, प्रदेश र संघीय सरकारले बेवास्ता गरिरहेका छन्।”
उनका अनुसार बत्ती नहुँदा स्थानीयको आयआर्जनको बाटो बन्द भएको छ। बालबालिका गृहकार्य गर्नबाट समेत वञ्चित छन्।
खत्याड गाउँपालिकामा पनि विद्युत्को पहुँच शून्य छ। कृषि र फलफूल उत्पादनमा सबैभन्दा अब्बल मानिएको पालिकामा बत्तीको अभावले साना उद्योग–व्यवसाय सञ्चालन गर्न नसकिएको स्थानीय व्यापारी लोकराज दाहाल बताउँछन्। विद्युत् भए गाउँमै ब्लक निर्माण, सिलाइ उद्योग, पाउरोटी, काट चिरान, क्रसरलगायतका उद्योग सञ्चालन गर्न सकिन्थ्यो। विद्युत्को समस्याले कम्प्युटर शिक्षासमेत ओझेलमा परेको स्थानीय शिक्षक कमल शर्माले बताए। पालिकाका विद्यार्थीले अहिलेसम्म कम्प्युटर विषय पढ्न पाएका छैनन्।
झन्डै एक हजार २०० घरधुरी रहेको कार्मारोङ गाउँपालिकामा बसोबास गर्ने ४३१ परिवार अझै परम्परागत ऊर्जाकै भरमा छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोटमा ६० किलोवाटको सोलार जडान गरिएको भए पनि स्थानीयले अझै बिजुली देख्न नपाएको स्थानीय कर्णजङ्ग शाहीले बताए।
नेरखोला जलविद्युत् आयोजनालाई विस्तार गरी सबैको घरमा बत्ती पुर्याउने लक्ष्य राखिएको भए पनि बजेट अभावमा योजनालाई गति दिन नसकिएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए। दियालोको धुवाँले गर्दा झन्डै ७५ प्रतिशत ज्येष्ठ नागरिक दम रोगबाट पीडित भएको पालिकाको तथ्यांक छ।
गमगाढ साना जलविद्युत् आयोजना पटकपटक अवरुद्ध हुन थालेपछि संघीय सरकारले दुई वर्षअघि गमगढीमा ४०० किलोवाटको सोलार प्लान्ट जडान गर्ने योजना ल्याए पनि बजेट अभावमा अझै काम अघि बढ्न सकेको छैन। प्लान्ट जडानका लागि चैतभित्र ठेक्का खोल्ने तयारी गरिएको गमगाढ साना जलविद्युत् आयोजनाका वितरण प्रमुख साजनबहादुर ऐडीले बताए।
मुगुमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीलगायत सांसदले दबाब दिएपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असारभित्र गमगढीमा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्। घिसिङ गत असोजमा मुगु र हुम्लामा विद्युत् सम्भाव्यताबारे अध्ययन गर्न मुगु पुगेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
