ढोरपाटनमा ५ पाँच वर्षयता बँदेलको सिकार शून्य, प्रक्रिया सहज बनाउन माग

ढोरपाटनमा पहिले नाउर र झारलको सिकार गर्दा बोनसका रूपमा बँदेलको सिकार गर्न दिइन्थ्यो। २०७८/७९ देखि छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।

बलेवा– ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्‍याउँदा हैरान छन्।

बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन बालबालिका र वृद्धवृद्धासमेत बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ। ढोरपाटनवासीको मुख्य खेती आलु भए पनि बँदेलले क्षति पुर्‍याउने गरेको स्थानीय गंगा भण्डारीले बताइन्।

सिकार आरक्षमा बँदेलको संख्या बढ्दो छ। अनुमति लिएर बँदेलको सिकार गर्न पाइन्छ। तर, पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुन नसकेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए। “आरक्षमा बँदेल सिकारीको रोजाइमा बँदेल परेन। नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा २०७३÷७४ पछि बँदेलको सिकार भएको छैन,” उनले भने।

ढोरपाटनमा हरेक वर्ष असोज–कात्तिक र फागुन–वैशाखमा नाउर, झारल र बँदेल सिकारका लागि बोलपत्र आह्वान गरेर अनुमति दिइन्छ। हरेक वर्ष नाउर र झारलको सिकार भइरहे पनि बँदेलको सिकार शून्य छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्ष दोस्रो सिजनमा १२ नाउर, नौ झारल र ११ बँदेलको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि बँदेलको सिकारका लागि सिकारीले इच्छा नदेखाएको कँडेलले बताए।

यस वर्षको अघिल्लो याम (असोज–कात्तिक)मा बोलपत्र स्वीकृत भए पनि दुई नेपाली सिकार गर्न नआएको बताउनुभयो। “अघिल्लो याम बोलपत्र स्वीकृत भए पनि बँदेल सिकारका लागि सिकारी आएनन्,” कँडेलले भने, “यस वर्ष बोलपत्र स्वीकृत नभएकाले सिकारी नआउने निश्चित छ।” बँदेल सिकार रातिको समय उत्तम रहेकाले पनि सिकारीले इच्छा नदेखाएको हुनसक्ने कँडेलले बताए।

ढोरपाटनमा पहिले नाउर र झारलको सिकार गर्दा बोनसका रूपमा बँदेलको सिकार गर्न दिइन्थ्यो। २०७८/७९ देखि रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। हिमालयन आउट फिटर्सका सञ्चालक अतुल खड्काका अनुसार बँदेलको सिकारका लागि पनि बोलपत्रमार्फत स्वीकृत हुनुपर्ने भएकाले सिकारीले इच्छा नदेखाएका हुन्।

नेपालीका लागि सिकार गर्न विभागले सहज वातावरण बनाइदिनुपर्ने उनको माग छ। “प्रक्रिया नबुझेर पनि नेपाली सिकारी नआउने गरेका हुन्। त्यसका लागि विभागले जानकारी दिनुपर्छ,” खड्काले भने।